वार्षिक साङ्गीतिक उत्सव गर्दै तीनधारे कन्या उच्चत्तर माध्यमिक विद्यालय

खरसाङ, 14 सेप्टेम्बर


तीनधारे कन्या उच्चत्तर माध्यमिक विद्यालयको वार्षिक साङ्गीतिक कार्यक्रम बिहीबार भयो। कार्यक्रममा सभाध्यक्षको रूपमा स्कूल सञ्चालन समितिको सभापति रबीन सुब्बा एवं प्रमुख अतिथिको रूपमा पूर्व प्रधान अध्यापिका मार्थारानी राई अनि विशिष्ट अतिथिको रूपमा पूर्व सह स्कूल निरीक्षक सतीश रसाइली उपस्थित थिए।

शिक्षिका सबिता रसाईलीले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण प्रधान अध्यापिका रोजीरानी राई मुखियाले राखिन्। कार्यक्रममा पाँचौ र छैटौं कक्षाका विद्यार्थीहरूले सङ्गिनी नृत्य, एघारौं कक्षाका विद्यार्थीहरूले नेपाली नाटक, दशौं र बाह्रौं कक्षाका विद्यार्थीहरूले मारूनी नृत्य, विद्यार्थीहरूले अङ्ग्रेजी गीत, एक्शन गीत, नेपाली नृत्य, रेम्प वर्क, हिन्दी समूह नृत्य लगायत वर्तमान समयमा अनावश्यक रूपमा सोसल मिडियाको प्रयोग विषयमा सचेतनामूलक अङ्ग्रेजी नाटक पनि प्रस्तुत गरिएको थियो।

कार्यक्रममा स्कूलको इतिहास विषयमा शिक्षिका उर्मिला लामाले जानकारी प्रस्तुत गरिन्। शुरूमा सन् 1950 मा प्राथमिक पाठशालाको रूपमा स्थापना भएपछि 1979 मा मान्यता पाएको, 1998 सालदेखि अङ्ग्रेजी माध्यममा पढ़ाई शुरू भएपछि सन् 2011 देखि एघारौं र बाह्रौं कक्षाहरू पनि शुरू भएको उनले बताइन्।

स्कूल स्थापना गर्न बर्णबास राई र शान्ति राईको मुख्य भूमिका रहेको उनले जनाइन्। कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै पूर्व प्रधान अध्यापिका मार्थारानी राईले आजको कार्यक्रमले स्कूलको गरिमा बढ़ेको तथा जीवनमा जस्तै सङ्कट र समस्या आएपनि हाँसी खुशी रहनुपर्ने बताइन्।

आफुले 19 वर्षको उमेरदेखि यस स्कूलमा काम गरेको अनि  60 वर्षको उमेरमा अवकाशप्राप्त भएको बताउँदै आफ्ना तीता मीठा अनुभव र सङ्घर्ष साझा गरिन्।

सतीश रसाईलीले पनि कार्यक्रमलाई सम्बोधन गरे। कार्यक्रममा दुलालचन्द्र मन्ना, रूथरानी राई गुरूङ, बीबी थापा मसीह प्रकाश मोक्तान, बीबी प्रधान, एचबी मुखिया, रञ्जन कुमार रसाईली, सुरेशचन्द्र दर्नाल, सुरेन बन्जन लगायत तीनधारे क्षेत्रका शिक्षा र सामाजिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares