मुद्दा : जनजाति : विमल गुट भर्सेस विनय गुट : चुलियो विवाद

भाजपाले कुनै सकरात्मक पहल गऱ्यो भने विनय तामाङले यसमुद्दाबारे आफ्ना सबै अडान हराउनेछन् अनि जनताले विमल गुरुङलाई विश्वास गर्नेछन्। भाजपाले यस मुद्दालाई लिएर कुनै पहल नगरे विनय तामाङले भाजपालाई लगाएको आरोप साँचो प्रमाणित हुनेछ र जनताले उनको वयानलाई सही मान्नेछन्। चुनाउ अघि नै यो मुद्दा उठिसकेको छ। साँच्ची नै भाजपाले 11 जातगोष्ठीलाई जनजातिको मर्यादा दियो भने विनय तामाङ फ्लप हुनेछन्, दिएन भने विमल गुरुङ फ्लप हुनेछन्।


दार्जीलिङ, 28 सेप्टेम्बर


विमल गुरुङले केन्द्र सरकारले गोर्खाहरूको 11 जातगोष्ठीलाई जनजातिको मर्यादा दिन प्रक्रियामा लागेको सङ्केत दिएका थिए। त्यसको प्रतिवादमा विनय तामाङले एउटा आरटिआई रिपोर्ट अघि ल्याएर केन्द्र र विमल गुरुङले झुट बोलेको प्रमाणित भएको दाबी गरे।

तामाङको त्यो दाबीलाई निरस्त गर्दै रोशन गिरीले आरटीआईकै रिपोर्टलाई अघि सारेर विचाराधिन रहेको प्रमाणित गर्दै विनय तामाङले उल्टै झुटको खेती गरेको जनाए। त्यसको पनि विनय तामाङले जवाब दिएका छन्।

11 वटा जनजातिको मुद्दालाई दुई-दुईपल्ट खारेज गरिसकेको सत्य तथ्यलाई लुकाउने रोशन गिरीले निर्लज्जपूर्ण प्रयास गरेको तामाङको आरोप छ। आरटीआईमा जवाबमा स्पष्टरूपमा आरजीआईले दुई-दुईपल्ट राज्य सरकारको सिफारिशलाई खारेज गरिसकेको कुरा उल्लेख गरेको कुरा गिरीले लुकाइरहेको बताएका छन्।

तामाङले त गिरीले गोर्खाहरूप्रति भाजपाको बेइमानी अनि निराशापूर्ण नीतिलाई ढाकछोप गरेकोसमेत बताएका छन्। यद्धपि आरटीआई रिपोर्ट सार्वजनिक छ, जानकारहरूले त्यसको अध्ययन गरिरहेकै छन्। गिरीको स्पष्टिकरणलाई पनि नकार्न सकिन्न, यता आरटीआईले दुइपल्ट मुद्दालाई खारेज गरेको कुरालाई पनि नकार्न सकिन्न।

तामाङअनुसार पत्रमा लेखिएको छ, केवल ती प्रस्तावहरू जो सम्बन्धित राज्य सरकारको पक्षबाट अनुमोदित अनि रेजिस्टर जेनरल अफ इण्डिया (आरजीआई) एवं नेशनल कमिसन फर सेड्यूल ट्राइब्स (एनसीएसटी) द्वारा मञ्जूर छन् त्यसमाथिमात्रै ऐन संशोधनको निम्ति विचार गर्न सकिन्छ।

गिरीअनुसार थामीको आटीआईको जवाबमा नै केन्द्र सरकारको सकारात्मक मनसाय स्पष्ट छ। त्यहाँ नढाँटी भनिएको छ,  दुइ पटक प्रस्तावलाई आरजीआइले अवलम्बन गरेन तर जब सिक्किम अनि गोर्खा प्रभावित राज्य तथा क्षेत्रहरूका भुजेल, गुरूङ, मगर, नेवार, जोगी, खस, राई, सुनुवार, थामी, याखा (देवान) अनि धिमाललाई अनुसूचित जनजाति दर्जा दिने कमिटी गठन भयो तबदेखि विषय विचाराधीन छ। यही आशयमा यस कमिटीको रिपोर्टलाई पर्खिएको अवस्था भएको आरटीआईमा जानकारी दिइएको छ।

राज्य सरकारको तर्फबाट दुई-दुईपल्ट 11 जातगोष्ठीलाई जनजातिको मान्यता प्रदान गर्नको निम्ति अनुमोदनसहित सिफारिश पठाइएको थियो तर केन्द्रिय जनजाति मामिलाको भनाइअनुसार नै आरजीआईले दुईपल्ट नै राज्य सरकारको उक्त प्रस्तावलाई खारेज गरिदिएको तामाङको दाबी हो। तामाङअनुसार भाजपाको निरीक्षणमा रहँदा-रहँदै यसरी 11 वटा जातगोष्ठीको उक्त मागलाई एउटा प्रमुख सम्बन्धित निकायले  खारेज गर्नु भनेको भाजपा सरकारको गोर्खाप्रति कुनै सहानुभूति नरहेको स्पष्ट प्रमाणित हुन्छ।

यता तामाङले आरोप लगाएका छन्, भाजपा सरकारले जनजातिको मुद्दालाई पूरा गर्न निरीक्षण कमिटी गठन गरेर गोर्खाहरूको सहानुभूति आफ्नो पक्षमा पार्ने षड़यन्त्र मात्रै हो। यदि भाजपा सरकारलाई 11 वटा जातगोष्ठीको उक्त महत्वूर्ण मुद्दामाथि साच्चै सहानुभूति थियो भने अथवा उनीहरू साच्चै नै इमान्दार थिए भने राज्य सरकारद्वारा पठाइएको सिफारिशलाई दुज्ई-दुईपल्ट किन खारेज गरिने थिएन।

केन्द्र सरकारले उक्त कमिटी सर्वप्रथम 2.4.2016 मा गठन गरेको थियो। कमिटीको नेतृत्व संयुक्त सचिव अशोक पाईले गरेका थिए। कमिटीले दिएको समय-सीमाभित्र आफ्नो काम पूरा गर्न नसक्दा एकपल्ट फेरि भिशु मियानीको नेतृत्त्वमा 14.9.2016 मा अर्को कमिटी गठन भयो। तर भिशु मियानीको उक्त कमिटीले पनि अहिलेसम्म आफ्नो रिपोर्ट बुझाएका छैनन्।

तर तामाङ भन्छन्, ‘कमिटीले आफ्नो रिपोर्ट बुझाएकै खण्डमा पनि आरजीआईले उक्त रिपोर्टलाई अनुमोदन अनि स्वीकार गर्नैपर्ने हुन्छ।’ अहिलेम्म सबैले कमिटीको त्यही रिपोर्ट पर्खिरहेका छन्। तर आरजीआईले अघिबाटै दुईपल्ट यस्तो प्रस्तावलाई खोरेज गरिसकेको पनि सत्य नै हो।

तामाङअनुसार कल्चरल रिसर्च इन्सटिट्यूट (सीआरआई) ब्याकवर्ड क्लास वेलफेयर डिपार्टमेन्ट, गभर्मेन्ट अफ वेस्ट बेङ्गल, कलकत्ताले पनि यस दार्जीलिङ पहाड़मा उक्त 11 वटा जातगोष्ठीमाथि गम्भीररूपमा सर्वेक्षण गरेर विस्तृत रिपोर्ट ब्याकवर्ड क्लासेस वेलफेयर डिपार्टमेन्ट, कलकत्तामा प्रेषित गरिसकेको छ।

राज्य सरकारको पक्षबाट यति गरिसक्दा पनि आरजीआईले भने दुई-दुईपल्ट त्यस प्रस्तावलाई खारेज गरिदियो। यही खारेजीलाई देखाएर भाजपा गोर्खाहरूप्रति इमान्दार नरहेको  तामाङको आरोप हो।

तामाङ चाहान्छन्, भाजपाबाट आश्वासन होइन ठोस निर्णय होस्। यद्धपि भाजपा आफैले भने यसबारे कुनै टिप्पणी गरेको छैन। यता भिशु मियानी कमिटीको रिपोर्ट आएको छैन। यो रिपोर्ट नआइञ्जेल भाजपाबारे कुनै धारणा बनाउन सकिन्न। तर यसलाई लिएर विमल गुरुङ र विनय तामाङ दुवैले राजनीति शुरु गरिसकेका छन्।

भाजपाले कुनै सकरात्मक पहल गऱ्यो भने विनय तामाङले यसमुद्दाबारे आफ्ना सबै अडान हराउनेछन् अनि जनताले विमल गुरुङलाई विश्वास गर्नेछन्। भाजपाले यस मुद्दालाई लिएर कुनै पहल नगरे विनय तामाङले भाजपालाई लगाएको आरोप साँचो प्रमाणित हुनेछ र जनताले उनको वयानलाई सही मान्नेछन्। चुनाउ अघि नै यो मुद्दा उठिसकेको छ। साँच्ची नै भाजपाले 11 जातगोष्ठीलाई जनजातिको मर्यादा दियो भने विनय तामाङ फ्लप हुनेछन्, दिएन भने विमल गुरुङ फ्लप हुनेछन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया