15 सितम्बर फिनाले : शिलाबहादुर मोक्तान, थुप्देन भोटिया र रेमन्ती राई निर्णायक

गान्तोक, 13 सितम्बर।


सत्तारूढ सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) पार्टीको साँस्कृतिक प्रकोष्ठ अधिनस्थ सिक्किम साँस्कृतिक मञ्चले आयोजन गरेको हिमाली प्रतिभाको खोज-2 को निम्ति फिनालेमा चयन भएका 10 जना कलाकारहरूले कडा परिश्रमको साथमा नृत्य र गायनको अन्तिम चरणको प्रशिक्षण लिइरहेका छन्।

राज्यव्यापी चयन प्रक्रियामा लगभग 8-8 सय गायक र नृत्यङ्गनाहरूबीच प्रतिस्पर्धा गर्दै लगभग तीन महिने प्रतियोगिता साधनाबाट फिनालेको निम्ति अहिले नृत्य र गायनमा पाँच-पाँचजना कलाकार छानिएका छन्।

राज्यको चारै जिल्लामा गत 23 जुनदेखि गायन र नृत्यमा प्रतियोगिताको निम्ति अडिसन आयोजन गरेर थालिएको प्रतियोगिताको निम्ति लगभग 16 सय कलाकारहरूले आफ्नो कलालाई जोख्ने अवसर पाएको एसडीएफ पार्टीका सांस्कृतिक प्रकोष्ठ उपाध्यक्ष चन्द्र खालिङले बताए।

उनले भने, ‘यो कार्यक्रम सिक्किमको गाउँ-ठाउँमा लुकेको कलाकारहरूलाई माझेर पक्का कलाकार बनाउने र एउटा बलियो मञ्चको आधार प्रदान गर्ने उद्देश्य राखेर गरिएको हो। यो पार्टीका नेता तथा मुख्यमन्त्री पवन चामलिङको परिकल्पना हो। जसले युवाहरूलाई उचित मञ्च प्रदान गर्ने कार्य गरेको छ।’

अहिले राज्यस्तरको प्रतियोगिताको विभिन्न 6 चरण पार गरेर सेमिफाइनलबाट फिनालेको निम्ति नृत्यमा  गेजिङकी अमृता राई, नाम्ची निवासी सोनीहाङ्मा सुब्बा, नामथाङ रातेपानी निवासी समीर तामाङ, नाम्चीकै विनिसा राई र गान्तोकको इमानसी गुरुङ टप पाँचमा पुगेको बताए।

यसैगरि गायनमा नाम्चीका अञ्जु तामाङ, मल्लीका नेहाल रामूदामु, सिङतामकी बबिता थापा, राभाङलाका योगेश गिरी र सोरेङका रिवस गुरूङले टप पाँचमा आफ्नो स्थान सुरक्षित गरेका छन्।

आगामी 15 सितम्बरको दिन मनन केन्द्रमा प्रतियोगिताको फिनाले हुनेछ। जसमा मुख्यमन्त्री तथा एसडीएफका अध्यक्ष पवन चामलिङ स्वयंको उपस्थितिमा अन्तिम प्रतिगियोगिता गरिने उनले बताए।

यसको निम्ति अन्तरराष्ट्रिय स्तरको सङ्गीतकर्मी र नृत्य प्रशिक्षकहरूलाई निर्णायक मण्डलीको रूपमा निम्तो गरिएको र अहिले उनीहरू गान्तोक आइपुगिसकेको उपाध्यक्ष खालिङले बताए।

उनले दिएको जानकारी अनुसार  वरिष्ठ सङ्गीतकार शिलाबहादुर मोक्तान, गायक थुप्देन भोटिया र गायिका रेमन्ती राई गायन प्रतियोगिताको निम्ति निर्णायक रहनेछन्।

यसैगरि नृत्यमा वरिष्ठ नित्याङ्गना  सुष्मा योञ्जन, पनु गजमेर र विकु दर्नाल निर्णायक रहनेछन्। अहिले गायिका  निकिता सिञ्चुरी र सिर्जना सिलवालले गायनको निम्ति प्रशिक्षण दिइरहेका छन्।

यसैगरि नृत्यमा दिलु तामाङ, आशना प्रदान र विनय गजमेरले प्रशिक्षित गरिरहेको उपाध्यक्ष खालिङले जानकारी गराए। प्रतियोगितामा विजेताहरूको निम्ति नगत पुरस्कार, प्रमाण पत्र प्रदान गरिनेछ

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares