विज्ञान मेलामा राज्यभरिबाट एसयूएमआई बन्यो प्रथम: स्कूलले जनायो भव्य स्वागत

कालेबुङ, 1 अक्टोबर:  पश्चिम बङ्गाल छात्र युवा विज्ञान मेलामा सम्पूर्ण पश्चिम बङ्गाल राज्यबाट कालेबुङको एसयूएमआई विद्यालय प्रथम बनेको छ। गत 26 देखि 28 सितम्बरसम्म कलकत्ताको नेताजी इण्डोसर स्टेडियममा सम्पन्न भएको विज्ञान मेलामा कालेबुङको एसयूएमआई राज्य टप्पर बनेको हो। राज्य सरकारको युवा सेवा एवं खेल विभागको आयोजना साथै स्कूल शिक्षा, उच्च शिक्षा, विज्ञान साथै प्रद्योगिकी विभाग र पश्चिम बङ्गालको जैव प्रद्योगिकी सरकार, पश्चिम बङ्गाल राज्य काउन्सिल विज्ञान र प्रद्योगिकी, जगदिश बोस् राष्ट्रिय विज्ञान प्रतिभा खोज र विडला ओद्योगिकी र तक्निकीय सङ्ग्राहलयको कलकत्ताको सहयोगमा उक्त राज्य स्तरीय विज्ञान मेला आरम्भ भएको थियो।

बितेको महिना कालेबुङ जिल्ला युवा एवं खेल विभागको आयोजनामा जिल्ला स्तर प्रतियोगितामा प्रथम स्थान ओगटेपछि एसयूएमआई साथै अन्य दुईवटा स्कूल राज्य स्तरीय प्रतियोगिताको निम्ति चयन भएको थियो।

उक्त राज्य स्तर विज्ञान मेलामा राज्यका 23 वटा जिल्लाबाट 69 वटा स्कूलका कूल 2060 वटा मोडल मेलामा राखिएको थियो। जसमा कालेबुङको एसयूएमआईले तयार पारेको भुकम्प प्रतिरोधी लेप्चा घर, जापनिज सेस्मिक आइसोलेसन तकनिकले बनिएको मोडल हाउसले  प्रथम स्थान प्राप्त गरेको हो।

स्कूलका 12 औँ कक्षाका विज्ञान विभागका विद्यार्थी पौल लेप्चा एवं सागर प्रसादको जोडी साथै स्कूलका शिक्षक रामजी प्रसाद, डा. सरोज थापा एवं देवराज तामाङको अथक प्रयासले उक्त मोडल निर्माण भएको थियो। जुन मोडललाई देखेर बङ्गालका ठूला-ठूला वैज्ञानिकहरू प्रभावित बनेका थिए।

उक्त प्रतियोगितामा विजय बनेपछि एसयूएमआईलाई एक लाख रुपियाँ, दुईजना छात्रलाई मोठ 15 हजार रुपियाँ तीनवटा आकर्षक ट्रफी एवं प्रमाण-पत्र प्राप्त भएको छ।

प्रतियोगिता जितेर आज कालेबुङ आइपुगेका विद्यार्थीहरूलाई स्कूलमा भव्य स्वागत जनाइयो। स्कूलका प्राचार्य रेभ. जगत एस राईले खदा लगाएर विज्ञानका तीजना शिक्षक एवं दुईजना विजय विद्यार्थीहरूलाई सम्मान जनाइएको थियो।

अब यी विद्यार्थीहरूले पश्चिम बङ्गाल राज्यलाई प्रतिनिधित्व गर्दै जनवरीमा राष्ट्रियस्तरको प्रतियोगितिमा अङ्शग्रहण गर्नेछन्।

यस अवसरमा स्कूलका प्राचार्य रेभ. जगत राईले भने, ‘एसयूएमआईप्रति ईश्वरको विशेष कृपा छ। स्कूलले लगातार विभिन्न ठाउँहरूमा भएका प्रतियोगिताहरू जितिरहेको छ। यसका साथै स्कूलका रूपक राईले राज्यस्थित ताईक्वाण्डो प्रतियोगितामा हालैमा कास्य पदक जितेको पनि उनले जानकारी गराए।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया