11 जातगोष्ठीलाई जनजातिको मान्यताबारे भूमिगत नेता अनि भाजपाको झुट आरटीआईको जवाबले प्रमाणित गरेको विनय तामाङको दाबी : भने- ‘म प्रधानमन्त्रीलाई पत्र लेख्नेछु’

महेन्द्र थामीद्वारा प्रेषित गरिएको आरटीआईको जवाबमा केन्द्रिय जनजाति मन्त्रालयले जुन जवाब दिएको छ, त्यसको आधारमा हेर्ने हो भने भाजपाले जनजातिको निम्ति कुनै कार्य नगरेको प्रमाणित भइसकेको छ। भूमिगत नेताहरूले जनजातिको मुद्दामा जनतालाई ढाँट्ने काममात्रै गरिरहेका छन्।


दार्जीलिङ, 27 सेप्टेम्बर


11 जातगोष्ठीलाई जनजातिको मान्यता दिनुपर्ने दीर्घकालीन मागलाई लिएर पहाड़का कतिपय गोर्खा जनमुक्ति मोर्चा (विमल गुरुङ पन्थी) अनि भाजपाले झुट बोलिरहेको प्रमाणित भएको गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विनय तामाङले दाबी गरेका छन्।  तामाङअनुसार महेन्द्र थामी नामक व्यक्तिले यसै सम्बन्धमा दुइपल्ट आरटीआई गरेका थिए। जसको जवाबमा केन्द्रिय जनजाति मन्त्रालयबाट रेजिस्टर जेनरल अफ इण्डिया (आजीआई)-ले गोर्खा जातिको 11 वटा जातगोष्ठीलाई केन्द्रिय जनजातिको मान्यता प्रदान गरिनुपर्ने मागलाई खारेज गरिसकेको बताएको छ।

थामीलाई दिइएको जवाबमा आरजीआईले जनजातिको मुद्दा पहिलोपल्ट खारेज गर्दासमेत पश्चिम बङ्गाल राज्य सरकारको तर्फबाट अनुमोदन गरेर केन्द्र सरकारसमक्ष पठाएको र दोस्रोपल्ट फेरि आरजीआईले उक्त अनुमोदन खारेज गरेको केन्द्रिय जनजाति मन्त्रालयले जनाएको विनय तामाङले जनाएका छन्।

‘केन्द्रिय जनजाति मन्त्रालयद्वारा आरटीआईमार्फत जारी गरिएको उक्त दस्तावेज नै भाजपा सरकार गोर्खाहरूको माग अनि सपना पूरा गर्ने प्रश्नमा इमान्दार छैन भन्ने प्रमाण हो,’ तामाङले विज्ञप्ति जारी गरेर भनेका छन्, ‘भाजपा गोर्खाहरूलाई भावनात्मकरूपमा ब्ल्याकमेल गरेर लोकसभा चुनाउ जित्ने ताकमामात्रै छ। गोर्खाहरूलाई उनीहरूले दिएको वचन चुनावी स्टन्टमात्रै हो।’

15.06.199 को दिन जारी गरिएको गभर्मेन्ट अफ इण्डिया, अण्डर सेक्रेटेरी अगसर अलीद्वारा हस्ताक्षरित पत्र संख्या ((F.No: 17011/30/2017-C & LM) dated 17-September 2018) अनि पछि फेरि 25.06.2002 मा संशोधन गरिएको उक्त पत्रले नै जनजातिको मुद्दालाई तल झार्ने काम गरेको तामाङको दाबी छ।

‘जनजाति मन्त्रालयको आधारमा सम्बन्धित राज्य सरकारको परामर्श अनि अनुमोदन अनि आरजीआईको, नेशनल कमिशन फर सेड्युल ट्राइब्सको अनुमोदनमामात्रै जनजातिको दर्जा प्रदान गर्न सकिने प्रावधान रहेको छ,’ तामाङले भनेका छन्, ‘17 सेप्टेम्बर 2018 मा दिइएको आरटीआईको जवाबमा पनि यही कुरा उल्लेख गरेको छ।’

तामाङले थामीको आटीआईको जवाबमा लेखिएको कुरा विज्ञप्तिमार्फत सार्वजनिक गरेका छन्।

‘जवाबमा भनिएको छ- प्रावधान मुताविक सम्बन्धित राज्य सरकारबाट आरजीआईमा प्रतिक्रियाको निम्ति प्रस्ताव आएको हुनुपर्छ। तर आरजीआईले दुईपल्ट नै उक्त प्रस्तावलाई अस्वीकार गरिदिएको छ,’ तामाङले भनेका छन्, ‘उक्त जवाबमा उल्लेख गरिएको दुईपल्ट प्रस्ताव भन्नुको तात्पर्य नै राज्य सरकारले जनजातिको विषयमा दुईपल्ट प्रस्ताव आरजीआईलाई पठाइसकेको स्पष्ट गर्छ। तर राज्य सरकारले पठाइसकेको अनुमोदनलाई केन्द्र सरकारले गोर्खाहरूसित इमान्दार रहेको भए सकरात्मक विचार गर्नुपर्ने थियो। तर दुई-दुई पल्ट राज्य सरकारद्वारा पठाइएको प्रस्तावलाई पनि गम्भीरतासाथ पदक्षेप नलिएर भाजपाले गोर्खाहरूको निम्ति कुनै सहानुभूति नरहेको प्रमाण  दिइसकेको छ।’

तामाङले गोर्खा जातिका 11 वटा जातगोष्ठीलाई फेरि झूटो आश्वासनमै भुलाएर भाजपाले फेरि कतिपय भूमिगत नेताहरूको काँधमा बन्दूक राखेर आगामी लोकसभा चुनाउमा आफ्नो राजनैतिक रोटी सेक्ने षड़यन्त्र बुन्न शुरू गरिरहेको तामाङले विज्ञप्तिमा लेखेका छन्।

‘महेन्द्र थामीद्वारा प्रेषित गरिएको आरटीआईको जवाबमा केन्द्रिय जनजाति मन्त्रालयले जुन जवाब दिएको छ, त्यसको आधारमा हेर्ने हो भने भाजपाले जनजातिको निम्ति कुनै कार्य नगरेको प्रमाणित भइसकेको छ। भूमिगत नेताहरूले जनजातिको मुद्दामा जनतालाई ढाँट्ने काममात्रै गरिरहेका छन्,’ तामाङले भनेका छन्, ‘तथापि जनजातिको मुद्दालाई लिएर गोर्खा जनमुक्ति मोर्चा (विनय तामाङ समूह) त्यसै बस्ने छैन। अब भाजपाको फोस्रो आश्वासनमा होइन तर 11 जातगोष्ठीलाई जनजातिको मान्यता प्रदान गर्ने दिशामा हामी प्रतिवद्ध छौं। जबसम्म केन्द्र सरकार अनि निरीक्षण कमिटीले यस विषयमा सकरात्मक निर्णय लिनेछैन हामी आफ्नो तर्फबाट निरन्तर सङ्घर्ष जारी राख्नेछौं।’

गोर्खाहरूलाई लिएर अलिकति पनि सहानुभूति रहेको छ भने केन्द्रमा सत्तासीन भाजपा सरकारले पनि यस विषयमा चाड़ै समाधान निकाल्नुपर्ने तामाङले बताएका छन्। भाजपाको झूटो आश्वासन र भूमिगत नेताहरूको भ्रामक वयानहरूसित अब पहाड़वासीले पटक्कै विश्वास नगर्ने पनि उनको मत छ। ‘यदि यसपल्ट पनि भाजपाले झूटो आश्वासनमात्रै दिएर पहाड़ अनि तराई-डुवर्सवासीलाई लण्ड्याउन खोजे पहाड़, तराई डुवर्सक्षेत्रमा कुनै पनि राजनैतिक अस्थिरता उत्पन्न भए भाजपा सरकार स्वयँले नै जिम्मेवारी पनि लिनुपर्नेछ,’ तामाङले चुनौति दिँदै भनेका छन्, ‘किनभने यही मुद्दालाई अघि राखेर गोर्खाहरूको भोट दुईवटा लोकसभा चुनाउमा भाजपाले आफ्नो पक्षमा पारेको हो। यसर्थ पहाड़, तराई-डुवर्समा राजनैतिक अस्थिरता उत्पन्न हुन अघि नै भाजपाले आफ्नो वचन पूरा गरी हाम्रो मागलाई पूरा गर्नुपर्छ भन्ने हाम्रो माग रहेको छ।’

तामाङले जनजातिको मुद्दालाई यथाशीघ्र पूरा गरिनुपर्ने माग लिएर शीघ्र प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र पठाउने अनि 11 जातगोष्ठीसित सम्बन्धित सङ्घ-संस्था एवं भारतभरिका सम्पूर्ण गोर्खाहरूलाई पनि यस मुद्दालाई शीघ्र पूरा गर्न केन्द्र सरकारलाई जोड़तोड़ले चाप सृष्टि गर्ने बताएका छन्।

‘गोर्खा जनमुक्ति मोर्चाले पनि देशका हरेक गोर्खाबहुल प्रान्तहरूबाट यस मुद्दालाई चरमरूपले अघि बढाउनेछ,’ उनले भनेका छन्, ‘यस मुद्दालाई उठान गर्न हरेक तहबाट अनि हरेक प्रान्तका गोर्खाहरूलाई हरेक प्रकारको सहयोग पनि गोर्खा जनमुक्ति मोर्चाले प्रदान गर्नेछ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया