यार्सागुम्बाको भूमीमा लाचेनपाहरूले चलाए सफाई अभियान

गान्तोक, 26 सितम्बर। उत्तर सिक्किमको लाचेन जुम्साको आधिकारीक क्षेत्रमा पर्ने यार्सागुम्बा फल्ने हिमाली क्षेत्रमा चार दिनको एक्सपिडिशन चलाएर लाचेनपाहरूले सफाई अभियान चलाएको छ। गत 23 सितम्बरदेखि शुरु भएको यो अभियान 26 सितम्बरको दिन समापन भएको छ। लाचेन जुम्साको प्रशासनिक क्षेत्रमा पर्ने थिला, थुम्बेक नामक ठाउँहरूमा सफाई अभियान चलाईएको थियो। यो क्षेत्रमा  चर्चित हिमाली वनौषधी यार्सागुम्बा पाईन्छ।  चार दिने यो सफाई अभियानबाट लाचेनका युवाहरूले 8 बोरा विभिन्न प्लास्टिक, बोतल र फोहोर सङ्कलन गरेको छ।

यो हिमाली उच्च क्षेत्रमा स्थानीय लाचेन गाउँका मानिसहरू मूल्यवान यार्सागुम्बा टिप्न जाने गर्छन्। जसको विश्व बजारमा धेरै मूल्य रहेको छ। शक्तिवर्दक औषधीको रूपमा चर्चा कमाएको यार्सागुम्पाको खोजीमा बड्दो मानिसहरूको आवजाहीले यो स्वच्छ र पवित्र भूमीमा पनि फोहोरको डङ्गुर लाग्न थालेको छ। जसको नकरात्मक प्रभाव स्थानीय वन्यप्राणी र उद्भीदहरूमा देखा परिरहेको छ। यो क्षेत्र यार्सागुम्पाको भूमि भए पनि लोपोन्मुख प्रजातिको हिम चितुवा (स्नो लियोपार्ड) र अन्य वन्य प्राणीहरूको पनि घऱ हो।  वर्खाको बेलामा पाइन यार्सा गुम्पा खोज्न सयौंको संख्यामा यो ठाउँमा मानिसहरू पुग्ने गर्छन् जसले गर्दा धेरै फोहोर भेला हुन थालेको छ। यसैगरि क्षेत्रमा तैनाथ भारतीय सेनाको जवानहरूले प्रयोग गर्ने खाद्य सामाग्रीको प्याकेट र अन्य फोहोर पनि उत्तिकै फेला परेको सफाई अभियानको अगुवा फुचुङ लाचेनपाले बताए। यार्सा गुम्पा खोज्न 5 देखि 10 दिन यो क्षेत्रमा मेला लाग्ने गर्छ त्यसैबेला दाउराको पनि प्रयोग हुने हुँदा वन संरक्षणमा पनि हानी पुग्ने गरेको छ भने नकुहुने फोहोर त्यही छोडेर आउँदा समस्या बढेको छ।

डब्लुडब्लुएफ इण्डियाको सहयोगमा लाचेन जुम्साले यस्ता प्रभावहरूबाट आफ्नो क्षेत्रलाई बचाउने प्रयास गरिरहेको छ। जसमा दाउराको प्रयोग कम गर्न मट्टीतेलको चुल्हा वितरण गरिएको छ। यसका साथै आफूले उत्पादन गरेको फोहोर फर्काएर ल्याउने निर्देश पनि जारी गरेको छ। फुचुङ लाचेनपाको नेतृत्वमा गएको सफाई अभियानको टोलीमा पाल्देन लाचेनपा, केसाङ लाचेनपा, गोकुल लाचेनपा, सुरजे लाचेनपा, कुङ्गा लुकजुङ लाचेनपा, नोरचेन लाचेनपा, सोनाम छिरिङ लाचेनपा र च्याङबा लाचेनपा रहेका थिए। फुचुङ लाचेनपा स्वयं पनि यार्सागुम्बा सङ्कलन गर्ने गाउँलेमा पर्छन्। त्यसैले उनले यो अभियानमा सबै यार्सागुम्पा सङ्कलन गरेर गाउँको आर्थिक विकास गर्नेहरूको सहभागिता हुन आवश्यक बताउँछन्। उनले आउने भविष्यमा अझै मानिसहरू यो अभियानमा जोडिने आशा व्यक्त गरेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया