एसडीएफको शिर्षस्थ टोलीले भेट्यो प्रधानमन्त्री, सबै लम्बित मागहरूबारे गरे चर्चा

 

गान्तोक, 23 सितम्बर। सत्तारूढ एसडीएफ पार्टीको एउटा शिर्षस्थ टोलीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज साँझ भेट गरेको छ। एसडीएफ प्रवक्ता केटी ग्याल्छेनको अगुवाईमा गएको यस टोलीमा पार्टीका वरिष्ठ उपाध्यक्ष एसके प्रधान, केबी चामलिङ, ओटी भोटिया र महासचिव डीबी कटवाल रहेका थिए। प्रधानमन्त्रीलाई एसडीएफ टोलीले सिक्किम विभिन्न लम्बित राजनैतिक मागहरू राखेको छ। एसडीएफले चडाएको ज्ञापनमा पहिलो मागको रूपमा अनुसूचित जनजातिको मान्यता प्राप्त गरिसकेको सिक्किमका दुइ समुदाय लिम्बू र तामाङलाई सिक्किम विधानसभा सिट आरक्षण दिनुपर्ने माग राखेको छ। लिम्बू र तामाङलाई सिक्किम विधानसभामा 2019 को चुनाउ अगाडी नै आसन आरक्षित गरिनुपर्ने अनि भोटिया लेप्चाको 12 आसन र संघ सीटलाई अक्षुण्ण राखी आरक्षणबाट छुटेका बहुसंख्यक सिक्किमे नेपालीहरूलाई पनि अन्याय नहुने गरि लिम्बू तामाङलाई सीट आरक्षण दिनुपर्ने माग राखेको छ। एसडीएफले दोस्रो मागको रूपमा छुटेका 11 वटा समुदायलाई जनजातिको मान्यता प्रदान गर्नु रहेको छ। 11 समुदायलाई जनजातिको मान्यता प्रदान गर्न सिक्किम विधानसभाको आसन संख्या 32 देखि 40 बनाउनुपर्ने माग दोहोऱ्याएको छ। 40 आसन बनाउँदा मात्र सिक्किमका सबै समुदायलाई सामाजिक तथा राजनैतिक न्याय हुने स्मारक पत्रमा बताइएको छ।

तेस्रो मागको रूपमा एसडीएफले सिक्किम सब्जेक्टधारी सिक्किमेहरूलाई दिएको केन्द्रीय आयकर छुट सरह सिक्किममा बसोबासो गर्दै आएका पुराना व्यापारीहरूलाई पनि आय कर माफी गरिदिनुपर्ने माग गरेको छ।

एसडीएफले चौथो मागको रूपमा सिक्किमले शान्ति कायम गरेको र अन्तरराष्ट्रिय सीमाले घेरेको भूपरिवेष्टित राज्य भएर उत्तर पूर्वीय परिषदको सदस्य राज्य हुँदा हुँदै पनि शान्ति कायम गरेको अनि यस शान्तिलाई केन्द्र सरकारले मान्यता दिएर सिक्किमलाई शान्ति बोनस दिनुपर्ने पनि माग राखेको छ।

पाँचौ मागको रूपमा एसडीएफ सरकारले 1994 देखि पर्यावरणको क्षेत्रमा धेरै काम गरेको र सरकारले पर्यावरण मुखी कार्य गरेर सिक्किमलाई हरियाली राख्नका साथै आज विश्वलाई नै बाटो देखाउने जैविक कृषि मार्फत नयाँ अवधारण सिर्जना गरेकोमा ग्रीन बोनस प्रदान गर्नुपर्ने माग राखेको छ।

एसडीएफले आफ्नो ज्ञापन पत्रमा अझ भनेको छ सिक्किम युवा हिमालय क्षेत्रमा रहेकोले घरि घरि पैह्रोको चपेटमा पर्ने गरेको र सिक्किमको जीवन रेखा मानिने राष्ट्रिय राजमार्ग 10 पटक पटक बन्द हुने गरेकोले राज्यले धेरै कठिनाई भोग्नु परेको र प्रदेशको अन्य सड़कहरू पनि बाधित हुने गरेकोले सरकारलाई सड़क मरम्मती गर्न बारम्बार कठीनाई भएको अनि केन्द्र सरकारले राष्ट्रिय प्राथमिकताको आधारमा सहोयग पुऱ्याउनुपर्ने माग गरेको छ। एसडीएफले सिक्किमको सुरक्षाको निम्ति प्रदत्त संविधानको धारा 371 एफको सधैँ सुरक्षा भइरहनुपर्ने माग पनि प्रधानमन्त्री मोदी समक्ष राखेको छ।

प्रधानमन्त्रीलाई एसडीएफ टोलीलाई भेट गरेपछि प्रधानमन्त्रीसित भएको बातचीतबारे टोलीले मुख्यमन्त्री तथा पार्टीका नेता पवन चामलिङलाई अवगत गराएको छ। प्रधानमन्त्री र मुख्यमन्त्रीसित भेट गरेपछि मिन्तोगाङ अघिल्तिर एसडीएफ टोलीले पत्रकारहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्रीलाई चडाएको माग बारे विस्तृत जानकारी दिएको छ। पत्रकारहरूलाई सम्बोधन गर्दै एसडीएफ प्रवक्ता केटी ग्याल्छेनले भने प्रधानमन्त्रीसित सौहार्दतापूर्ण बातचीत भयो र उनीबाट टोलीले सकरात्मक अनि भरोसामन्द आश्वासन पाएको छ। एसडीएफ टोली प्रधानमन्त्रीसितको बैठकमा सन्तुष्ट छ अनि आगामी कार्यवाहीको निम्ति आशावादी छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares