स्वस्थ्य विभागले हामीलाई पुनः एकपटक निराश बनाएको छ : एसपीवाईएफ

नरबहादुर घिमिरे, नाम्ची, 11 सेप्टेम्बर।


सिक्किम प्रोग्रेसिभ युथ फोरमका सदस्यहरूले सोमबार गेजिङ जिल्ला अस्पतालको भ्रमण गरेका छन्। उनीहरूले गत महीना चार अगस्तको दिन स्वास्थ्य मन्त्रीबाट पाएको लिखित आश्वासनअनुसार सम्पूर्ण कार्य नभएको र सुविधाहरू उपलब्ध नगराइएको कुरा अस्पताल भ्रमणपछि बताएका छन्।

फोरमले बताएअनुसार केही बिशेषज्ञ डाक्टरहरू र सहयोगी कर्मचारीहरू अस्पतालमा नियुक्ति गरिएको छ।

अल्ट्रासाउन्ड मेसिन पनि लगाइएको छ तर त्यो गर्भवती महिलाहरूको निम्ति मात्रै सीमित राखिएको छ। “हाम्रो माग पूर्ण रूपमा पूरा भएको छैन। मन्त्रीले लिखित रूपमा दिएको आश्वासनअनुसार आईपीएचएस-मा आधारित 90 प्रतिशत सुविधाहरू एक महीनाभित्र उपलब्ध गराउने कुरा पूरा भएको छैन। गरिबवर्गले अल्ट्रासाउन्डको निम्ति अझै गान्तोक धाउनु पर्दैछ। स्वस्थ्य विभागले हामीलाई पुनः एकपटक निराश बनाएको छ।” फोरमले बतायो।

“निःशुल्क दबाइ हाम्रो मुख्य माग थियो। सिएमओ-ले बताए अनुसार अस्पतालमा निःशुल्क दबाइ उपलब्ध गराएको छ। तर हामीले बिरामीहरूसँग बातचित गर्दा उनीहरूले दबाइ पैसा तिरेर किन्न परेको कुरा बताउदै हामीलाई बिल समेत देखाए। केही डाक्टरहरूले आफ्नै गोजीको पैसाले दबाइ किनेर बिरामीलाई दिएको पनि हामीले देख्यौं । तर अस्पतालमा निःशुल्क दबाइ उपलब्ध थिएन।” फोरमले बताएको छ।

यसरी नै सिक्किम प्रोग्रेसिभ युथ फोरमले फेरि पनि जनतासँग आफ्नो अधिकार खोज्दै निस्कने कुरा राखेको छ। उनीहरूले बताए – एउटा लिखित आश्वासन पाउनको निम्ति हामीले यस्तो सङ्घर्ष गर्‍यौं। जनताले हामीलाई साथ दिए। तर अब हामीलाई नेताहरूबाट भरोसा हराइसकेको छ। हामी फेरि हाम्रो सङ्घर्ष जारी राख्ने छौं।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares