पर्यटन मन्त्रीद्वारा दुई क्याफेटेरिया उद्घाटन 

गान्तोक, 29 सितम्बर। सिक्किममा बढ्दो पर्यटकको आगमनसितै पर्यटकहरूको सुविधालाई पनि सरकारले ध्यान पुऱ्याउन थालेको छ। यसैक्रममा शनिबार राज्यको पर्यटन तथा नागरिक उड्डयन विभागले निर्माण गरेको दुइवटा अत्याधुनिक सुविधा सम्पन्न क्याफेटेरिया उद्घाटन गरियो। राजधानी गान्तोक नजिकको बाघथाङ झरना परिसरमा निर्मित दुइ तले बाघथाङ क्याफेटेरिया र रम्फू नजिक माइनिङमा राष्ट्रिय राजमार्ग 10 को किनारमा निर्मित अत्य़ाधुनिक सुविधायुक्त क्याफेटेरिया आजदेखि पर्यटकहरूको निम्ति खुल्ला गरिएको छ। राज्यको पर्यटन तथा नागरिक उड्डयन मन्त्री उगेन टी ग्याछो भोटियाले दुवै क्याफेटेरियाको उद्घाटन गरेका छन्।  आउँदो समयमा राज्यमा 50 लाख पर्यटन भित्र्याउने लक्ष्य लिएर कार्य गरिरहेको र सरकारले जतिसक्दो पर्यटकहरूको सुविधाको निम्ति पर्यटन मैत्री परियोजनाहरूलाई प्राथमिकताको आधारमा निर्माण गरिरहेको बताए। उनले यसरी सड़क किनारमा निर्माण गरिएको क्याफेटेरियाले पर्यटकहरूलाई थप आकर्षण गर्ने र उनीहरूलाई सुविधा पनि प्रदान गर्ने बताए।
सरकारद्वारा पर्यटन उद्योगलाई प्रोत्साहन गर्न प्रदान गरिएको पहलहरूबाट स्थानीय पर्यटन हितधारकहरूले पनि फाइदा लिनुपर्ने आह्वान गरे। विभागीय अधिकारीहरूले दिएको जानकारी अनुसार यो क्याफेटेरियालाई स्थानीयहरूलाई नै सञ्चालन गर्ने मौका प्रदान गरिएको छ। कार्यक्रममा पर्यटन सचिव सीपी ढकाल, विधायक डीआर थापा समेत विभागीय अधिकारी र पर्यटन हितधारकहरूको बाक्लो उपस्थिति रहेको थियो। आज उद्घाटन गरिएको बाघथाङ वाटरफल्स क्याफेटेरियाको निर्माणमा 1.31 करोड़ रूपियाँ अनि माइनिङको ओएसिश क्याफेटेरियाको निम्ति 2 करोड़ रूपियाँ खर्च गरिएको विभागीय अधिकारीहरूल जानकारी गराएका छन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया