टेकनाथ रिजालः माइण्ड कण्ट्रोलको भूत

रिजालले जहिले पनि, जुनसुकै विषयको चर्चामा यो ‘माइण्ड कन्ट्रोल डिभाइस्’ को कुरो जोडेकै हुन्छन् । आफूले बन्दी जीवनमा पाएको पीडा र अनुभवको व्याख्यालाई समेत गौण बनाएर धेरैजसो उनी यो डिभाइसको प्रामाणिकताबारे अरुका दाबी र पुष्टि खोजिरहेका हुन्छन् । भारतका उम्काले त्यो डिभाइस् छ भनेर लेखिदियो रे…! नेपालका इन्द्रजीत राईले त्यो पक्कै छ भनेर लेखिदिए रे…! उनी यसै भनिरहेका हुन्छन् ! गऱ्यो नै भने पनि के रिजाललाई मात्र भूटान सरकारले त्यो डिभाइस् प्रयोग गऱ्यो ?


सरोकार

बीपी कश्यप


केही साताअघि सूर्योदय टेलिभिजनका सञ्चारकर्मी टिकाराम ‘नेती’द्वारा सञ्चालित अन्तरवार्तामा टेकनाथ रिजालले दिएको मन्तव्यपछि भूटान, भूटानी र भूटानको राजनीति सन्दर्भमा एकखाले तरंग पैदा भएको छ । हुन त रिजालले “नियतवश नभई गल्तीले जिब्रो चिप्लिएको” भन्दै क्षमायाचना पनि गरिसकेका छन् ।

तर, अझै पनि जताततै रिजाल फोबियाले सामाजिक सञ्जालहरु भरिएका छन् । यस्ता कुरा विगतमा पनि अनेकौंपटक भइसकेकै हुन् । यस अन्तरवार्तामा पनि सन् १९९९ मा जेलबाट निस्किएदेखि उनले बारम्बार दोहोऱ्याउँदै तेह्र्याउँदै आएका प्रसंगहरु नै पुनः जोडिएका छन् । यद्यपि, रिजालसँग निकटता नपाएका मानिसहरुका लागि अझै यी नयाँ कुरा लाग्न सक्छन् ।

त्यो अन्तरवार्तामा धेरैजसो कुरा पुरानै गन्थन थिए । ती गन्थनलाई छोडेर भूटानका जेलमा रहेका बन्दीहरुको अवस्थाबारे उनले गरेका नयाँ कुरा सबैले ध्यान दिनुपर्ने सरोकारका छन् । रिजालले भने पनि नभने पनि भूटानका जेलमा रहेका बन्दी, झापामा छुटेका परिवारहरु र भूटानको सेरोफेरोमा रहेका हाम्रा समग्र सन्तान र समूल इतिहासका लागि हाम्रो चिन्तन हुन जरुरी छ; त्यसतर्फ सकेसम्म सबै क्रियाशील हुनुपर्दछ ।

रिजालले भनेकामध्ये अर्को जटिल कुरा के भने, भूटानका मात्र नभएर विश्वभरका नेतृत्वले अध्ययनलाई आफ्नो नित्यकर्मको तालिकामा राख्नुपर्ने कुरो ! उनले गरेको यो कुरो मननयोग्य छ । सरदर अधिकांश भूटानी नेतृत्वले अध्ययन र नवीनतम तक्निकीको अभ्यासगत प्रयोगलाई ध्यान दिएका छैनन् जुन कुरो रिजालले बोलेका मध्ये विवादरहित छ । तर, उनी स्वयं कतिको अध्ययनशील छन् भन्ने प्रश्न पनि यहाँनेर उठ्छ । पहिले त उनी पनि अरुजस्तै थिए, उनको विगत नखोलौं ।

तर, मैले जानेभरि उनी केहीवर्षदेखि ‘माइण्ड कण्ट्रोल डिभाइस्’ को प्रामाणिकता पुष्टि गर्ने सिलसिलामा निक्कै अध्ययनशील बनेका छन् । यहाँ छलफल गर्नैपर्ने रिजालबाट आइरहेको जटील कुरो यति नै हो ‘माइण्ड कण्ट्रोल डिभाइस्’ ।

उनले यो कुरो अन्तरवार्तामा मात्र भनेका होइनन्, ‘निर्वासन’ नामक नेपाली भाषामा प्रकाशित उनको स्मरणात्मक पुस्तक र त्यसैका अंग्रेजी संस्करणझैं लाग्ने ‘टर्चर किलिङ मी सफ्ट्ली’ र ‘फ्रम प्यालेस टु प्रिजन’ पुस्तकमा पनि उनले यही डिभाइसको कुरालाई प्रमुखताका साथ लेखेका (लेखाएका) छन् ।

माइण्ड कन्ट्रोल भनेको दोस्रो विश्वयुद्धपछि पैदा भएको चल्तीको शब्द हो । यो शुरुमा एकखाले यातनाको तरिका थियो । यो युद्धबन्दीहरुमाथि गरिने एउटा अत्याचारी रवैया थियो । कुनै पनि सत्ताले विद्रोही वा उसका विरोधीलाई साम, दाम, दण्ड, भेदको नीति अप्नाएर कमजोर पार्छ भन्ने कुरो सामान्य मान्छेले पनि जान्दछ । यसैभित्र फकाउने, धम्क्याउने,प्रलोभन देखाउने, माया देखाउने, शारीरिक र मानसिक यातना दिने कुराहरु पर्दछन् ।

माइण्ड कण्ट्रोल भनेको भ्रम सिर्जना गर्नु हो । द्विविधा पैदा गर्नु हो । तर PROSTHESIS बाहिरैबाट ल्याप्प टालिने अथवा रिजालले भनेजस्तो दिमागलाई टेपिङ गर्ने प्रविधि अहिलेसम्म अभ्यासमा छैन । भूटानजस्तो १८ औं शताब्दिको ढाँचामा चलेको शासनले आफ्नो विरुद्ध आवाज उठाउनेहरुलाई यातना दिँदा जस्तोसुकै पाशविकता अपनाउन सक्छ ! तैपनि अत्याधुनिक प्रविधिमार्फत मनोविज्ञानमा खेल्ने माइण्ड कन्ट्रोलको उपाय नै अपनायो भन्ने किटानी गर्न सकिँदैन ।

किनभने रिजाल र थिम्पूको कैदमा परेका अरुहरु धेरैले पीडा र रोदन अनि हतासाबाहेक त्यस्तो कुनै खास राजनीतिक योजना र रणनीति दिमागमा बोकेकै थिएनन् जसलाई पत्तो लाउन भूटान सरकारले मनोविज्ञानकै अनुसन्धान गर्नुपरोस् । जेल-नेल, कैद, निर्वासन, राष्ट्रविहीनताको व्यथा आदि खपेर यत्रो तीनदशक नाघीसक्ता आजसम्म त एकले अर्कोलाई अनर्गल अभियोग लगाउने र पोल खोलाखोल गर्ने (रिजाल स्वयंको उदाहरण) हरुले सन् १९९० मा पक्राउ परेताका के नै बाँकी राखे होला र ? पक्राउ परेका सबैले नभए पनि धेरैले एकले अर्कोलाई दोषेर नै जेलमुक्त भएका होइनन् भनेर ठोकुवा गर्ने कोही छ?

 रिजालले पनि आफू जेल परेपछि ककसले के के गरे- आफूलाई केही थाहा नभएको भनेर आन्दोलनको जिम्मा अरुतिर पन्साउँदै कैदमुक्ति पाएको छनक उनले त्यही अन्तरवार्तामा पनि व्यक्त गरेका छन्, उनको पछिल्लो अन्तरवार्ताको त्यो अडियोलाई घोरिएर प्रत्येक वाक्य केलाउने हो भने यो कुरोको भेउ सबैले पाउनेछन् । कुनै राजनीतिक योजना नभएको, रणनीतिविहीन हचुवाभरको आन्दोलनका अगुवाहरुलाई गलाउन भूटान सरकारले माइण्ड कन्ट्रोल जस्तो महंगो प्रविधि नै उपयोग गऱ्योहोला भनेर ठ्याक्कै विश्वास गर्न सजिलो पनि छैन ।

माइण्ड कन्ट्रोल डिभाइसकै कुरा उठिसकेपछि यसबारेमा पनि केही छलफल त गर्नैपर्ने भयो । सन् १९५० को दशकतिर अमेरिकामा एक किसिमको मानसिक आतंक सिर्जना भएको बेला यो शब्दावली आविष्कार भएको थियो । शोभियत संघ र चीनको सहयोगमा उत्तर कोरिया अनि अमेरिकाको सहयोगमा दक्षिण कोरियाबीच भीषण युद्ध चलेको बेला बन्दी बनेका अमेरिकी सैनिकहरुलाई मानसिक यातना दिइन्थ्यो रे ! मारिएका त मारिए । बाँचेकाहरुलाई शारीरिक यातनासहित आजीवन लागू हुनेगरी मानसिक यातनाद्वारा‘हिप्नोटाइज’ गरेर पठाइन्थ्यो ।

त्यतिबेला ‘युद्धबन्दीहरुको दिमागमा घुसेर चिनियाँ कम्युनिष्टहरुले अमेरिकी शैन्य नीतिबारे सबै कुरा चाल पाउँदैछन्’ भन्ने हल्ला चलेको थियो भनेर इतिहासमा उल्लेख छ । यातनाको यो विधिलाई ‘ब्रेन वासिङ’ नाम दिइएको थियो । पछि गएर यो शब्द नै ‘माइण्ड कण्ट्रोल’ को रूपमा व्यापक बनेको विद्वानहरुको मत छ । सन् १९०२ मा जन्मिएर सञ्चारकर्मी, अखबारका सञ्चालक र अझ पछि दोस्रो विश्वयुद्धताका सीआइएका सक्रिय सदस्य बनेका एडवार्ड हण्टरले यो शब्दको प्रथम प्रयोग गरेका थिए ।

चिनियाँहरु ड्रग्स र हिप्नोटिजमको विधिमार्फत अमेरिकीहरुद्वारा नै अमेरिका कब्जा गराउने रणनीतिमा लागेका दाबीसमेत हण्टरले गरेका थिए । तर, टेकनाथ रिजालले भनेजस्तो डिभाइसको अस्तित्व न एडवर्ड हण्टरले न त संसारमा अरु कसैले फेला पारेका छन् । हिप्नोटिजमका विशेषज्ञहरुका अनुसार हिप्नोटाइज भएको व्यक्तिलाई आफू हिप्नोटाइज भएको छु भन्ने विल्कुलै जानकारी हुँदैन । अथवा साधारण अर्थमा जब सम्बन्धित व्यक्तिलाई आफू हिप्नोटाइज भएको थाहा भयो, उसमाथिको हिप्नोटिजम त्यतिबेलै समाप्त भइसकेको हुनेछ । तर टेकनाथ रिजाललाई आफूमाथि ‘माइण्ड कण्ट्रोल डिभाइस’ प्रयोग भएको थाहा पाएर पनि दशकौं पछिसम्म किन त्यो चालू भइरह्यो ? रिजालको ताजा अभिव्यक्तिपश्चात यो पनि अनुसन्धानको विषय बनेको छ ।

हुन त मानिसको स्वास्थ्योपचारको क्षेत्रमा धेरै प्रविधिहरु आविष्कार भएका छन् । विभिन्न रोगहरुको उपचार गराउने उद्देश्यमा धेरैखाले विधिहरु तोकिएका छन् । म्यूजिक ईन् न्यूरल डाइमेन्शन (MiND) भन्ने एकखाले विधि मिचिगनस्थित विश्वविद्यालयले प्रयोगमा ल्याएको छ जसमार्फत मानिसको दिमागमा संगीत र अरु कलात्मक अभिव्यक्तिहरु भर्न सकिन्छ र उसलाई सोही ध्वनीमार्फत प्रयोग कर्ताले चाहे अनुसार अभ्यास गराउन सक्छ भनिन्छ ।

यसरी नै ब्रेन-कम्प्यूटर इन्टरफेस (BCI) मार्फत मानिसहरुको मस्तिष्कको अवस्थाबारे अध्ययन गर्ने अरु थुप्रै प्रविधिहरु पनि छन् जसमध्ये ख्यातिप्राप्त नाम Electroncephalography (EGG) वा EMOTIV भनेर चिन्ने गरिएको छ । इमोटिभ भनेको एउटा उत्पादक कम्पनी हो जसले EGG विधिमा प्रयोग हुने प्राविधिक वस्तुहरुको उत्पादन गर्दछ । यस्ता प्राविधिक अनुसन्धानका सन्दर्भ उठायो भने सातवटा पुस्तकहरु लेखिने छन् । यद्यपि, कुरोको बीट मार्ने गरी प्रसंग बाँध्यो भने यी सबै विधि वा प्रविधिहरु मानिसको स्वास्थ्य परीक्षण र उपचारको उद्देश्यमा मात्र केन्द्रित छन् ।

स्वास्थ्योपचारभन्दा भिन्न उद्देश्यमा यस्ता कुनै पनि इलेक्ट्रोम्याग्नेटिक वेबका प्रविधि प्रयोग गर्न मनाही छ । माइण्ड कन्ट्रोलजस्तो अत्याधुनिक प्रविधिको उपयोग गर्नलाई सन् २००० को हाराहारीतिर बल्ल टेलिभिजन खुल्ला गरिएको जंगलामुलुक भूटानभित्रै त्यस्तो कोही प्रविधि विशेषज्ञ पहिले नै थियो भनेर विश्वास गर्न पनि सकिँदैन अथवा भूटानमा त्यस्तो प्रयोग गर्नलाई बाहिरबाट विशेषज्ञहरु झिकाइएको भनेर कसरी भन्नु; यदि त्यसो गरिएको भए त्यस्तो प्रविधिको प्रयोग स्वास्थ्योपचारभन्दा अरु उद्देश्यमा गर्न मिल्दैन भन्ने अन्तराष्ट्रिय कानूनबारे त्यस्ता प्रविधि विशेषज्ञलाई थाहा नहुने पनि कुरै भएन ।

अतः जति नै पढे पनि, जति नै लेखे पनि रिजालले भनेझैं सोही अनुसारको उद्देश्यप्राप्तिका लागि माइण्ड कन्ट्रोल गरिने भनेर कुनै हरोर मुभीको कथाबाहेक सार्वजनिकरूपमा कुनै पनि संयन्त्रको अस्तित्व अरुतिर भेटिएको छैन । भारतका डा. अरुणकुमार सिंहले रिजालको समर्थनमा यस्तो यातनाको तक्निकीबारे पुस्तक लेखेका छन् । नेपालका इन्द्रजीत राईले पनि मन्तव्यहरु प्रशस्त लेखेका छन् । तर, दुवैले स्वास्थ्योपचारमै प्रयोग गरिने इलेक्ट्रोमेग्नेटिक माइक्रोवेबलाई, त्यसैबाट पैदा हुने धिमा आवाजलाई कता कता माइण्ड कन्ट्रोलको माध्यमको रूपमा संकेत गरेका छन् ।

डा. अरुणकुमार सिंह औषधि विशेषज्ञ चिकित्सक हुन् ! कुनै राजनीतिज्ञ वा युद्धबन्दी होइनन् अथवा कुनै युद्धमा प्रत्यक्ष अनुभव लिएर आएका सैनिक पनि होइनन् । न त इन्द्रजीत राई नै त्यस्तो कुनै युद्धका प्रत्यक्षदर्शी हुन् । रिजालकै भनाइ र दाबीका उद्धरणहरु अनि स्वास्थ्य मनोविज्ञानका कुराबाहेक न अरुणकुमार सिंहले न त राईले नै त्यस्तो कुनै यन्त्रको विद्यमानताबारे ठोस किटान गरेर केही भनेका छन् । उनीहरु दुवैले ‘युद्धइतिहासका पुस्तकहरु पढ्दा पाएको जानकारी’ भनेका छन् ।

रिजालकै पुस्तकमा प्रोफेसर राईले लेखेका छन्,“पीडितले थाहा नै नपाईकन हिप्नोटाइज गरेर उसको शारीरिक, मानसिक नियन्त्रण गर्ने उद्देश्यमा युद्धबन्दीहरुमाथि यस्तो विधि अप्नाएको मैले धेरै पुस्तकहरुमा पढेको थिएँ । आज रिजालकै पुस्तकबाट भूटान सरकारले पनि प्रजातन्त्र चाहने एउटा योद्धामाथि यस्तो अन्याय गरेको थाहा पाएँ ।”

राई र सिंहले रिजालका भनाइहरुलाई पुष्टि दिने कोशिशमा किन यति धेरै बाङ्गा-टिङ्गा कुरा लेखे होलान् (?) ! यो विषय भविष्यका लेखहरुमा छुट्टै च्याप्टर बनेर आउनेछ । तर, यहाँनेर यदि प्रोफेसर राईको भनाइलाई आधार मान्ने हो भने रिजालले आफूलाई माइण्ड कन्ट्रोल डिभाइस लगाइएको कसरी थाहा पाए ? थाहा पाए भने त्यो कहाँनेर, कसरी, कसले लगायो ? कर्णेल भी. नाम्गेले लगायो कि ? पूर्वराजा जिग्मे सिंगेको तत्कालिन एडिसी कर्णेल भी. नाम्गेले नै रिजाल, जोगेन गजमेर र सुशिल पोखरेलहरुलाई काठमाडौंबाट जिम्मा बुझेर थिम्पू लगेको थियो ! इलेक्ट्रोमेग्नेटिक माइक्रोवेब मानिसको स्वास्थ्योपचार भन्दा अरु उद्देश्यमा प्रयोग गर्न वर्जित छ । स्वास्थ्योपचारको उद्देश्यबाहेक युद्ध-अपराधीलाई पनि यस्तो प्रविधिको उपयोग गरिँदैन ।

त्यस्तो सजाय दिने कोही शासक नै भए पनि त्यस्ताहरुलाई हेगको अदालतमा उभ्याइन्छ । यदि भूटान सरकारले त्यो प्रयोग गरेको प्रमाणित भएमा विश्वस्वास्थ्य संगठनमार्फत राष्ट्रसंघमा त्यसविरुद्ध मुद्दा पनि दर्ता हुनसक्छ ! रिजालले ठोसरूपमा यी सबै कुरा प्रमाणित गरुन् ! यदि रिजालले यो कुरा प्रमाणित गर्नेतर्फ सभ्य ढंगमा चाहना राखेमा उनलाई सहयोग गर्न अरु धेरै व्यक्तिहरु तयार हुन सक्छन् । तर, उनले आफू एक्लै सर्वेसर्वा भएको स्वाङ रचेर जिग्मे सिङ्गेकै ‘भाइराजा’ बन्नखोजे उनलाई खसाल्न उनका राजनीतिक विपक्षीहरु नै चाहिन्छ भन्ने छैन । रिजालले दर्शाउने गरेको उद्देश्यगतरुपमा आजसम्म कतै पनि सार्वजनिक नभएको माइण्ड कन्ट्रोल यन्त्रको कुरा त पर छोडौं, रिजाल आफू भूटानी भएको प्रमाण पनि उनी एक्लैले जुटाउन सक्ने छैनन् ।

“दशका सुनो, अपना करो”, यो रिजालकै भनाइ हो । रिजालसितको सहकार्यमा साथ पाएका अनेकौं मान्छेले जानेको कुरा; अनेकौं मान्छेहरु उनलाई भेट्न आउँथे, सल्लाह सुझावहरु दिन्थे । सबैका छेउमा ‘हुन्छ हुन्छ’ भनेर रिजालले पठाइदिन्थे र तिनीहरु गइसकेपछि हात मोल्दै बाहिर निस्किएर हिन्दीको यो उक्ति भन्थे । सबै कुरामा अरुले दिएका सबै सुझाव लिनैपर्छ भन्ने छैन पनि । तर, केही महत्वपूर्ण विषय, समग्र समाजको सरोकार राख्ने, सम्पूर्ण इतिहाससित महत्व राख्ने कुरामा अरुले भनेका पनि सुन्नुपर्छ । परन्तु रिजाललाई कसैले यसो भन्यो भने उनले सो व्यक्तिसितको सम्बन्ध नै त्यागिदिन्थे ।

निर्वासन (रिजालद्वारा प्रकाशित पुस्तक) को खेस्रा-मस्यौदा लेख्ने क्रममा यही भएको थियो । फ्युन्छोलिङस्थित ड्रुक होटलमा रिजाल बस्तादेखि शुरु गरेर रिजाल सिलगढीमा डेरा गरी बस्ता सिक्किमको पाकिम (पाक्ङयोङ) मा प्रजापति साप्कोटाको डेरासम्म पुगेर अम्बिकाप्रसाद दुलाल र भक्त घिमिरेले रिजालको निर्वासनको प्रारम्भिक मस्यौदामा धेरै काम गरे । बीचमा एकदिन सिलगढी झरेर रिजालसित माइण्ड कन्ट्रोल डिभाइसको बारेमा छलफल गरियो र त्यो हटाउन सुझाव पेश गरियो ।

पुस्तकको त्यो भागले गर्दा रिजाल स्वयंको मानसिक सन्तुलन गडबड भएकोमा स्वीकृति र प्रमाणित हुने सम्भावना थियो जसबाट भूटान सरकारले रिजालमाथि लगाएको ‘पागलपन’ को आरोप सिद्ध हुन्थ्यो । भूटान सरकारको आरोप अनुसार ‘मानसिक सन्तुलन गुमाएको एउटा व्यक्तिले शुरु गरेको अभियानमा विवेकबिना साथ दिने’ हामीहरु सबै पागलसरह साबित हुन्थ्यौं; त्यसर्थ भूटानको सरकारलाई साथ दिने मनाशयका अभिव्यक्तिहरु पुस्तकमा नराखियोस् भनेर निक्कै आग्रह गरियो । तर, रिजालले पुस्तकको त्यो भाग हटाउनुको सट्टा अम्बिका दुलाल र भक्त घिमिरेलाई नै तोकिएको कामबाट हटाइदिए ।

त्यसपछि उनले काठमाडौंमा लगेर भरत भुर्तेललाई त्यो पुस्तक प्रकाशनको संयोजन गर्ने जिम्मा लगाएका भन्नेसम्म पत्तो लागेको थियो । पछि निर्वासन नामको रिजालकृत पुस्तक मेरो पनि हात लाग्यो । अम्बिका प्र. दुलाल र मैले हटाउन आग्रह गरेका शब्द, वाक्य, हरफ र अनुच्छेदहरु जस्ताको तस्तै प्रकाशित भएछन् । लाग्छ; जसरी पनि माइण्ड कन्ट्रोल डिभाइसको विद्यमानताबारे पुष्टि गरेरै छाड्नु रिजालको लागि जीवनकै मुख्य लक्ष्य हो ।

रिजालले जहिले पनि, जुनसुकै विषयको चर्चामा यो ‘माइण्ड कन्ट्रोल डिभाइस्’ को कुरो जोडेकै हुन्छन् । आफूले बन्दी जीवनमा पाएको पीडा र अनुभवको व्याख्यालाई समेत गौण बनाएर धेरैजसो उनी यो डिभाइसको प्रामाणिकताबारे अरुका दाबी र पुष्टि खोजिरहेका हुन्छन् । भारतका उम्काले त्यो डिभाइस् छ भनेर लेखिदियो रे…! नेपालका इन्द्रजीत राईले त्यो पक्कै छ भनेर लेखिदिए रे…! उनी यसै भनिरहेका हुन्छन् ! गऱ्यो नै भने पनि के रिजाललाई मात्र भूटान सरकारले त्यो डिभाइस् प्रयोग गऱ्यो ?

 कि उनीसँगै नेपालबाट अपहृत जोगेन गजमेर र सुशिल पोखरेललाई पनि ? डिभाइस छ कि छैन, हुन्छ कि हुँदैन भनेर प्रमाण जुटाउने बल गर्नुभन्दा पनि रिजालले भूटानमा राजनीतिक हिसाबले खास के के भएको थियो भनेर शालीन ढंगमा भन्नु वा लेख्नुपर्छ । किनभने एउटा ‘देशद्रोह’ को मुद्दामा कैदमा परेको व्यक्तिमाथि निर्मम यातना हुनु विश्वका अनेकौं युद्धइतिहासको सन्दर्भमा अति सामान्य कुरा हो । राजनीतिक मुद्दा र योजनाबिना रिजालको रुवाबासी ‘कठैबरा’ भनी माग्नबाहेक कतै पनि काम लाग्दैन !

यसो भनिरहँदा मैले रिजालमाथि भूटानको प्रशासनले सामान्य यातना दियो भनेरहेको छुइनँ । रिजाल र उनीसँग अथवा अघि-पछि जेल परेका सयौं मान्छेले पाशविक यातना भोगेका छन् । माइण्ड कन्ट्रोल त के, भूटानको प्रशासनले यातना दिने तरिका अहिले पनि उत्तरकोरियाको झैं छ । उत्तर कोरियाबाट भागेका एक युवासित गतवर्ष संयोगवश मेरो भेट भएको थियो ।

उनको भनाइअनुसार किम जुङको प्रशासनले त्यहाँका जनतालाई अझै पनि ‘पृथ्वीको उत्पति अहिले भन्दा एकसय पाँचवर्ष अघि भएको हो’ भनेर बुझ्न र भन्न लगाउँछ । भूटान पनि त्योभन्दा कम छैन । सत्ताको खेलमा अनेकौं षडयन्त्रका तानाबाना बुनिन्छ । भूटान भनेको कबिला मुखियागिरीबाट भरखरै शासनपद्धतिहरु विकास गर्दै १८ औं शताब्दितिरको शैलीमा चल्ने राजतान्त्रिक व्यवस्था हो ।

भूटान त्यहाँ जित्नका लागि कूटनीति होइन, हत्याहिंसालाई पनि बढी उपयोग गरिन्छ भन्ने उदाहरणहरु हामीले बारम्बार देखेका छौं, सुनेका र भोगेका छौं । हरेकपटक फेरिएका शासनपद्धतिमा कि त हत्या, कि केही न केही षड्यन्त्रकारी घटना भएकै छन् । भूटानको सरकारले रिजाललगायत हामीहरु सबैलाई देशद्रोहको अभियोग लगाएकै हो ।

अतः रिजाललगायत निर्वासनमा रहेकाहरु सबैलाई भूटानको सरकारले शत्रुको व्यवहार गरेको कुरा जगजाहेर छ । अनेक जालझेल गरेर हरेकको ‘माइण्ड कन्ट्रोल’ गरेकै हो ! अहिले विश्वका आँखा छल्न त्यहाँ प्रजातन्त्र र राष्ट्रिय खुशीयालीको झ्याम्टा बजाइँदैछ । कथित प्रजातन्त्रले देशभित्रका जनताको माइण्ड कन्ट्रोल गरिएको छ भने लोपोन्मुख सांस्कृतिक आधारशीलाको बहानासहित भ्रमपूर्ण राष्ट्रिय खुशीयालीको नाराले विश्वभरिको माइण्ड कन्ट्रोल गरिँदैछ ।

अतः यस सन्दर्भमा रिजालले आफूमात्र ज्वालो वा भुंग्रोमा परेको अनि निर्वासनमा आएका अरु सबैले बाहिर बसेर रमिता हेरेको भन्न मिल्दैन । आफैंले फ्याँकेका शब्दवाणले फर्केर आफैंलाई लाग्ने कुरा रिजालले ठम्याउनुपर्छ । रिजाललाई एउटा एतिहासिक राजनीतिक अवतरण अगुवा नाइकेको हैसियतमा क-कसले पुऱ्याए भनेर मूल्यांकन गर्नै नसक्नु उनको डरलाग्दो कमजोरी हो । उनी पक्राउ परेपश्चात सन् १९९० देखि १९९८ सम्म भूटानी आन्दोलनको एउटा मूल हिस्सा नै रिजालको बिनाशर्त रिहाईको एजेण्डा थियो । सन् १९९९ मा साँच्चै बिनाशर्त रिहाई पाए उनले र धमाधम “जिग्मेको टाउकोमा सुपारी राखेर फुटाउन” थालिहाले !

टेकनाथ रिजाल र माइण्ड कन्ट्रोलकै प्रसंग चलिरहेको बेला एउटा ऐतिहासिक घटनाको स्मरण भयो । सन् १९८९ को नोभेम्बर १६ को दिन थियो । हामी केही ठिटाहरु भोजपुरको दिङ्लामा एउटा साथीको विवाहमा गएर फिर्दै थियौं । साम्ची जिल्लास्थित गोम्टूको सिमेन्ट कारखानामा जागिर गर्ने हामी ठिटाहरु अलिकति विदा पायो कि भ्रमणमा जाने, मोज गर्ने दाउमा हुन्थ्यौं ।

संयोगवश त्यही दिन बिर्तामोडस्थित रिजालको निजी घरबाट उनीलगायत सुशिल पोखरेल र जोगेन गजमेरलाई तत्कालिन् शाही प्रहरीले अपहरण गरी काठमाडौंतिर लाँदै रहेछ । इटहरी नजिकै मैले गाडीभित्र सुशिललाई देखें । तर, दुइवटा गाडीमा क्रसिङ भइरहेकोले बोलचाल हुने कुरै भएन । रिजाल र जोगेन गजमेरलाई त चिनेको पनि थिएन । उनीहरुको अवस्थाबारे ज्ञान हुने झन् कुरै भएन ।

बेलुकी गोम्टुस्थित डेरामा आइपुगेर खानपिन गरिवरि पल्लो कोठाको फुर्बा शेर्पा, मसँगै बस्ने ईश्वरी आचार्य र म अब अर्को ट्रिप कहाँ जानेबारे गफ्फिँदै थियौं । बाहिरबाट कोठाको ढोका कसैले ढक्ढकायो । ईश्वरीले ढोका खोले । आर.बी.पी. का जवानहरु रहेछन् । हामीलाई नजिकैको थानामा लगियो । केही प्रश्न पनि नगरी हामीलाई एउटा गोदाममा थुनियो ।

गोदामको हिराशतभित्र रातभरि छट्पटाइयो, कराइयो, उफ्रिइयो तर, ढोका खोलिएन । बिहान भित्तामा हिर्काउन थालेपछि कसैले ढोका खोल्यो; ओसी जाम्बे रहेछन् । हामीमाथि नेपालमा टेकनाथ रिजालले गरेको गोप्य मिटिङमा भाग लिएर आएको आरोप रहेछ । जाम्बेले जानकारी गरेर फकाउँदै अनेक प्रश्नहरु सोध्नथाले ! मैले त कमसे कम सुशिललाई चिनेको थिएँ । अरु दुइ साथीहरुले तीनजनामा कोही पनि चिनेका थिएनन् । हामीबीच कहिल्यै पनि रिजाल र रिजालको अभियानबारे चर्चा भएकै थिएन । जाम्बेको अपेक्षा अनुसारको उत्तर हामीबाट आउने कुरै भएन ।

त्यसपछि शुरु भयो हामीमाथिको यातना । जिब्रोमा, कानमा करेन्ट पो लाइएन कि, नङ घोचेर अमिलो पो लाइएन कि; हामीलाई अनेक बहाना देखाएर फकाउन पो लाइएन कि, धम्की पो देखाइएन कि सबैथोक भयो । घरी सबै कुरा सत्य सत्य भनेदेखि सरकारले ठूलो जागिर दिने, गाउँमा जमीन धेरै दिइने प्रलोभन देखाइयो भने कहिले आफूलाई मात्र नभएर सपरिवार खोलामा डुबाइदिने, भीरबाट खसालिदिने धम्की दिइन्थ्यो । हातखुट्टा बाँधेर बाघको खोरभित्र हालिदिने भनिन्थ्यो ।

एक दिन ओसी जाम्बेले हामी तिनैजनालाई नजिकैको केराघारीमा लगेर काट्ने भन्यो । ओसी जाम्बे अघि अघि थियो हामी पछिपछि लुरुलुरु पछ्याइरहेका थियौं । अरु पुलिसहरुले हामीलाई बाँधेर डोऱ्याएका थिए । हाम्रो हंशले ठाउँ पनि छोडेको थियो । संयोगवश केराघारीमा पुगेपछि हामीलाई खोलिदिन जाम्बेले आदेश गऱ्यो । अब चारपाउ टेक्न जाम्बेले हामीलाई भन्यो । हामी तीनजना एकार्काको मुख हेराहेर गर्दैथ्यौं । फुर्बाले आँखा कड्काएर भुइँतिर संकेत गऱ्यो । एउटा कोदालो छेउमा थियो ।

कोदालोको सबैभन्दा नजिक म थिएँ । त्यही भएर फुर्बाले मलाई त्यो संकेत गरेको रहेछ भन्ने बुझें । हामी उभिएको अर्कोतिर फर्केर पुलिसहरुलाई शतर्क गराउँदै के भन्दैथ्यो कुन्नि ओसी जाम्बे, घुमाएर कोदालोले एक झप्का मारें । जाम्बे ड्याम्म भुइँमा ढल्यो । त्यति भइसक्ता फुर्बा र ईश्वरी त दौडेर निक्कै पर पुगेका रहेछन् । पुलिसहरुले समातेर पछार्दै ल्याए । मचाहिं भाग्न भ्याउने कुरै भएन । त्यसपछि हामीलाई फेरि बाँधियो र मोचीले जुत्ता बनाउने भैंसीको छाला कुटेझैं कुट्तै थानामा फिर्ता ल्याइयो ।

थुनामा परेको २४ दिन कसो भएको थियो । हामीलाई साम्ची जिल्ला कारागारमा लाने र त्यहाँबाट थिम्पू चलान गरिने बताइएको थियो । त्यसबीचमा हामीलाई सबैभन्दा विश्वास लाग्ने, माया गर्ने मान्छेहरु पनि आएर रिजाल र उनले गर्नलागेको अभियानबारे प्रश्नहरु गरिरहे । “रिजालमात्र नभई धेरै पढेलेखेका दक्षिण भूटानका अरु सरकारी कर्मचारीहरुसमेत मिलेर भूटानलाई एउटा देशको रूपमा रहन नदिने खेल शुरु गरेका भन्दै” हामीलाई त्यस्तो खेलमा नलाग्न उपदेश गरियो । हामी तीनजना ठिटाले रिजाल र रिजालहरुको अभियानबारे खास जानकारी नपाएका कारण हुनसक्छ; सरकारी मान्छेहरुले भनेकै कुरा सही हो लागिरहेको थियो ।

साम्ची जेल लाने दिन नजिकिँदैछ । हामी आत्तिन थालेका छौं । फेरि पेन्देन सिमेण्ट अथोरिटीका अफिसर टासी वाङ्दी आएर हामीलाई डेमोक्रेटिक फ्रिडमको लागि कोशिश गर्नु अपराध होइन, यस बाटोमा राजाको विरोध गर्नैपरे पनि त्यो अधिकार हरेक नागरिकमा छ भन्दै उक्साए । टासी वाङ्दी भन्दै थिए, “डेमोक्रेसीको लागि गरिने कुनै पनि काम लुकेर गर्नु पर्दैन तर, रिजालहरुले लुकेर जाली काम गर्दैछ।” उनको यो वाक्यपछि भने हामीलाई डेमोक्रेसीको कुरा गर्दै उक्साएर बयान लिनलाई दबाउ बढाइएको पो रहेछ भन्ने बुझियो ।

साम्ची जेल लान अब दुइदिनमात्र बाँकी थियो । हामी थानाको गोदाममै छौं । मन वैरागिएको बेला साथी साथी पनि बात गर्दैनथ्यौं । आफ्नै साथीको अनुहार देख्ता पनि दिक्क लाग्ने । एउटासले केही बोल्यो कि रिस उठ्ने ! कहिलेकाहीं हामीबीच झगडा शुरु हुन्थ्यो । हाम्रो छेउको भित्तामा केही दिनदेखि पीडाभरि फ्लिमी आवाजहरु, शोकधूनहरु सुनिन्थ्यो । त्यो सुनेर मन झन् झन् उद्वेलित हुन्थ्यो । फुर्बाले ‘भगवानको भरोसा गर्नुपर्छ’ भन्दै हामी दुइलाई शान्तवना दिन खोज्थ्यो ।

अब साम्ची लगिने दिन भोलि नै थियो । बेलुकीपख रने सुब्बाले हामीलाई भगाए । हामी युद्ध जितेको सिपाहीझैं खुशी भएर भारत छिऱ्यौं । रने सुब्बा भरखरै चुवाबारीको तालिम सिध्याएर पुलिसको नयाँ जागिर खान आएका भाइ ! करिब एकवर्षपछि पगली भूटानमा पुलिस विभागकै डासोहरुले रनेको निर्मम हत्या गराए र थिम्पूबाट रेडियो बीबीएसमा‘देशविरोधी ङोलोपहरुद्वारा सुरक्षाकर्मीको हत्या’ शीर्षकमा समाचार पनि प्रसारण गराए । मेरो जीवनमा रने सुब्बा मन्दिरको मूर्तिभन्दा ठूलो साक्षात देउता हुन् । त्यतिबेलाकै यातनाको कारण ईश्वरी आचार्य केही वर्षमै बिते । फुर्बा अहिले कहाँ छ, मलाई थाहा छैन । म घाइते बाँचिरहेकै छु । शरणार्थी जीवनभरि फुर्बासित भेट भएन । आजैसम्म पनि उसबारेमा कुनै जानकारी फेला परेको छैन ।

म अहिले रिजाललाई सम्झिँदै आफैंलाई प्रश्न सोद्धैछु; के त्यतिबेला फुर्बा, ईश्वरी र मलाई पनि माइण्ड कन्ट्रोल डिभाइस लगाइएको थियो ?

माइण्ड कन्ट्रोलको सन्दर्भमा रिजालले भनेजस्तो डिभाइसको उपयोगिता सिद्ध भएको छैन भनेर माथि नै धेरैपटक भनिएको छ । यस्तो कुनै यन्त्र नभए पनि युद्धइतिहासका विशेषज्ञहरुले विशेष किसिमको यातनालाई माइण्ड कन्ट्रोल प्रविधि मानेका छन् । यस विषयका सर्वज्ञहरुको मतमा शत्रु भनेर पहिचान नभएको, आफू निकट भनेर विश्वास गरिएको हितैषी वा आफन्त व्यक्ति वा वस्तुको प्रयोगबाट गोप्य तौरमा गरिने यातनालाई ‘माइण्ड कन्ट्रोलको विधि’ भनिन्छ जुन यातनालाई “पीडितले शुरुमा यातना हो भनेर बुझ्नै सक्तैन ।

र, यातनाद्वारा शिथिल भइसकेपछि यातना दिने सो व्यक्ति वा वस्तुलाई पीडितले चिन्न पनि सक्तैन !” यो भनाइमा आधारित रहने हो भने त्यसो भए के रिजालले नेपालबाट अपहृत भएर थिम्पू पुगुञ्जेल आफ्नो विरोधी प्रतिद्वन्दी र सम्भावित यातनाहरुबारे आँकलन गरेका थिएनन् ? थिम्पूको प्रशासनले उनलाई सन् १९८८ मै पहिलोपटक जेल हालेर‘देश र राजाविरुद्ध’ कुनै कदम नचाल्ने शर्तनामा गरीकन छोडेको थियो ।

कि थिम्पूको प्रशासनले राष्ट्रिय सल्लाहकारकै काब्नी भिराएर सत्कारको भोज खुवाउने आशा गरिरहेका थिए रिजालले नेपालबाट पक्राउ परेर थिम्पू लगिँदासम्म ? आफू भूटानबाट असुरक्षित महसूस गरी भाग्नु, भारतमा पनि सुरक्षाको अनुभूति नपाएर नेपाल पस्नु र त्यहाँबाट अनि अपहृत भएर थिम्पू लगिएका रिजालले भूटानको प्रशासनमा भएका हरेक अधिकारीहरुलाई आफ्नो प्रतिद्वन्दी, विपक्षी, प्रतिपक्षी वा युद्धको भाषामा शत्रु हुन् भनेर नबुझ्नु, पहिले आफू मन्त्री तहको सरकारी मान्छे हुँदा आफूभन्दा तलका कर्मचारीहरुमाथि लाद्ने गरेको धक्कु जेल परेपछि पनि डासोकै रवाफमा लाद्न खोजिरहनु अनि उनको अपेक्षाविपरीत जेलप्रशासनले उनीमाथि सामान्य कैदीकै व्यवहार गर्नु, कुटीकुटी बयान लिनथालेपछि स्वतःस्फूर्त रिजालको ‘माइण्ड कन्ट्रोल’ हुनुमा के तुक छ हँ??

घरी घरी “म एम्नेष्टीको आस्थाको बन्दी” भनिरहन्छन् रिजाल । म आस्थाको बन्दी भनेर विज्ञापन गर्दै रिजालले जताततै निर्वासित वा पुनर्वासितहरु भूटानी नै होइनन् भन्नेजस्ता अनर्गल कुरा गर्नु अपराध हो । पुनर्वासितहरुले मलाई त्यागेर गए, मलाई सहयोग गरेनन्, म अलपत्र भएँ भन्दै रुवावासी गर्ने एकातिर अनि अर्कोतिर आफू पक्का भूटानी र भूटानीहरुको दिग्दर्शक दाबी गर्ने ? रिजालको यो वाक्यांशमार्फत थिम्पूको निरंकुश दरवार बोलेको महसूस गरिएको छ ।

शरणार्थीहरु शिविरमा दशकौं पीडा भोगेर किन बसेका थिए भने एकदिन देश फिर्न पाइएला ! तर, ‘सर्वोच्च नेतृत्वलाई नै माइण्ड कन्ट्रोल डिभाइसद्वारा सञ्चालित छ, आन्दोलनमा अगुवाइ गर्ने नयाँ नेतृत्वको उत्तराधिकारी कोही छँदैछैन, रिजाल इतरका नेताहरु सबै भ्रष्टाचारी, फटाहा छन्’, भनेर एउटा सर्वमान्य ठानिएको व्यक्तित्वले सार्वजनिक पुष्टि गर्दै हिँड्छ भने कुन भरोसाले शरणार्थीहरु त्यो मुर्दा राजनीतिको लाश रुँगेर बसुन् ?

अन्तरवार्तामा रिजालले स्व.रनबहादुर बस्नेतलाई आफ्नो आस्थापुरुषको रूपमा मान्ने गरेको बताएका थिए । के रिजाललाई थाहा छ, बस्नेतले ‘शरणार्थीहरुलाई भूटानको राजनीतिक मुद्दामा होस्टेज बनाएर राखिनु हुँदैन’ भनेर हजारचोटि भनेका थिए ! देशबाट बिहर भइसकेपछि आखिर संसारको कुनै ठाउँमा बसे पनि तात्विक फरक पर्नेवाला छैन । यही बुझेर शरणार्थीहरु पुनर्वाशमा गए । अहिले आएर त्यही ‘माइण्ड कन्ट्रोलद्वारा सञ्चालित’ मान्छे भनिरहेको छ,“दे आर नट भूटनिज, दे आर नन नेशनल्स ! पुनर्वाशमा गएकाहरुलाई म प्रतिनिधित्व गर्दै गर्दिनँ !” यो थिम्पूको दरवार नबोलेर को बोलेको हो त ?

हामीलाई पनि थाहा छ, पुनर्वाशित मुलुकहरुमा विधिपूर्वक नागरिकता लिएपछि ‘ह्वी आर नो मोर भूटनिज !’ तर, यो कानूनको भाषा हो र रिजाल वकील होइनन् भन्ने पनि सबैलाई थाहा छ । यो कुरा बोलेर रिजालले कानूनको व्याख्याकार बन्ने लक्ष्य राखेका हुन् कि राजनीतिक (उनकै भाषामा मानवाधिकार) नेतृत्वको अभिलाषा राखेका हुन् भन्ने प्रष्ट भएको छैन ।

एउटा देशको बौद्धिक अग्रदस्ता र समग्र देशवासी जनताले एकमत भएर अभियान थाल्यो भने राजनीतिमा जस्तासुकै परिवर्तन वा निर्णयहरु सम्भव हुन्छन् भन्ने नबुझी थिम्पूले बनाएको पुरानै कानूनको पुनर्व्याख्या गर्दै हामीलाई गैर-भूटानी हुन् भनेर आफ्नै अनुहारमा मोसो पोत्नु रिजालको कुन बुद्धिमता हो ? आफूले दाबी गरेजस्तै सबै श्रेयहरुको मालिक बन्ने भए रिजालले वकीलको भाषा होइन, नेताको भाषा बोल्नु पर्छ!

यहाँनेर आएर मलाई के लागिरहेको छ अहिले भने माइण्ड कन्ट्रोल त रिजालको होइन, रिजालले अरुको माइण्ड कन्ट्रोल गर्ने ट्याक्टिश पो खेल्दैछन् कि! नत्र यसरी माइण्ड कन्ट्रोलको रोइलो मच्चाएर अरु विषयलाई लथालिंग पार्नु हुँदैन’थ्यो । माइण्ड कन्ट्रोलमा परेको छु भन्दै जतासुकै वान्ता गरी हिँड्न मिल्छ ? हुनसक्छ भूटानको दरबार प्रशासनको हात लागेको कैदीविरुद्ध अनेक मानसिक यातनाहरु उपयोग गरियो होला । फकाइयो होला, धम्क्याइयो होला । झूट बोलेर फँसाउन खोजियो होला । तर, त्यसभित्र रिजाल स्टायलको ‘माइण्ड कन्ट्रोल डिभाइस्’ को संकेत कतै पनि पाइँदैन !

माइण्ड कन्ट्रोलको भूत निर्माण गरेर रिजाल अरुको माइण्ड कन्ट्रोल गर्न पो लागिरहेका छन् कि भन्ने शंका अहिले पछिल्लो उनको मनतव्यले पैदा गरिदिएको छ । यदि त्यस्तो चालबाजी होइन र रिजालको सोझो कुरो गराइ हो भने दम्भभरि भावावेशमा अरुका योगदानको अवमूल्यन गराउने भाषा बोलेर रिजालले अब यश कमाउन सक्तैनन् बरु, आफ्ना केही ऐतिहासिक योगदानहरुमा पनि ढुँडी लगाउने छन् । उनले गरेको इतिहासका योगदानको संरक्षण गर्नलाई मात्र आज रिजाललाई सम्मानित तहमा गनिएको हो । नयाँ परिवेशमा हामीलाई प्रतिनिधित्व गर्दैनन् (गर्न सक्तैनन् ) भन्ने कुरा पुनर्वाशमा गएकाले मात्र होइन, अहिलेसम्म शिविरमा रहेकाहरुले पनि राम्ररी नै बुझेका छन्। खै रिजालले यति कुरा बुझेको ?

निर्दोष नागरिकहरुलाई कुनै पनि देशका सरकारले नागरिक हक-अधिकारबाट वञ्चित राखेको अवस्थामा न्यायको लागि वकालत गर्दा बन्दी बनाइयो भने सम्बन्धित न्यायको याचकलाई एम्नेष्टीले ‘आस्थाको बन्दी’ भन्ने उपाधि दिन्छ । एम्नेष्टी इन्टरनेशनलद्वारा आस्थाका बन्दी घोषित रिजालमात्र होइनन्, विश्वनाथ क्षेत्री, भक्ति भण्डारी, जोगेन गज्मेर, सुशिल पोखरेल, रतन गजमेर आदि पनि हुन् ! के यी व्यक्तिहरु पनि रिजालद्वारा परिभाषित माइण्ड कन्ट्रोल डिभाइस् बोकेर हिँडिरहेका छन् ?

मैले यहाँ बताएका नामहरु रिजालको दाबीबारे अनुसन्धान गर्न नसक्ने मान्छे हुन्? के यी मान्छेहरु रिजालभन्दा कम अध्ययन गर्ने वा कम शिक्षा र ज्ञान भएका व्यक्ति हुन् ? रिजालको दाबीमा पैदा भएको माइण्ड कन्ट्रोल डिभाइसको सन्दर्भ के हो भनेर हामी सबैले खोज-अनुसन्धान गर्नुपर्छ कि पर्दैन? रिजालले भनेजस्तो माइण्ड कन्ट्रोल डिभाइस नै थियो भने संसारभरिका सबैजसो देशहरुले अरबौं, खरबौं बजेट खर्च गरेर सुरक्षा संयन्त्रहरु किन राख्नुपर्थ्यो ?

संसारभरिका सूचना संकलन गर्नलाई लाखौं तलब भत्ता दिएर गुप्तचरहरु नियुक्ति किन गर्नुपर्थ्यो?आफूले चाहेको ठाउँमा वा व्यक्तिमा ‘कन्ट्रोल डिभाइस’ जडान गरिदिए पुग्ने थिएन र !! अथवा रिजालकै भाषामा सबैले बोल्ने हो भने, भूटानको सारा आन्दोलन नै ‘माइण्ड कन्ट्रोल’ मार्फत परिचालित थियो । उहिले महाशुर क्षेत्रीलाई छालाको धोक्रोमा हालेर ज्यूँदै सुनकोशमा हालेर जनताको माइण्ड कन्ट्रोल गरियो । त्यही माइण्ड कन्ट्रोलका कारण महाशुर नेतृत्वको आन्दोलन शिथिल भयो ।

त्यसपछि डिबी गुरुङलाई आजीवन तलबभत्ता दिएर माइण्ड कन्ट्रोल गरियो । ताजा परिस्थितिमा सन् १९९० को आन्दोलन पनि माइण्ड कन्ट्रोलद्वारा नै परिचालित थियो । अव्यवस्थित, अनियन्त्रित र नेतृत्वविहीन जुलूसबाट विस्फोट भएको त्यो त्रासदीमा सबै भुटिएका थिए, सबैको माइण्ड कन्ट्रोल भएको थियो ।‘सिरुपाते खुकुरीले छ इञ्च घटाउने’ शैलीको माइण्ड कन्ट्रोल थियो दक्षिणतिर भने उत्तरतिर ‘ल्होत्साम्पाहरुले देश खोसेर कब्जा गर्ने, उनीहरुकै छुट्टै राजा बनाउने’ माइण्ड कन्ट्रोल गरिएको थियो ।

यी सब कुरा जेसुकै हुन् तर, अबको ताजा परिस्थितिमा रिजालले रुञ्चे र पितुर्के कुरा गरेर पुग्दैन । उनी आफैंले दाबी गरेजस्तो नेतृत्वको हकदार बन्ने अझै चाहना छ भने रिजालले ठोस, तार्किक र रणनीतिक कुरा गर्नुपर्छ । यदि यस्तै भावावेशका अतिरञ्जित कुरा गरिरहने, राम्रो भएजतिको श्रेय लिने, नराम्रो भएको दोष अरुको टाउकोमा थुपार्ने,पुनर्वाशितहरु गैर-भूटानी, अराष्ट्रियतत्वहरु हुन् भन्नेजस्ता वाहियात बखान नै गरिरहने हो भने रिजालले भूटानको सरकार वा राजासित भविष्यमा छलफल गर्ने कल्पना त नगरौं । बरु उनले विगतमा कमाएको यश र भूटानी आन्दोलनको सम्पूर्ण इतिहासलाई खरानी बनाउने छन्, अन्यायी शासनका विरुद्ध उर्लिएको न्यायको मागलाई पनि उनले अरण्यरोदन साबित गरिदिनेछन् ।

• पेन्सिल्भिन्या, अमेरिका


सौजन्यः  भुटानिज लिटरेचर डट कम

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares