जनता साक्षी राखेर चामलिङले राखे मोदी अगाडि राजनैतिक माग

गान्तोक, 24 सितम्बर। सिक्किमे जनतालाई साक्षी राखेर मुख्यमन्त्री पवन चामलिङले प्रधानमन्त्री नरेन्द्र मोदीसामु राज्यका राजनीतिक मुद्दाहरूलाई जोड़तोड़ले उठान गरेका छन्। पाकिम हवाई अड्डाको उद्घाटनपछि सेन्ट जेभियर्स विद्यालय खेल मैदानमा आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री चामलिङले राज्यका ज्वलन्त मुद्दाहरू राखेका हुन्।

“कर्मापा उगेन थिन्ले दोर्जीलाई सिक्किम आउने अनुमति प्रदान गरेकोमा म प्रधानमन्त्रीप्रति विशेष धन्यवाद दिँदछु। कर्मापाको मुद्दा सँगसँगै सिक्किमका केही अन्य ज्वलन्त मुद्दाहरू पनि रहेका छन्, जो मैले विगतमा पनि अवगत गराइसकेको छु। प्रधानमन्त्री हाम्रा आशा र भरोसाका केन्द्रबिन्दु हुनुहुन्छ। प्रधानमन्त्रीले नै सिक्किमका जनताको आकाङ्क्षालाई पूरा गरिदिनुहुनेछ भन्ने मलाई पूर्ण विश्वास छ”,मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा भने। सिक्किम विधानसभामा लिम्बू-तामाङको सीट आरक्षण मुद्दामाथि मुख्यमन्त्रीले प्रधानमन्त्री सामु माग राख्दै भने,“लिम्बू-तामाङ समुदायले 2002 मा नै जनजातिको मान्यता प्राप्त गरिसकेका हुन्। आज 16 वर्ष भयो, उनीहरूको सिक्किम विधानसभामा सीट आरक्षण हुनसकेको छैन। लिम्बू-तामाङका लागि शीघ्र सीट आरक्षण गरिदिन म प्रधानमन्त्रीलाई अपील गर्दछु। यो सिक्किमे जनताका आकाङ्क्षा हो।” मुख्यमन्त्रीले 11 वटा जातिलाई जनजातिको मान्यता प्रदान गरिनुपर्ने माग राख्दै प्रधानमन्त्रीसमक्ष भने,“सिक्किम भारतमा विलय हुनभन्दा अघि सिक्किमका सबै समुदायले जनजातिसरह मान्यता प्राप्त गर्दै आएका थिए। तर विलयपछि बहुसङ्ख्यक जातिले आफ्नो हक गुमाउन पर्‍यो। सिक्किमका बहुसङ्ख्यक मानिसलाई जनजातिको मान्यता प्रदान गरेर उनीहरूका आकाङ्क्षालाई पूरा गरिदिन म प्रधानमन्त्रीसमक्ष अपील गर्न चाहन्छु।” आफ्नो सम्बोधनको क्रममा मुख्यमन्त्री चामलिङ प्रधानमन्त्री मोदीको प्रशंसा गर्न पनि चुकेनन्। “प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा आज देशले विकास गर्दैछ। देशको सम्मान बढ़ेर गएको छ। राष्ट्रको सम्मान बढ्नु सबैभन्दा ठूलो विकास हुनु हो। प्रधानमन्त्री मोदी आज देशको विकासपुरुष मात्र होइन, विश्वकै जननायक पनि हुन्”,चामलिङले भने। पाकिम हवाई अड्डाबारे बोल्दै उनले भने,“पाकिम हवाई अड्डाको उद्घाटन प्रधानमन्त्रीका बाहुलीबाट हुनु सिक्किमको निम्ति अहोभाग्य हो। आजको दिन सिक्किमका लागि गौरवपूर्ण दिन हो। सिक्किमले पहिलो हवाई अड्डा प्राप्त गरेकोमा म सिक्किमे जनतालाई बधाई दिन चाहन्छु।”

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares