गोरानिमो फिगा-मा नबस्ने : भन्यो- ‘फिगामा रहनु समयको नास’

‘जिटिए बिओए विनय तामाङ,  बिमल गुरूङ, जीटीए कानुन, सुबास घिसिङले दर्ता गरेको जिटिए विरुद्धको मुद्दा,  मदन तामाङ हत्याकाण्डको मुद्दामा चार्जसिट भएको प्रमुख अभियुक्तको नाँउ चार्जसिटबाट हटिनु, त्यसको लगतै पछि आन्दोलन सकेको घोषणा बिमल गुरूङले गर्नु,  आन्दोलन भइरहेको समय अरूलाई झुक्याएर बिनय तामाङहरूले मुख्यमन्त्रीसित गोप्य बैठक गर्नुजस्ता कुराहरूको समिक्षा नगरी कुनै पनि पहल गरिन्छ भने त्यो आधाकल्चे पहल हुन्छ।’


कालेबुङ, 27 सेप्टेम्बर


भारतभरिका राजनैतिक, सामाजिक, सांस्कृतिक संस्थाहरू मिलेर बनिएको फेडरेसन अफ इण्डियन गोर्खा एसोसिएसन्स (फिगा) मा गोर्खाल्याण्ड राज्य निर्माण मोर्चा नबस्ने भएको छ। गोरानिमोका सहसचिव सुदर्शन राईले आज गोरानिमो केन्द्रिय समितिको बैठकपछि अध्यक्ष दावा पाखरिनले गोरानिमो फिगामा नबस्ने घोषणा गरेको बताएका छन्।

गोर्खाल्याण्ड राष्ट्रीय मुद्दा रहेकोले यसको निम्ति हुनुपर्ने पहल पनि राष्ट्रीय नै हुनुपर्ने अनि आन्दोलनलाई लिएर राजनैतिक षडयन्त्रहरू केलाएर नै अघि बढ्नुपर्ने तर अघिल्ला संस्थाहरूले झैं फिगाले पनि दलगत राजनीति र राजनैतिक षडयन्त्रहरूलाई सम्बोधन नगरेकोले गोरानिमो फिगामा बस्न नचाहेको राईले पठाएको वयानमा उल्लेख छ। राईले यही विषयमा गोरानिमोको बैठकमा चर्चा गरेर निर्णय लिइएकोसमेत बताएका छन्।

अहिलेसम्मका राजनैतिक दलहरू र भागोपले गरेको काममा असन्तुष्ट भएर नै यो नँया संस्थाको गठन भएको र त्यो स्वागतयोग्य रहे पनि फिगासित गोर्खाहरूको सर्वभारतीयस्तरको संस्था गठनको पहल गर्न अघि यसको अवधारणा गलत भए समग्र पहल गलत हुने देखेर नै फिगाबाट गोरानिमो बाहिर रहेको सुदर्शन राईले जनाएका छन्।

‘गोमुख मैलो भए गङ्गा सफा हुँदैन,’ राईले भनेका छन्,  ‘यस पहलको अवधारणापछिल्तिर 105 दिनको आन्दोलन छ।  जसको सत्यतासम्म पुगेर फिगाको अवधारणा निर्माण भएको छैन। दार्जीलिङको राजनैतिक कृयाकलापहरू नै यो नँया संस्थाको जननी हो। जसको सत्यतालाई खोजेर त्यसैको आधारमा अवधारणा बनाएर अघि बढ्नुपर्ने हो तर त्यसो भएन।’

उनले अझ भनेका छन्, ‘जिटिए बिओए विनय तामाङ,  बिमल गुरूङ, जीटीए कानुन, सुबास घिसिङले दर्ता गरेको जिटिए विरुद्धको मुद्दा,  मदन तामाङ हत्याकाण्डको मुद्दामा चार्जसिट भएको प्रमुख अभियुक्तको नाँउ चार्जसिटबाट हटिनु, त्यसको लगतै पछि आन्दोलन सकेको घोषणा बिमल गुरूङले गर्नु,  आन्दोलन भइरहेको समय अरूलाई झुक्याएर बिनय तामाङहरूले मुख्यमन्त्रीसित गोप्य बैठक गर्नुजस्ता कुराहरूको समिक्षा नगरी कुनै पनि पहल गरिन्छ भने त्यो आधाकल्चे पहल हुन्छ।’

उनले फिगालाई त्यस्तै अधकल्चे पहल भन्दै फिगामा रहनु समयको नास बाहेक अरू केही नरहेको पनि बताएका छन्। ‘राष्ट्रीय स्तरको सङ्गठन तयार हुनु एकदमै स्वागत योग्य कुरो हो। हामी स्वागत जनाउँछौं, तर यसको अवधारणा नै गलत रूपमा तय गरिँदैछ,’ राईले भनेका छन्, ‘गहिराइमा डुबेपछि मोती नटिपी फर्किनु हुँदैन।  त्यसैले यस नयाँ संस्थाको चरित्र राष्ट्रीय भएन।  क्षेत्रीय दलहरू समावेस गरिनु पर्ने हो त्यो पनि सम्पूर्ण भएन। मुलरूपले जुन आधारहरू बनिनु पर्ने त्यो असली आधारहरू केलाउन फिगा डरायो। यसै कारण गोरानिमो फिगामा रहने छैन।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया