दार्जीलिङका नेताहरूले दसपन्ध्र हजार मानिसलाई लिएर राजनीति गर्न छोड्नुहोस्, राजनीति नै गर्नुहुन्छ भने डेढ करोड गोर्खाहरूलाई लिएर गर्नुहोस्-प्रेम तामाङ

संवाद


असम राज्यमा गोर्खाहरूलाई एकिकृत गर्ने र गोर्खाहरूको समस्याको निम्ति प्रभावकारीरूपले लड्दै आइरहेको आग्सुका अध्यक्ष प्रेम तामाङसित खबरम्यागजिनले दार्जीलिङबारे केही जिज्ञासाहरू राखेको थियो। उनले असमबाट दार्जीलिङतिर फर्किएर हेर्दा देखिएका केही महत्वपूर्ण कुराहरू साझा गरे। जनता र शक्तिलाई खण्डित गर्ने दार्जीलिङका दलहरूको आनाबानी, नेतृत्वहरूको सानासाना स्वार्थको कारण आन्दोलनले पाएको असफलता र जनताले गमाउँदै गइरहेको स्वाभिमानबारे तामाङले खुलेर बोले। उनीसित भएको त्यही कुराकानीको सम्पादित अंश यहाँ प्रकाशित गरेका छौं-सम्पादक


असम सरकारमार्फत गृहमन्त्री, प्रधानमन्त्री वा भारत सरकारलाई दार्जीलिङको स्थितिबारे ध्यानाकर्षण गराउने छौं। सिक्किमले पनि यसरी नै काम गरोस्। त्यहाँ पनि गोर्खा मुख्यमन्त्री छन्, सिक्किमको यसबारे सबैभन्दा ठूलो भूमिका हुनुपर्छ। देहरादुन वा अरू राज्यमा पनि यसै र्न सकिन्छ। बङ्गाल सरकारले दार्जीलिङका गोर्खाहरूमाथि गरेको थिचोमिचोबारे भारतभरि आवाज उठाउन सकिन्छ। हामीले बाहिरबाट जति नै गरेपनि जबसम्म दार्जीलिङका पार्टी इमान्दार नबनेसम्म, सर्वभारतीय स्तरमा आन्दोलन गर्ने योजना नबनाएसम्म, त्यहाँका गोर्खाहरूले गोर्खा स्वाभिमान नजगाएसम्म केही पनि हुँदैन। माटोको माया नगरेसम्म केही हुँदैन।


 दार्जीलिङको मुद्दालाई कसरी हेर्नुहुन्छ?

गोर्खाल्याण्ड आन्दोलन दार्जीलिङ केन्द्रित भएकैले सफल बन्न नसकेको हो भन्ने लाग्छ। दार्जीलिङवासीले नचाहे पनि गर्खाल्याण्डको लागि सारा भारतका गोर्खाहरूले समर्थन गर्दै, सहयोग गर्दै आइरहेका छन्। बारम्बार देख्दै आइरहेका छौं दार्जीलिङका गोर्खाल्याण्डलाई नेतृत्व गर्ने दलहरूले कहिले पनि भारतीयस्तरका गोर्खाहरूलाई समेटेर आन्दोलन गरेनन्।

यद्धपि, हामी चाहान्छौं, यो आन्दोलन दार्जीलिङ केन्द्रित नहोस्। किन भने यो दार्जीलिङको मात्र मुद्दा होइन यो मुद्दा भारतभरिका गोर्खाहरूको राष्ट्रीय चिन्हारी र सुरक्षासित जोडिएको मुद्दा हो। तर आन्दोलनमा दार्जीलिङ बाहिरका गोर्खाहरूलाई समेटिएन। यसै कारण आन्दोलनहरू बारम्बार असफल बनेको हो।

यतिहुँदाहुँदै पनि जहिल्यै पनि गोर्खाल्याण्डको आन्दोलनमा अखिल आसम गोर्खा छात्र सङ्घलगायत अन्य युवाहरूले सहयोग गर्दै आइरहेको छ। जबसम्म आन्दोलनलाई सर्वभारतीय गोर्खाहरूको आन्दोलन बनाउँदैन, छुट्टै राज्य गोर्खाल्याण्ड हुँदैन भन्ने हामीलाई लागेको छ।

वास्तवमा नै आन्दोलन असफल हुनुको अरू कारणहरू के के हो?

यसको उत्तर दिनअघि म असमको सन्दर्भ जोड्न चाहान्छु। असममा गोर्खाहरू एकबद्ध छन्। उद्देश्य एउटै भइसकेपछि त्यो उद्देश्यका लागि राजनैतिक, अराजनैतिक सबै सङ्गठनहरू एकबद्ध हुन्छौं। तर दार्जीलिङमा यस्तो छैन।

उद्देश्य त एउटै छ, तर त्यसको लागि सबै एकबद्ध चाहीँ छैनन्। सारा गोर्खाहरूको चिन्हारीको सवाललाई अघि राखेर आन्दोलन गर्नेहरूले आन्दोलनमा सारा गोर्खाहरूलाई जोड्नैपर्छ। एउटा एउटा दलमा खण्डित हुने वित्तिकै आन्दोलन असफल बनाउने र मुद्दा दबाउने खेल भइहाल्छ। यति कुरा नबुझेकैले पनि जहिल्यै पनि आन्दोलन असफल बनेको हो।

असममा विभिन्न पार्टीका सांसद, एमएलएहरू छन्, संस्थाहरू छन्। जतिखेर जातिलाई सङ्कट पार्ने समस्या आउँछ, सबै पार्टी, पद भुलेर जातिको निम्ति एकबद्ध बन्छन्। जाति छ भने मात्र सबै कुरा बाँच्छ। असमका गोर्खाहरूले यति बुझेका छन्, दार्जीलिङका गोर्खाहरूले त्यही कुरा बुझेका छैनन् कि जस्तो लाग्छ।

15 लाख जनता छ, पार्टी 25 वटा बन्यो भने मान्दा हुन्छ, सारा जनताको मुद्दा बोकेर उ राजनैतिक स्वार्थको लागि अघि बढ्दैछ। जातिको स्वार्थ बोकेर होइन। जातिको मुद्दा बोकेर पार्टी बचाउन र पार्टी खोलेर स्वार्थ लुट्ने परम्परा नहटेसम्म छुट्टै राज्यको मुद्दाले पार पाउने छैन।

दार्जीलिङका जनता इमान्दार छन्, उनीहरू आआफ्नै दलमा होलान् तर मुद्दाको लागि सबै एकबद्ध छन्। तर दल र नेताहरूले जनताको यही एकबद्धतालाई पनि बुझ्न, देख्न सकेको छजस्तो लागेको छैन।

दार्जीलिङका नेतृत्वलाई के भन्न चाहानुहुन्छ?

मुद्दाको नाममा किनबेच चलिरहको छजस्तो यताबाट हेर्दा हामीले देख्दै आइरहेका छौं। यदि सारा गोर्खाको सपना पूरा गर्न राजनीति गर्दै हो भने इमान्दारसित र एकबद्ध भएर गर्नुहोस्। तपाईँहरूले इमान्दार भएर एकबद्धरूपले भारतका सारा गोर्खाहरूलाई समेटेर आन्दोलन गर्नुहोस्। हामी सबैप्रकारको समर्थन र सहयोग गर्नेछौं।

तर व्यवहारिकरूपमा नै यसो गरिनुपर्छ। फाइदा लुट्नलाई होइन। किन भने गोर्खाल्याण्ड दार्जीलिङका केही नेताहरूको मात्र मुद्दा होइन, यो सारा भारतका गोर्खाहरूको मुद्दा हो। तपाईँहरू खण्डित बन्नु भो भने मुद्दा र जातिलाई हानी हुन्छ। जाति र मुद्दालाई हानी गरेर राजनीति गर्नु भो भने भारतभरिका गोर्खाहरूले तपाईँहरूलाई राम्रो नजरले हेर्ने छैनन्।

अहिलेसम्म हामीले देख्दैछौं, को ममता व्यानर्जीको प्यारो बन्ने, को नजिक बन्ने र फाइदा उठाउने। यसैको होडबाजीमा पहाडका दलहरू लागिरहेका छन्। हामीले कुनै पनि पार्टी हेरेर समर्थन सहयोग गरेका होइनौं। जाति र मुद्दा हेरेर गएका हौं। दार्जीलिङमा राज्य हुँदा राज्यबाट पाउनुपर्ने सुविधा दार्जीलिङकाले नै पाउँछन्। हामीले मतदान दिने ठाउँ गोर्खाल्याण्ड होइन। हाम्रो लागि त गोर्खाहरूको राष्ट्रीय चिन्हारी सुनिश्चित हुने राज्य बनिन्छ। हामी विभिन्न राज्यहरूमा छौं, हाम्रो राज्य त्यही नै हो। तर गोर्खाहरूलाई पर्दा, जातिलाई साह्रोगाह्रो पर्दा देखाउने राज्य गोर्खाल्याण्ड नै हुन्छ।

दार्जीलिङे नेतृत्वको चरित्र कस्तो छ?

पार्टी हामीले अनेकौं देख्यौं। गोर्खा जनमुक्ति मोर्चाले आन्दोलन गरिरहेकै थियो। तर जिटिए थापेर आन्दोलनलाई ठप्प गरियो। हामीले देख्दा आजसम्म पनि विमल गुरुङ दार्जीलिङको लागि ठूलो शक्ति हुन्। राज्य सरकार र केन्द्र सरकार हल्लिन्छ भने विमल गुरुङकै कारण हल्लिन्छ। उनलाई सबैले रणनीति प्रदान गर्नुपर्ने हो। विमल गुरुङलाई भारतभरिका गोर्खाहरूले समर्थन सहयोग गरिरहेकै छन्। तर त्यहाँ नै राज्य माग्ने स्थितिसमेत बनेन। आफ्नो स्वार्थ पुरा गर्न नेतृत्वले जुन चरित्र देखायो, यो बढो दुर्भाग्यजनक कुरा हो।

नेतृत्वको यस्तै खाले स्वार्थको राजनीतिको कारण दार्जीलिङ बाहिरका सारा गोर्खाहरूले दार्जीलिङका पार्टी र नेताहरूलाई विश्वास गरेर हेर्न सक्ने स्थिति छैन। यद्धपि मुद्दा बोक्ने कुनै एकजना दह्रो नेता चाहिन्छ नै। असमबाट गएर नेता बनिने रहर कसैलाई छैन। त्यहीँ दह्रो नेता आउनु पर्छ।

नेतृत्व कस्तो हुनुपर्छ?

गाउँमा धेरै प्रवुद्ध, ज्ञानी मानिसहरू हुन्छन्। गाउँको विकासको लागि कसलाई मुखिया बनाउने हो भन्ने कुराको चुनाउ राम्रोसित हुनुपर्छ। पढेको होस्, नपढको होस् तर त्यस्ता व्यक्ति जो सँधै गाउँको सुरक्षा र विकासको हितमा काम गर्न सक्ने मानिस छान्नुपर्छ।

आफ्नो सुरक्षा र हितमा काम गर्ने छान्नु हुँदैन। अखिल असम गोर्खा छात्र सङ्घको 23 वटा जिल्लामा 23 जना नै अध्यक्ष छन्। सबैले एकजनालाई मुख्य दायित्व दिन्छन्। अनुशाषण र आचारसंहिताले सबैलाई बाँधेका छन्।

हामीकुनै प्रलोभनमा पर्दैनौं। जातिको हितमा काम गर्छौं। सङ्गठित छौं। असम सरकार होस् वा भारत सरकार यहाँका गोर्खाहरूलाई केही गर्न अघि दसपल्ट सोच्छ। तर दार्जीलिङमा त्यस्तो छैन। दार्जीलिङका नेताहरूले दसपन्ध्र हजार मानिसलाई लिएर राजनीति गर्न छोड्नुहोस्। राजनीति नै गर्नुहुन्छ भने डेढ करोड गोर्खाहरूलाई लिएर गर्नुहोस्।

तपाईँहरूले यस्तो आन्दोलन गर्नु भयो भने भारत र भारतबाहिरका गोर्खाहरूले सबै प्रकारको सहयोग, समर्थन गर्नेछन्। हाम्रो अनुरोध छ, खण्डित भएर होइन सामुहिक भएर आन्दोलन गर्नुहोस्। राज्य भएपछि कतिवटा दल खोल्नुहुन्छ खोल्नुहोस्, मन्त्री पदको लागि चुनाउ लड्नुहोस् तर राज्य बनाउन त सबै सङ्गठित हुनै पर्छ।

दार्जीलिङमा अहिले त गोर्खाल्याण्ड गर्नै माहौल छैन, यसलाई कसरी बुझ्नुहुन्छ?

भारतको धेरै ठाउँमा गणतान्त्रिक माहौल छैन। दार्जीलिङको सन्दर्भमा भन्नुपर्दा दार्जीलिङमा गणतान्त्रिक माहौल फर्काउने काम जनताकै हो। जनता सचेत हुनुपर्छ। सानासाना स्वार्थको लागि गणतन्त्रलाई मिच्न दिनु हुँदैन। दार्जीलिङका गोर्खाहरूमा स्वाभिमान हुनुपर्छ। गोर्खा हुँ भन्ने स्वाभिमान। गोर्खा हुँ, यो भूमि मेरो हो भन्ने भावना हुनुपर्छ।

इतिहासले असम गोर्खाहरूको भूमि होइन भन्छ, तरै पनि 25 लाख गोर्खाले यो भूमिलाई आफ्नो मातृभूमि मान्छ। इतिहासले दार्जीलिङलाई गोर्खाहरूको भूमि मान्छ। यो भूमि मेरो हो भन्ने स्वाभिमान दार्जीलिङका जनतामा मरेको छ, त्यो जाग्नुपर्छ।

पहाडको गणतन्त्र पहाडले नै फर्काउन सक्छ। बाहिरका गएर त्यहाँ बोल्न सकिन्न। हामी सोझै सहयोग गर्न सक्दैनौं तर दार्जीलिङले भन्यो भने, आह्वान गऱ्यो भने असम सरकारलाई लेख्न सक्छौं।

आफ्नो जन्मसिद्ध अधिकारको दाबीसमेत गर्न दार्जीलिङको गोर्खाहरूले पाइरहेका छैनन्। यसबारे केन्द्रमा कुरा राख्दिनुहोस् भनेर हामी असम सरकारलाई लेख्न सक्छौं। 29 वटै राज्यका गोर्खाहरूले आआफ्ना राज्यका मुख्यमन्त्रीहरूलाई लेख्न सक्छन्। म तपाईँहरूलाई आश्वस्त गराउन चाहान्छु, हामी असम सरकारमार्फत गृहमन्त्री, प्रधानमन्त्री वा भारत सरकारलाई दार्जीलिङको स्थितिबारे ध्यानाकर्षण गराउने छौं।

सिक्किमले पनि यसरी नै काम गरोस्। त्यहाँ पनि गोर्खा मुख्यमन्त्री छन्, सिक्किमको यसबारे सबैभन्दा ठूलो भूमिका हुनुपर्छ। देहरादुन वा अरू राज्यमा पनि यसै र्न सकिन्छ। बङ्गाल सरकारले दार्जीलिङका गोर्खाहरूमाथि गरेको थिचोमिचोबारे भारतभरि आवाज उठाउन सकिन्छ।

हामीले बाहिरबाट जति नै गरेपनि जबसम्म दार्जीलिङका पार्टी इमान्दार नबनेसम्म, सर्वभारतीय स्तरमा आन्दोलन गर्ने योजना नबनाएसम्म, त्यहाँका गोर्खाहरूले गोर्खा स्वाभिमान नजगाएसम्म केही पनि हुँदैन। माटोको माया नगरेसम्म केही हुँदैन।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares