राफ्टिङबाट झरेर महाराष्ट्रका 55 वर्षीय महिलाको मृत्यु: जिल्ला प्रशासनले आवश्यकीय कार्यवाही गर्ने

कालेबुङ, 1 अक्टोबर: टिस्टा रिभर राफ्टिङबाट झरेर अमरावती महाराष्ट्रबाट आएका एकजना पर्यटक कल्पना अशोक राँठीको मृत्यु भएको छ। घटना अनुसार महाराष्ट्रबाट 20 जना दम्पती पर्यटकहरू सिक्किम घुम्न आएका थिए। उनीहरू सिक्किमको पेलिङबाट आज सोझै दार्जीलिङ फर्किरहेका थिए। दार्जीलिङ फर्किने क्रममा उनीहरू टिस्टाको रिभर राफ्टिङको आनन्द उठाउन किर्नेमा झरेका थिए। उक्त समुहमा रहेका पर्यटक राजेन्द्र बिहानी अनुसार 18 जना पर्यटकहरूमध्ये छ-छ जना गरेर  उनीहरू 3 वटा राफ्टिङमा चढेका थिए।

राफ्टिङ किर्नेबाट छुटेपछि अचानक मल्ली नजिक आइपुग्दा एउटा राफ्टिङलाई छालले लागेको थियो जसले गर्दा राफ्टिङमा सवार कल्पना अशोक राँठी नदीमा झर्न पुगिन्। उनले लाइफज्याकेट लगाएकी थिइन् तरैपनि छालले उनलाई करीब 25 मिटर टाडा पुऱ्याइसकेको थियो। त्यससमय उनलाई 10-15 मिनटको अन्तरालमा निकालेर प्राथमिक उपचारका निम्ति मल्ली प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो। त्यसपछि उनलाई कालेबुङ जिल्ला अस्पताल ल्याइयो जहाँ मृत घोषित गरियो। उनको शव पोष्टमर्टमको निम्ति कालेबुङ जिल्ला अस्पताल ल्याइएको छ।

उक्त घटनापछि पर्यटकहरूले रिभर राफ्टिङ गराउनेहरूसित सुरक्षाको कुनै पनि संसाधनहरू नरहेको आरोप लगाएका छन्।अर्कोतिर कालेबुङ जिल्लपाल डा. विश्वनाथ अनुसार 15 जुनदेखि 15 सितम्बरसम्म राफ्टिङ पूर्ण रूपमा बन्द रहेको थियो। त्यसपछि मौसम हरेर मात्र राफ्टिङ चलाउने निर्देश थियो। तर अहिले अनुकूल मौसम नहुँदा पनि राफ्टिङ चलाएको भन्दै यस घटनालाई छानबीन गरेर आवश्यकीय कार्यवाही गर्ने बताएका छन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया