चामलिङ र केन्द्र सरकार लिम्बू तामाङको मुद्दामा इमान्दार छैन- एलटीभीसी

अहिलेसम्म भाषणमा आफूहरू लिम्बु तामाङको पक्षमा रहेको दाबी गर्नेहरूले त्यो दिनको कार्यक्रममा उपस्थिति दिएर आफूलाई साबित गर्नुपर्नेछ ,यदि यस्तो हुँदैन भने हामी स्पष्ट रूपमा बुझ्नेछौं उनीहरूले लिम्बू तामाङको सम्वेदनासित खेलबाड गरिरहेका छन्।


गान्तोक, 13 सितम्बर।


मुख्यमन्त्री पवन चामलिङले दुइ महिना भित्रै लिम्बू तामाङको आसन आरक्षण हुने सम्भावना व्यक्त गरेको दुइ महिना बित्दा पनि कुनै पहल नभएको लिम्बू तामाङ भोलेन्टियर कमिटी (एलटीभीसी) ले बताएको छ।

कमिटीले चामलिङ सरकार लिम्बू तामाङको मुद्दामा इमान्दार नरहेको आरोप लगाएको छ।

एलटीभीसीका अध्यक्ष याहाङ चोङ र सचिव सञ्च कुरुम्बोले प्रेस क्लब अफ् सिक्किममा पत्रकार सम्मेलन आयोजन गरेर यस प्रकारको आरोप लगाएका हुन्। अध्यक्ष चोङले केन्द्र सरकारद्वारा लिम्बू तामाङको आसन आरक्षणको निम्ति केन्द्रिय क्याबिनेटमा फाइल पठाइसकेको कुराको समाचारहरू सबै झूठो साबित भएको बताउँदै केन्द्रिय गृह मन्त्रालयले यसबारे गरिएको आरटीआइको जवाफमा दिएको र कुनै पहल नभएको खुलासा भएको दाबी गरे।

यसैगरि आगामी 16 सितम्बरको दिन एलटीभीसीको आह्वानमा राज्यको सबै राजनैतकि दल र संघ संस्थाहरूलाई लिएर लिम्बू तामाङको आसन आरक्षणबाट वहस र अन्तरक्रिया कार्यक्रम आयोजन गरिएको बताएका छन्।

‘हामीले सत्तारूढ एसडीएफसमेत विपक्षी दलका सबै नेताहरूलाई भेटेर निम्तो गरेका छौं। सिल्ट्याक, जेएसी तथा अन्य संघ संस्थाहरूलाई पनि हामीले बोलाएका छौं। यसमा उनीहरूको सहभागिता अनिवार्य रहेको छ,’ सचिव सञ्च कुरुम्बोले भने,  ‘यस अन्तरक्रिया कार्यक्रममा सबै लिम्बू तामाङ समुदायको हितैषीहरूले सहभागिता जनाउने आशा व्यक्त गरेका छौं। अहिलेसम्म भाषणमा आफूहरू लिम्बु तामाङको पक्षमा रहेको दाबी गर्नेहरूले त्यो दिनको कार्यक्रममा उपस्थिति दिएर आफूलाई साबित गर्नुपर्नेछ ,यदि यस्तो हुँदैन भने हामी स्पष्ट रूपमा बुझ्नेछौं उनीहरूले लिम्बू तामाङको सम्वेदनासित खेलबाड गरिरहेका छन्।’

अध्यक्ष चोङले सिक्किम सरकार र केन्द्र सरकार दुवै लिम्बु तामाङको आसन आरक्षणको निम्ति इमान्दार नरहेको दाबी गरे।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया