नृत्य निर्देशक केदार सुब्बा पञ्चतत्त्वमा विलीन

मुम्बई, २३ सितम्बर:  प्रतिभाका धनी हुँदाहुँदै पनि आफ्नो जातिमा अल्पपरिचित व्यक्तित्व प्रसिद्ध नृत्य निर्देशक केदार सुब्बाले 62 वर्षको उमेरमा शुक्रबार बिहान 9 बजी मुम्बईको निजी निवासस्थान नयगाउँस्थित परेरा कलोनीको गिरनार हाउजिङ सोसाइटीमा अन्तिम श्वास छोड़े। गत जनवरी महिनादेखि घाँटीमा क्यांसर रोग लागेर उपचाराधीन रहेका केदार सुब्बाको मृतदेहलाई महानगरी मुम्बईको जुहुचन्द्रा शमसान घाटमा लगेर उनका 16 वर्षीय पुत्र सूर्य सुब्बा उर्फ सिसले दाहाग्नि दिएको समय स्व. सुब्बाका अनुयायी, चेलाचेली अनि कलाकार तथा विभिन्न संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

स्व. सुब्बाले आफुपछि आफ्नो परिवारमा माता सोनिया सुब्बा, पत्नी, 18 वर्षीया छोरी कविता उर्फ पिहु, 16 वर्षीय छोरा सूर्य अनि 4 वर्षीय छोरा श्रीलाई छोड़िगएका छन्।
सन् 1956 -मा बिहारको राजधानी पटनामा बिहार पुलिसमा सेवारत पिताजीका पुत्रका रुपमा जन्म ग्रहण गरेका स्व. सुब्बाले 40 वर्षभन्दा धेर समय बलिउड अनि भोजपुरी, नेपाली, गुजराती र मराठी फिल्म जगतमा नृत्य कलाकारका रुपमा बिताएका थिए। रोगले आक्रन्त रहेको समय पनि स्व. सुब्बा भोजपुरी फिल्महरूमा कार्य गरिरहेका थिए। स्व. सुब्बाबाट नृत्यको तालिम प्राप्त गर्ने कलाकारहरूमा हिन्दी सिने संसारका चर्चित हास्य कलाकार तेजपाल यादव पनि हुन्। मुम्बईमा जति पनि नेपाली-गोर्खाहरूको सांस्कृतिक कार्यक्रमहरू आयोजना हुन्थे तिनमा स्व. सुब्बाको सक्रिय भूमिका रहेको हुन्थ्यो भनी यहाँका संस्थाका पदाधिकारीहरूले बताए।

यहाँको विले पार्लेमा डांस स्कुल सञ्चालन गरेर आफ्नो पेशागत जीवन धानिरहेका स्व. सुब्बाको दाह संस्कारको समय नेपाली संस्कृति परिषद्का महाराष्ट्र राज्य उपाध्यक्ष कमल सिंह, राष्ट्रवादी विकासशील अभियान, नेपाल-भारतका अध्यक्ष खड़गसिँह तथा केन्द्रिय सदस्यहरू नरबहादुर सोनी, डा. ललित, नरेन्द्र टमटा, नेपाल न्युज दैनिक समाचारपत्रका प्रमुख सम्पादक प्रकाश पौड्याल, टिभी कलाकार मणिकुमार तामाङ, बसिबियाँलो परिवारका सहयात्रीहरू सकुन सिँह राई, स्वस्तिका छेत्री आदिलगायत उनका प्रशंकस तथा इष्टमित्रहरू श्रद्धाञ्जली व्यक्त गर्न उपस्थित थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया