कृषि सिंचाई परियोजनाको शिलान्यास: कृषकहरूलाई आत्मनिर्भर बनाउन लागिपरेका छौँ: भुवन पी. खनाल

कालेबुङ, 26 सितम्बर: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन 35 नम्बर समष्टिअन्तर्गत तल्लो बोङबस्ती मङ्कु खोला एमआई स्किमको शिलान्यास मङ्गलबार विभागीय अधिकारीहरूको उपस्थितिमा गोजमुमो जिल्ला प्रवक्ता भुवन पी. खनालले गरे। टारी गाउँ अनि गैरी गाउँलाई जोड्ने मङ्कु खोलाबाट कृषि सिंचाई परियोजना आरम्भ गरिएको छ। यस परियोजनाले 17 कृषक परिवारलाई  कृषि कार्यको निम्ति फाइदा पुग्नेछ। एग्रो इरिगेशन विभागको पक्षबाट स्वीकृत भएको 38 लाख रूपियाँको लागतमा यो परियोजना पूर्ण हुने भएको छ।

जीटीएको पहलमा यसरी ग्रामीण क्षेत्रका मानिसहरूलाई सुविधा उपलब्ध गराउने दिशामा आफूहरू लागिपरेको जिल्ला प्रवक्ता भुवन पी. खनालले बताए। सुदूरवर्ती ग्रामीण क्षेत्रका कृषकहरूलाई सुविधा उपलब्ध गराएर कृषि कार्यमा अग्रसर गराउन नै यो परियोजना आरम्भ गरिएको हो। यस शिलान्यास कार्यक्रममा विभागको पक्षबाट सहअभियन्ता रोहन लामा, जुनियर अभियन्ता मोहन शर्मालगायत यस कामको निम्ति एजेन्सी आनन्द लखोटिया उपस्थित रहेका थिए। विधिवतरूपमा पुरोहितद्वारा पूजा अर्जना गरेपछि सहअभियन्ता रोहन लामा अनि जिल्ला प्रवक्ता भुवन पी. खनालले शिलान्यास गरे। पत्रकारहरूसित कुराकानी गर्दै सहअभियन्ता रोहन लामाले भने-ग्रामीण क्षेत्रका मानिसहरूको सुविधाका निम्ति हामी काम गरिरहेका छौँ। कृषकहरूले केही हदसम्म भए पनि सुविधा पाउन् भन्ने सोच राखेर यो योजना आरम्भ गरिएको छ। जल तीर्थ नामक योजनाबाट यो काम भइरहेको उनले जनाउँदै यस परियोजनाले 18 हेक्टर जमीनमा कृषि कार्य गर्न सुविधा पुग्ने बताए। 17 कृषक परिवारलाई यस परियोजनाले फाइदा दिने उनले जनाए।

अर्कोतिर जिल्ला प्रवक्ता भुवन पी. खनालले भने-कृषकहरूलाई आत्मनिर्भर बनाउने हामी लागिपरेका छौँ। जीटीएको पहलमा अहिले धेरै कार्यहरू भइरहेको छ। यसको निम्ति अध्यक्ष र उपाध्यक्षलाई विशेष धन्यवाद दिनुपर्छ। यो कामले क्षेत्रका कृषकहरूलाई ठूलो फाइदा पुग्ने बताउँदै काम गुणस्तरीय गर्नुपर्ने ठेकेदारलाई निर्देश पनि दिए। समय समयमा उपभोक्ता र आफूहरू आएर कामको निरीक्षण गर्ने पनि उनले बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares