‘साँचो लेखकलाई पुरस्कारले फरक पार्दैन’

हायमनदास राई दार्जीलिङका ग्रामीण सौन्दर्यलाई पछ्याउँदै लेख्ने वरिष्ठ कथाकार हुन्। भर्खरै पनि उनले चन्द्रिका पुरस्कार प्राप्त गरे। साहित्य अकादमी पुरस्कार पनि पाए। तर पुरस्कारलाई लिएर उनको कुनै आशक्ति छैन। आफूलाई बस्तीवाला, ग्रामीण लेखक मान्छन्। कुनै ठूला लेखकसित पनि उनको पहुँच पनि छैन, सरोकार पनि छैन। आफ्नो जीवनलाई आप्नै पाराले जिउने कथाकार किराँतसित लीलाबहादुर छेत्रीले गरेको संवाद-


यतिखेरका दिनहरू कसरी बित्दैछन्?

प्राय: ओछ्यानमा ढल्किरहन्छु। कहिलेकाहीं तपाईँहरू जस्ता भेटघाट गर्न आउँछन्। कुराकानी गरिन्छ। प्रश्न सोध्छन्,जानेको उत्तर दिन्छु। आफैं पनि प्रश्न गर्छु। बस्।

लेखाइ पढाई?

पछिल्ला पाँछ-छ महिनादेखियता पढ्न लेख्न पूरै बन्द गरेको छु। आँखामा समस्या भएको छ। लेख्न पढ्न सकिन्न।

ओछ्यानमा पल्टिरहँदा त पुराना दिनका  सम्झनाहरू खुब आउँदा हुन् नि ?

त्यस्तो आउँदैन। जति लामो बाँचिन्छ उति नै नयाँ नयाँ विचारहरू आउँदा रहेछन्। यस्तोमा कुन सम्झनु, कुन नसम्झनु यो उमेरमा?

अति दु;ख पाएको वा अति नै सुख महसुस गरिएका क्षणहरूको त सम्झना आइरहन्छ भन्छन् नि ?

मलाई आफुले अति दुख पाएको र अति नै सुख पाएको क्षणको ख्याल छैन। एकै किसिमको जीवन  बाँच्दै आएको छु। आनन्द र सुख मेरा सदावहार साथीहरू हुन्। म यिनीहरूसित सदैव खुशी र सुखी  रहेको छु। कुनै पनि कुरालाई धेरै नखोज्ने र थोरैलाई पनि यति त कम्ति भो मैले कहिल्यै भनिनँ। यस्तोमा सुख दु:ख समान छन् मेरा लागि।

शुरु शुरुमा कथा छापिँदा कस्तो महसुस गर्नु भा’थ्यो?

शायद सन् १९३३-३४ तिर होला मेरो कथा  नेबुला  र काठमाडौंबाट शारदामा छापिएको हो। उतिखेर पन्ध्र –सोह्रको थिएँ। प्रकाशित हुँदा केही रोमाञ्चित भएको थिएँ। सफलताको हिसाबले पहिलो हो या प्रकाशनको हिसाबले पहिलो भनेर मैले खुट्याउने कोशिष गरिनँ। सबै कथाहरू उस्तैउस्तै लाग्छन्। सबै कथाको प्रकाशन मेरा निम्ति समान रहे।

यो उमेरमा आएर कथा लेखिएका दिनहरू सम्झँदा कुनै कुनै कथालाई त यसरी लेखिनु पर्थ्यो, उसरी लेखिएको भए राम्रो हुने थिएछ भन्ने लाग्दैन?

अहँ, लाग्दैन। म सबै कथाहरूसित सन्तुष्ट छु। पूर्ण छु। मेरा हेराइमा लेखिएका छापिएका  सबै कथाहरू नै पूर्ण छन्। किनभने जबसम्म म सन्तुष्ट हुन सक्थिनँ तबसम्म कथा लेखिनँ।

एउटा कथा लेखिसक्न कतिसम्मन् समय खर्चनु हुन्थ्यो?

कथा लेख्दा कहिल्यै समय तोकेर लेखिनँ। कुनै एक बसाईमा, कुनै दुइ-तीन दिन त कुनैमा बाह्र-तेह्र वर्ष पनि लगाएको छु।

मैले कति लेखें भन्ने कुराको ख्याल आउँछ ?

अहँ। धेरै लेखेछु। सबैको ख्याल आउँदैन। सम्भव छैन। एकोहोरो भएर धेरै लेखेको छु।

कसरी कथाकार बन्नु भो?

-थाह छैन। कसरी कथाकार भएँ थाह छैन। कसैलाई भोक लाग्नु प्राकृतिक नियम हो। मलाई पनि शायद भोक लागेको हुनपर्छ कथाकार हुने। तर कथाकार फटाहा मान्छे हो, फटाहा। म पनि फटाहा हूँ।

अरु विधामा पनि यहाँको कलम चलेको छ नि कथाकार नभएको भए?

कथाकार नभएको भए के हुने थिएँ भन्न सक्दिनँ। म शिक्षक हूँ। बस्तीवाला हूँ। खेतीवाला हूँ। खै के भनूँ?

यहाँको बुझाइमा कथा के हो?

कथा भनेको कथ्नु हो। भएन भनिहोलें नि कथाकार फटाहा मान्छे हो। फटाहा मान्छेले पाठकलाई अलमल्याउन कथा कथ्छन्। पाठकलाई मोहनी लगाउँछन्। मैले पनि कथा भनेर त्यही कथ्ने काम गरेको छु। पाठकलाई मोहनी लगाउन खोजेको छु।

यहाँलाई प्रकाशकका रुपमा पनि चिनिन्छ नि,प्रकाशक हुने हुटहुटी चाहिँ कसरी चल्यो ?

म वास्तवमा हुटहुटिले  प्रकाशक बनेको होइन। केही दायित्वबोधले प्रकाशक हुन खोजें। म वास्तवमा प्रकाशक होइन। प्रकाशनको निम्ति केही संसाधन जुटाउने काम गरेको हूँ। तर प्रकाशक हुने मेरो मनसाय थिएन। प्रकाशक मान्दिनँ आफुलाई।

साहित्यमा अवधारणा, आन्दोलनलाई कतिको महत्व दिनुहुन्छ?

साहित्यमा आन्दोलन वा अवधारणाहरू भनेको ढकमक्क फुलेका फुलहरू हुन्। केही समय सौन्दर्य छर्छन्। तर ओइली झर्ने चाहिँ निश्चित हुन्छ। ओइलिएर झर्छन्। ओइलिएर झरे।

आयामेली आन्दोलन पनि त्यस्तै थियो ?

हो, त्यस्तै हो। मलाई सोधिएको थियो-आयामेली आन्दोलनका प्रणेताहरूबाट। भनेको थिएँ -आयाम दिनु भयो राम्रो हो। तर यो जनहितकारी छैन। मेरा ती केही विचार पछि तेस्रो आयाममा छापियो। केही समयलाई आन्दोलन अवधारणाको आवश्यक्ता महसुस गरिन्छ। तर स्थायी रहन्न।

आयामेली आन्दोलनले त धेरैलाई प्रभाव पारेको हो तपाईँलाई चाहिँ फिटिक्क प्रभाव परेन त उसो भए?

अहँ, परेन। म आफ्नो काममा आफ्नो पाराले लागिपरिरहें। अलि एकोहोरे पनि छु। आफ्नै धुनले काम गरेपछि अरुतिर त्यति नहेर्ने आदत छ ममा। मन खुशी छु बेसी। अरुहरूले के-के गरे भन्ने सोचिरहिनँ। आफ्नो काम गरिरहें।

यो उमेरसम्म पनि आरोग्य हुनुहुन्छ। आरोग्य र सक्रिय बँचाईको निम्ति यहाँलाई मिशाल मानिन्छ। यसको रहस्य के हो?

म मनखुशी बाँच्ने मान्छे हूँ। गाईवस्तुको काम गरेर, खेती गरेर बाँचिएर पनि होला। नत्र अरु रहस्य छैन। साकाहारी हूँ।

आफ्ना कथाका पात्र-पात्रालाई लिएर कतिको दु:खी बन्नु हुन्थ्यो?

कथाका पात्रहरू कथिएका हुन्। कथिएका कुराहरू नता गम्भीर हुन्छन्  नता वास्तविक। कथाका पात्र-पात्रासितको दुखमा एकाकार हुँदा त्यस्तो दुखी भइनँ।

यसरी पनि समाजको यथार्थ लेख्न सकिन्छ?

सकिन्छ। मैले लेखेको कुरालाई अरुले कसरी हेर्छन् त्यो उनीहरूको हेराइ हो। समाजको यथार्थ लेख्नसकिन्छ। लेख्ने कोशिष गरेको छु।

मेरो कथा लेखिदेऊ भन्नेहरू कतिको आए?   

मेरो कथा लेखिदेऊ भन्नेहरू मकहाँ आएनन्। बरु कथा पढूँ न भन्नेहरू भने धेरै आए।

यहाँका धेरै समकालीनहरू बितिसके। दान खालिङसित यहाँको कस्तो सम्बन्ध थियो?

दान खालिङ मेरा स्कुले साथी हुन् ।तँतँ र मम परियो। के-के गरियो।

खालिङलाई समग्र नेपाली समाजका जिनियस मानिन्छ। उनका प्रतिभाबारे नि?

दान खालिङ प्रतिभाशाली व्यक्तित्व हुन्। उनीसित भाषाको ज्ञान थियो। मसित कथाको केही ज्ञान। हामीले तर ज्ञान साटासाट गरेनौ त।

इन्द्रबहादुर राईका यहाँले केही कृतिहरूको प्रकाशन पनि गरिदिनु भएको हो। उहाँसित यहाँको सम्बन्ध कस्तो रहिआएको छ?

मैले इन्द्रबहादुर राईलाई साहित्यमा शिखर पुरुष मान्दैआएको छु। साहित्यबारे उहाँसित त्यस्तो घनिष्ट भएर चर्चा गरिनँ। म आफ्नो धुनमा एकोहोरो लेखिरहने मान्छे। हामी राई राई दाजु भाइ हौं। मेरो अभिनन्दन ग्रन्थको लोकार्पण समारोहमा उनी गोरुबथान आएका थिए। पहिलेभन्दा धेरै कमजोरी भएछन्।

पारसमणि प्रधानसित?

पारसमणि प्रधान मेरा गुरुबा। सधैं उनी मलाई घोचिरहन्थे। उनले घोचेरै मलाई माथि उचाले।

रामकृष्ण शर्मासित नि?

रामकृष्ण शर्मा गोर्खालीगका नेता थिए म सामान्य कार्यकर्ता। भएन उहाँ साहित्यको शिखरमा पुगेका मान्छे आफु भर्खर लेख्दै गरेका। त्यसैले खासै नजिकिने मौका पाइएन।

नवयुग नेपाली पुस्तक मन्दिरबाट गिरीका केही कृति प्रकाशन भएको होइन?

हो, अगमसिंह गिरीका आत्मव्यथा प्रकाशन गरेका हौं। तर उनीसित भेटघाट गरेर सम्बन्ध प्रगाढ बनाउने मौका उस्तो पाइएन। म बस्तीको मान्छे बस्तीको काम र शिक्षण पेशामा व्यस्त रहन्थें। एकोहोरिएर कथा लेखिरहन्थें। भएन ठुलाबढासित भेट गरेर सम्बन्ध कसिलो बनाउने र साहित्यिक चर्चा-परिचर्चा गर्ने प्रयास पनि गरिनँ। त्यस्तो गर्न आएन। चाहिनँ पनि।

समकालीनमध्ये शिवकुमार राईसित नि यहाँको के कस्तो सम्बन्ध रहेको थियो ?

शिवकुमार राईसित भेट हुँदा जहिले पनि सुखदुखका कुराहरू भए। साहित्यबारे उस्तो चर्चा हुन्थेन।

यहाँको विचारमा सर्वश्रेष्ठ भारतीय नेपाली कथाकार को हुन्?

खै कथा लेखनमा कसैमा निरन्तरता देख्दिनँ। इन्द्रबहादुर राईले ‘जयमाया आफु मात्र….’जस्ता कथा फेरि लेखेनन्। नरबहादुर दाहालमा पनि कथा लेखनीको प्रबल सम्भावना देखिएको हो तर उनमापनि निरन्तरता देखिन्न। यस्तोमा म कसलाई सर्वश्रेष्ठ मानूँ ।बरु प्रदीप गुरुङमा भने निरन्तरता देखिँदैछ। नयाँ प्रयोग पनि पाइँदैछ। तर उनको शिल्प अलिअलि बिग्रिँदैछ मेरो विचारमा। सर्वश्रेष्ठ कथाकार कसलाई मानूँ भन्न सक्दिनँ।

कथालाई लिएर मूल्याङ्कन गर्नेहरूले यहाँको दीर्घकालीन योगदानप्रति  उस्तो महत्व दिएनन् भन्ने यहाँका शुभचिन्तकहरू गुनासो गर्छन् नि?

मूल्याङ्कनकर्ताहरूले के भने के भनेन् भन्ने कुरोसित मेरो कुनै सरोकार छैन। मैले आफ्नो ठाउँबाट जति गर्नसक्थे त्यति गर्न खोजें। कति सफल भएँ कति असफल त्यो आफ्नो ठाउँमै छ।

पुरस्कार र सम्मानको दृष्टिकोणबाट पनि अन्याय गरियो भन्ने पनि सुनिन्छ नि यहाँलाई यस्ता कुराहरूले के कति प्रभाव पारेका छन्?

पुरस्कार र अभिनन्दनले मलाई कहिल्यै प्रभाव पारेन। प्राप्त पुरस्कार र सम्मानले पनि मलाई अल्छि लागेको बेला घच्घचाएन। पुरस्कार र सम्मानहरू भित्र कतै थन्काइदिएको छु। कति कता छ थाह छैन। दुइ-चार बाहिर राखिदिएको छु। दिनेहरू भेट्न आउँदा चित्त नदुखाउन् भनेर। साँचो लेखकलाई पुरस्कारले फरक पार्दैन।

पुरस्कारको लागि लबी गर्न हुच्च्याउनेहरू आएनन्?

आए। केही आए। लबी गरौं भन्नेहरूलाई मैले टकटकाइदिएँ।

यहाँले धेरै पुरस्कार र सम्मान प्राप्त गर्नु भएको छ ती मध्ये कुनसित सन्तुष्ट हुनुहुन्छ?

राष्ट्रिय शिक्षा पुरस्कारसित म साँच्चै सन्तुष्ट छु। शिक्षण पेशामा आफुलाई इमान्दार र प्रतिवद्ध मान्दछु। त्यसोसले यो पुरस्कारदेखि सन्तुष्ट छु।

नयाँ पुस्ताका कथाहरू कतिको पढ्नुभएको छ?

भेटे जति पढेको छु। उपलब्ध भएका र गराइएकाहरू पढेको छु।

नयाँ र पुराना पुस्ताका कथामा पाइने भिन्नता के हो?

म कथालेखक र कथाको सामान्य पाठक हूँ। सामान्य पाठक भनेको कथालाई सामान्य पाराले रसास्वदन गर्ने हुन्। पुतली र भमरा जस्ता। भनिन्नता छुट्ट्याउने समालोचक र विद्वानहरूको काम हो। समालोचक र विद्वान भएर मैले कथा पढिनँ।

आज धेरै युवा पुस्ता कथा लेखनसित जोडिएका छन्। उनीहरूलाई एक कथालेखको नातामा केही सुझाउ?

काम गर्न अघि बढेपछि पछि हट्न चाहिँ हुँदैन। पढ्न र लेख्नमा निरन्तरताको साथ लागिपर्नुपर्छ। सिद्धान्तको पछिपछि लागिरहनु  हुँदैन। युवा मन उदास र निराश भइरहन्छ, त्यसलाई झेल्न सक्नुपर्छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares