राज्य बाहिर गएर अभ्यास गरिरहेका सिक्किमे डाक्टरहरू फर्किए सोझै नियुक्ति दिने छौ: चामलिङ

गान्तोक, 23 सेप्टेम्बर। मुख्यमन्त्री पवन चामलिङले सिक्किमका चिकित्सकहरू जसले राज्य बाहिर गएर विभिन्न ठाउॅंहरूमा अभ्यास गरिरहेका छन् उनीहरूलाई घर फर्किने आह्वान गरेका छन्। आज राजधानीको चिन्तन भवनमा आयोजित आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य योजना र मुख्यमन्त्री जीवन रक्षा कोषको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री चामलिङले भने, केवल भवन निर्माण गरेर मात्र उचित स्वास्थ्य सेवा उपलब्ध हुन सक्दैन, यसका निम्ति चिकित्सक र सहयोगी कर्मचारीहरूको इमानदारिता पनि महत्वपूर्ण हुन्छ। यसैले अहिले सिक्किमका जति पनि डाक्टरहरू राज्य बाहिर गएर अभ्यास गर्दैछन् उनीहरू सिक्किम आएको खण्डमा राज्य सरकारले उनीहरूलाई नियुक्ति दिन तयार छ। यसको निम्ति सरकारले उनीहरूलाई नियुक्ति गर्दा अहिलेसम्म पालन गरिने रोस्टर सिस्टमलाई लागू नगरेर उनीहरूका क्षमता र आवश्यकताको आधारमा सोझै विशेषज्ञ चिकित्सक नियुक्त गर्ने पनि घोषणा गरे। राज्यपाल गंगा प्रसाद मुख्य अतिथि रहेको यो योजना शुरूवातको कार्यक्रममा मुख्यमन्त्री चामलिङले स्वास्थ्य कर्मीहरूलाई इमान्दार भएर जन सेवामा लाग्ने आह्वान गरे। यसका साथै राज्य सरकारले शुरू गरेका विभिन्न स्वास्थ्य सेवा र सुविधाहरू उचित र सही मानिसको निम्ति पुग्नुपर्ने बताए। उनले आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य योजनाले राज्यका बीपीएल लाभार्थीहरूलाई सहयोग पुग्ने छ भने मुख्यमन्त्री जीवन रक्षा कोषले अझ धेरै लाभ पुग्ने र यी दुवै योजनालाई संयुक्त रूपमा संचालन गर्न सकेको खण्डमा असल हुने, तर यसको निम्ति राज्य सरकारको हातमा नरहेर केन्द्र सरकारको हातमा अधिकार रहेको जनाए।
अर्कोतिर, राज्यपाल गंगा प्रसादले आफ्नो सम्बोधनमा सिक्किममा आज शुरू भएको दुईवटा स्वास्थ्य योजना जन कल्याणकारी रहेको र यसरी स्वास्थ्य सेवामा महत्वपूर्ण योजना चलाउने राज्य सिक्किम देशकै निम्ति उदाहारणीय रहेको बताए। उनले यस योजनाको निम्ति जनतालाई हार्दिक बधाई दिॅंदै यसको लाभ उठाउने आह्वान गरे। कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक गरेको योजनाको भिडियो प्रदर्शनी पनि देखाइएको थियो। यस अवसरमा लोक सभा सांसद पीडी राई, स्वास्थ्य विभागका मन्त्री एके घतानी समेत विभिन्न विभागीय मन्त्रीहरू र विभागीय अधिकारीहरूको उपस्थिति रहेको थियो।
सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares