होर्डिङले छोप्दैछ भानु सालिग : सिलगढीका गोर्खाहरू मौन

सिलगढी, 30 सेप्टेम्बर


सिलगढी तेञ्जिङ नोर्गे बसस्ट्याण्ड छेउ भानुभक्त आचार्यको सालिग छ। त्यही सालिग होर्डिङहरूले छेल्ने नगरनिगमले योजना बनाएको छ। व्यापारीहरूलाई भानुभक्त आचार्यको कुनै अर्थ छैन। व्यापारीहरूलाई कसो गर्दा आफ्नो व्यापार बढाउन सकिन्छ, त्यसैको मात्र मतलब छ। व्यापारीहरूको स्वार्थलाई सिलगढी नगरनिगमले दिइरहेको छ प्रोत्साहन।

भानुभक्त आचार्यको सालिगलाई ओझल पार्ने उद्देश्यले होर्डिङ फ्रेम बनाइएको छ। भानुभक्तलाई छेलेर राखिने होर्डिङबाट व्यापारीहरूले आफ्नो व्यापारको प्रचार गरेर मुनाफा कमाउँला, नगरनिगमलाई त्यसबाट केही राजस्वमा फाइदा होला, तर नेपाली भाषीहरूको महान कवि भानुभक्तलाई भने सबैको दृष्टिबाट छेलेर।

नेपाली साहित्यका आइकन भानुभक्तलाई होर्डिङहरूले छेलेर राख्नुको राजनैतिक अर्थ जे निस्कियोस्, तर सोझो हिसाबले पनि होर्डिङले भानुभक्तलाई छेल्न नगरनिगमले अनुमति दिनु भनेको भानुभक्तलाई बेइज्जत गर्नु नै हो।

दुइचार भानुप्रेमी नेपाली भाषी गोर्खाहरूले खासाकखुसुक गरे पनि यसको विरुद्धमा नगरनिगमलाई भेट्ने आँटसमेत गरेको देखिएन। दुइएक जाति, भाषा प्रेमीहरूले बेइज्जत खेपिरहेका भानुभक्तको सालिगलाई मिडियामा ल्याएका छन्।

उनीहरूको भानुभक्तको यस्तो बेइज्जत नहोस्, र त्यहाँबाट होर्डिङ प्रेम हटाइयोस् भन्ने माग छ। यता उपमेयर रामभजन महतोले ‘उचित व्यवस्था गरिनेछ’ भनेका छन्। उनले ‘हटाउन लगाउँछु’ भनेका छैनन्। उसबेलाका विकास मन्त्री अशोक भट्टाचार्यको बाहुलीबाट अनावरण गरिएको सालिगको सुरक्षाको लागि रेलिङ पनि बनाइएको छ। तर रेलिङबाटै होर्डिङ फ्रेम बनाइएको छ, जहाँ होर्डिङ लाग्दा भानुभक्त भित्र कतै छ भनेर कसैले पनि अनुमान गर्न सक्ने छैनन्।

नेपाली भाषी आदि सर्जकको अवदानलाई जीवित राख्न बनाइएको सालिग, होर्डिङले छेलिनु हो भने सालिगको अर्थ नै के? यद्धपि,न त सिलगढीका सालिग कमिटी यसबारे बोलिरहेको छ न त सिलगडीका बौद्धिक, सचेत गोर्खा नागरिकहरू। उनीहरूको मौनता र नगरनिगमको अनुमतिले भानुको सालिग छोप्ने सम्बन्धमा के कुनै योजनाबद्धता त सङ्केत गरिरहेको छैन?

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया