दैलो-खिड्की समेत तोडेर लग्यो पुलिसले: निमा तामाङको घर भयो खाली: परिवार घरबिहिन: तामाङका भाइ पासाङले भने,‘निमालाई खाने बाघले अरूलाई पनि खानसक्छ’(हेर्नुहोस् भिडियोसितै)

कालेबुङ, 13 सितम्बर: पश्चिम बङ्गाल पुलिसले आज विमल गुरुङपन्थी नेता एवं पूर्व सभासद निमा तामाङको घर कुड्की गरेको छ। यहाँको सिडफार्ममा अवस्थित उनको तीनतले पक्का घरबाट पुलिसले सम्पूर्ण समाग्रीहरू जफत गरेको छ।

आज बिहान करीब 9 बजीतिर सैयौँ पुलिसकर्मीहरू तामाङको घरमा पुगेर सर-सामानहरू जफत गर्न शुरू गरेका थिए। पश्चिम बङ्गाल पुलिस, सिभिक भोलेन्टियर, ऱ्याफ साथै भरियाहरू समेत लगाएर पुलिसले उनको घरको लुगाफाटा, पलङ,  फ्रिज, टीभी, सोफासेट लगायत खिड्की, दैलोसमेत उक्काएर लगेको छ।

गत आन्दोलनपछि भूमिगत बनेका  विमल गुरुङपन्थी नेता निमा तामाङ 34 नम्बर होम्स भालुखोप समष्टिका पूर्व सभासद् अनि युवा मोर्चाका जिल्ला सल्लाहकार हुन्।

कालेबुङ थाना प्रभारी टीएस नाथ अनुसार तामाङविरूद्ध धेरैवटा गैर-जमानती मुद्दाहरू लागेको छ। यसैले कोर्टले एक महिनाअघि तामाङविरूद् प्रोकलामेसन अर्डर जारी गरेको थियो। यतिका अवधिसम्म पनि तामाङले आत्मसमर्पण नगरेपछि दुई दिनअघि कोर्टले सम्पत्ती कुड्की गर्ने निर्देश दिएको थियो। यसैको आधारमा आज पुलिसले निमा तामाङको जम्मै सम्पत्ति जफत गरेको थाना प्रभारी टीएस नाथले बताए।

निमा तामाङ भूमिगत भएपछि उनको घरमा पत्नी टिना तामाङ अनि एक छोरा र एक छोरी बस्दै आएका थिए। आज पुलिसले उनीहरूको घरबाट प्रत्येक सामान जफत गरेर घर खाली गरिदिएपछि उनीहरू घर छोड्न बाध्य बनेका छन्।

अर्कोतिर निमा तामाङका भाइ पासाङ तामाङले घटनाप्रति दुःख व्यक्त गर्दै निमा तामाङलाई खाने बाघले अरूलाई पनि खानसक्ने बताए।

‘निमा तामाङ दोषी होला तर उसको परिवार दोषी थिएन, उ राजनैतिक शिकार भयो’-भाइ पासाङ तामाङले भने, ‘निमा तामाङलाई परेको बेला ताली बजाउनु हुँदैन किनभने निमा तामाङलाई खाने बाघले तपाईँलाई पनि खानसक्छ।’

सैद्धान्तिक एवं पार्टिगत रूपमा दाजु-भाइ अलग-अलग मार्गमा रहेपनि खुनको सम्बन्ध पानीभन्दा महत्त्वूर्ण हुने उनले बताए। यद्यपि उनले निमा तामङले पनि कानुनलाई सम्मान नगर्दा यो स्थिति भएको भन्दै कानुनलाई सम्मान गर्न सुझाएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares