कुड्की विषय बोले विमल गुरुङ, भने ‘गोर्खाल्याण्ड समर्थकलाई सताउन बङ्गालले सत्ताको दुरूपयोग गरेर जनताको सबै अधिकारहरू खोसेर अघोषित आपतकाल लागु गरेको छ’

कालेबुङ, 13 सेप्टेम्बर


विमल गुरुङपन्थी नेता एवं पूर्व सभासद् निमा तामङको घर कुड्की विषय आखिर गोजमुमो अध्यक्ष विमल गुरुङ स्वयंले मुख खोले। मोर्चा अध्यक्ष विमल गुरुङले एउटा प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाको घोर विरोध जनाएका छन्।

‘घर कुड्की अभियानमा पुलिसले घरबाट भान्सा कोठाका सरसामानहरूदेखि लिएर लुगाफाटा, पलङ, फ्रिजलगायत सबै सामानहरू नै घरबाट लाने काम गरिरहेको छ। मेरो घर कुड्की हुँदा मैले केही भनिनँ, तर अहिले आएको मेरो पार्टी कार्यकर्ताको घरलाई पनि गैर कानुनी रूपमा अदालती कुड्की अर्डरको आडमा लथालिंग पार्नु सरासर गलत, अमानवीय, मानवता विरोधी असम्वैधानिक कार्य हो’-विमल गुरुङले भनेका छन्, ‘ पुलिसले कुड्कीको नाममा घरको सामानहरू त लाग्यो लाग्यो, तर घरको परिवारले खाने राशन-पानीदेखि लिएर नानीले खाने बिस्कुटसम्म लगिदिएको छ| सभ्य समाजमा भएको कानुन व्यवस्थाले यस्तो अनुमति कदाचित दिंदैन| यो सरकारी गुण्डागिरीको देश कै अदभूत नमुना हो|’

विमल गुरुङले विज्ञप्तिमा अझ भने अनुसार निमा तामङका परिवारालाई पुलिसले बेघर बनाएको छ। यो अमानवीय काम हो। विमल गुरुङको तर्क के छ भने, महाराष्ट्र पञ्चायक सदस्य सागर पाण्डुरङ धुन्दरेको एउटा मामिलामा भारतको सर्वोच्च अदालतले बाबुको गल्तीमा छोरालाई सजाय दिनु गलत हो भनेको छ|  अर्थात् कानुनमा कसैको गल्तिको सजाय उसको परिवारले पाएको हुनुहुँदैन|

गुरुङले भनेका छन्, ‘यस मामिलामा अहिलेसम्म निमा तामाङ केवल आरोपी हुन् अनि उनको आरोप सिद्ध भएको छैन| पुलिसले उनलाई भगोडा घोषित गरेपनि उनी भागेका हुन् कि उनलाई बाहिर ननिस्कन बाध्य बनाइएको छ त्यो पनि रहस्यको गर्भमा नै छ|’

गुरुङले यदि भोलिको दिनमा निमा तामाङ दोषि साबित नभएको खण्डमा पुलिसले जफत गरिएका समानहरू कुन अवस्था फर्काउछ त्यो पनि सोधेका छन्।

‘निमा तामाङले दोष नै गरेको भए पनि त्यो प्रोपर्टी उनको परिवारको सदस्यको पनि हो, यसैले निमा तामाङको गल्तिको सजाय उसको पुरा परिवारले भोग्नु कानुनसम्मत तथा उचित हो?’-गुरुङले प्रश्न गरेका छन्।

गुरुङले अझ भने अनुसार घर कुड्की भनेको कसैले फाइनेन्सियल क्राइम गरेको छ भने उसको सम्पती कुड्की गरेर अपराधीले तिर्नु पर्ने रकम हासिल गर्नु हो| यसैले गुरुङले प्रश्न गर्दै भनेका छन्, ‘ के निमा तामाङको अपराध फाइनेन्सियल क्राइम हो? उसले ब्याङ्क तथा फाइनेन्सियल संस्थाको पैसा खाएर जनताको पैसा फर्काउनु छ र कुड्की गरेको? कुड्की गर्न अघि १० सितम्बर २०१८ मा जिल्ला सेसन जजको अदालतमा पुग्नुपर्ने जस्तो नोटिस त्यहाँ टाँसिएको थियो, त्यसरी नै घर कुड्कीको अग्रीम आदेश त्यस घरमा किन टाँसिएन? परिवारको सदस्यलाई कुनै प्रकारको अवसर किन दिईएन? घर कब्जा नै गर्नु पर्ने स्थिति छ भने पनि घरको सामानहरू घरभित्रै राखेर बाहिरबाट घरलाई सील गर्न सक्दैन थियो?’

गुरुङको दावी के छ भने, उत्तर बङ्गालमा गोर्खाल्याण्ड समर्थकलाई सताउन बङ्गालले सत्ताको दुरूपयोग गरेर जनताको मौलिक, राजनैतिक, प्रजातान्त्रिक सबै अधिकारहरू खोसेर अघोषित आपतकाल लागु गरेको छ| गोजमुमो पार्टीले यसको तीव्र प्रतिवाद जनाउने कुरा विमल गुरुङले विज्ञप्तिमा उल्लेख गरेका छन्।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares