स्वातन्त्रता सेनानी हेलेन लेप्चाको नाममा सडकको नामाकरण गरिने, सिक्किमको मन्त्री मण्डलले गऱ्यो निर्णय

गान्तोक, 29 सेप्टेम्बरः सिक्किम सरकारको मन्त्रीमण्डलको बैठकले भारतको स्वातन्त्रता संग्रामी सावित्री देवी (हेलेन लेप्चा) को नाममा दक्षिण सिक्किमको नाम्चीदेखि उनको जन्मस्थल आसाङथाङको साङ्गमू गाउँ जाने बाटोको नाम परिवर्तन गरेर स्वतन्त्रता सेनानी हेलेन लेप्चाको नाममा राख्ने निर्णय़ गरेको छ। मुख्यमन्त्री पवन चामलिङको अध्यक्षतामा बसेको मन्त्री मण्डलको बैठकले यो निर्णय लिएको हो। दक्षिण सिक्किमको साङ्गमू गाउँमा जन्मिएर खरसाङ बसाइ गएका हेलेन लेप्चाको नाम भारतको स्वातन्त्रता सेनानीको रूपमा उच्च सम्मानको साथमा लिइऩे गरिन्छ। उनले बिहार र उत्तर प्रदेशको कोइलाखानीका मजदूरहरूलाई लिएर स्वाधिनता आन्दोलनको निम्ति काम गरेका थिए। गान्धीजीसित घनिष्ठता रहेको र उनलाई सावित्री देवी नाम पनि गान्धीजीले नै दिएका थिए। नेहरू परिवारका सदस्य सरह थिइनँ भने इन्दिरा गान्धीलाई छोरी झै मान्थिन्। उनी नेताजी सुभाषचन्द्र बोसकी नजिक मानिने र खरसाङको नजरबन्दबाट मुक्त गर्ने समयमा  सावित्री देवीले ठूलो भूमिका निर्वाह गरेका थिए।

मुख्यमन्त्री पवन चामलिङको अध्यक्षतामा शनिबार सम्मान भवनमा भएको मन्त्री मण्डलको बैठकले राज्यको उत्तर जिल्लाको जङ्गुलाई पनि ब्राण्ड बनाउने निर्णय लिँदै  यसैगरी सामाजिक न्याय, सशक्तिकरण र कल्याण विभागअन्तर्गत् उत्तर सिक्किमको जङ्गुलाई प्रचलित गराउन, संरक्षण र लेप्चाहरूको आदिम संस्कृतिलाई दीर्घमियादी विकाससँग जोड़्न जङ्गुको ‘ब्राण्डिङ’ गर्ने निर्णय लिएको छ। अबउसो जङ्गुलाई रैथाने लेप्चाहरू मूल वासभूमि भनेर ब्राण्डिङ गरिनेछ।

मन्त्री मण्डलको बैठकले विभिन्न विभागको निम्ति योजनाहरूको निम्ति धनराशी र कार्य योजनालाई पनि अनुमोदन गर्दै पारित गरेको छ।

पर्यटन तथा नागरिक उड्डयन विभागअन्तर्गत् पश्चिम सिक्किमको चर्चित पर्यटन गन्तव्य पेलिङदेखि चेरेजीको मूर्ति स्थापना भइरहेको साङ्गाछोलिङसम्म रोप-वे निर्माणका लागि 108.39 करोड़ रुपियाँ अनुमोदन गरिएको छ। यो रोप-वे निर्माण भएपछि राज्यको चौथो व्यावसायिक रोप-वे हुनेछ। सिक्किम पर्यटन विकास परिषद्लाई 2 करोड़ रुपियाँ सहयोग राशि प्रदान गर्ने पनि आजको मन्त्रीमण्डलको बैठकले अनुमोदन गरेको छ। ग्रामीण प्रबन्धन एवं विकास विभागअन्तर्गत् प्रधानमन्त्री ग्राम सड़क योजनाको चरण-11 र 12-का लागि 621.93 करोड़ रुपियाँलाई अनुमोदन गरिएको छ।

यसैगरी प्रधानमन्त्री ग्राम सड़क योजनाको सड़क खन्दा भएको जमिनको क्षतिपूर्ति गर्न 1334.79 लाख रुपियाँ अनुमोदन बैठकले गरेको छ। आज बसेको मन्त्रीमण्डलको सभाले विशेषगरी राज्यमा सड़क विकासमा विशेष ध्यान दिन विभिन्न क्षेत्रमा बजेटलाई स्वीकृति दिएको छ। रानीपुल-गान्तोक बाइपास रोडको भत्केका भागहरूलाई मरम्मत गर्न 4,41, 28, 000 रुपियाँ अनुमोदन गरेको छ।  च्याखुङ-खानीसेरबुङ सड़क जुन सड़क मझुवा गाउँ हुँदै छोटा साम्दुङसम्म जान्छ, त्यसको बढ़ोत्तरीका जमिन क्षतिपूर्तिका लागि 53,83,282 रुपियाँ अनुमोदन गरेको छ।

पूर्व सिक्किमको मार्चाक-तुम्लाबुङ हुँदै आलेबस्ती, साम्लिकसम्म पुग्ने नयाँ सड़क निर्माणका लागि आजको मन्त्रीमण्डलको सभाले 1, 86, 19, 504 रुपियाँ अनुमोदन गरेको छ। राज्यका विभिन्न सड़कको रखरखाउ र बढ़ोत्तरीका लागि 164.95 करोड़ रुपियाँ पनि अनुमोदन गरेको छ। राज्यका विभिन्न सड़कमा अलकत्रा ओछ्याउन 83, 64,40,000 रुपियाँ अनुमोदन गरेको छ। राज्य सरकारले भवन तथा आवास विभागअन्तर्गत् नाम्चीको जिल्ला अस्पताललाई 100 बेडको क्षमताबाट बढ़ाएर 300 क्षमताको बहुसुविधासम्पन्न अस्पताल बनाउन 35823.47 लाख रुपियाँ अनुमोदन गरेको छ। सोही विभागअन्तर्गत् गान्तोकमा आर्ट ग्यालेरी निर्माणका लागि 3881 लाख रुपियाँ अनुमोदन गरेको छ। गान्तोकमै राज्य अतिथि गृह निर्माणका लागि 8260.45 लाख रुपियाँ अनुमोदन गरेको छ। गान्तोकको निर्माणाधीन ज्ञान मन्दिरलाई विश्वस्तरीय पुस्तकालय बनाउन 3937.50 लाख रुपियाँ अनुमोदन गरेको छ। त्यसरी नै सामाजिक न्याय, सशक्तिकरण, कल्याण विभागअन्तर्गत् मल्लीमा जनजाति समुदायका विद्यार्थीहरूका लागि आवासीय विद्यालय निर्माणका लागि 16 करोड़ रुपियाँ अनुमोदन गरेको छ। सोहीअनुरूप पूर्व सिक्किमको पारखामा जनजाति समुदायका विद्यार्थीहरूका लागि आवासीय विद्यालय निर्माण गर्न 16 करोड़ अनुमोदन गरेको छ।

गेजिङमा ज्येष्ठ सेवा सम्मान केन्द्र (वृद्धाश्रम) निर्माणका लागि 521 लाख रुपियाँ अनुमोदन भएको छ। मानव संसाधन विकास विभागअन्तर्गत् तादोङ उच्चतर माध्यमिक विद्यालयको नयाँ 12 कोठे भवन निर्माणका लागि 97.36 लाख रुपियाँ अनुमोदन गरेको छ। सोही विभागअन्तर्गत् मध्य गेजिङको माध्यमिक विद्यालयको 12 कोठे नयाँ भवन निर्माणका 128.19 लाख रुपियाँ अनुमोदन गरिएको छ। हालै निर्माण गरिएको सिक्किम राज्य विश्वविद्यालय सञ्चालनका लागि 40 लाख रुपियाँ अनुमोदन गरेको छ। पश्चिम सिक्किमको याङ्थाङमा रहेको सरकारी महाविद्यालयका लागि 25.13 करोड़ अनुमोदन गरेको छ।

राज्यका 17,400 व्यक्तिलाई 30 हजार गरी घर मरम्मतीका लागि प्रदान गर्न 52.20 करोड़ रुपियाँ अनुमोदन गरिएको छ। हालै मुख्यमन्त्रीको 32 दिने भ्रमणको क्रममा जनताबाट आएका विभिन्न मागमध्ये 52 समाज घर, 73 क्लब घर, 32 श्मशानघाट र 271 सामुदायिक भवन निर्माणका लागि 10275.10 लाख रुपियाँ अनुमोदन गरेको छ। राज्यका ग्रामीणस्तरका जनतालाई राहत प्रदान गर्न तथा 12020 जना मानिसलाई घर छाउने च्यादरका लागि 34,93,44,006 रुपियाँ अनुमोदन गरेको छ। यसैगरी राज्य सरकारका विभिन्न विभागअन्तर्गत् कुल 87 मागलाई आजको मन्त्रीमण्डल बैठकले अनुमोदन गरेको छ, जसमा शहरी तथा आवास विभाग, गृह विभाग, वाणिज्य तथा उद्योग विभाग तथा अन्य विभागबाट करोड़ौं रुपियाँको विभिन्न योजनालाई स्वीकृति प्रदान गरिएको छ।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया