कालेबुङ जिल्लाबाट पत्रकार निशा र मनोजलाई टाइटन्स अफ् मिडिया अर्वाड: प्रेस क्लबले जनायो सम्मान

कालेबुङ, 5 अक्टोबर:  कालेबुङ जिल्लाबाट उत्कृष्ट पत्रकारका रूपमा निशा छेत्री अनि मनोज राईले टाइटन्स अफ् मिडिया अवार्ड जितेका छन्। राउन्ड टेबल इण्डियाको सहयोगमा सिलगढी जर्नलिस्ट क्लबले बिहिबार सिलगढीको उत्तरकन्यामा आयोजना गरेको समारोहबीच राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी अनि अन्य मन्त्रीहरूको बाहुलीबाट उत्तर बङ्गालका 8 वटा जिल्लाका मोठ 27 जना पत्रकारहरूलाई टाइटन्स अफ् मिडिया अवार्डले सम्मानित गरिएको हो। यसैबीच कालेबुङ जिल्लाबाट प्रिन्ट मिडियामा द स्टेट्समेन-का पत्रकार निशा छेत्री अनि इलेक्र्टोनिक मिडियामा 24 घण्टा च्यानलका पत्रकार मनोज राई सम्मानित भएका हुन्।

निशा छेत्री पाँच वर्षअघिदेखि कालेबुङमा मूलधारको पत्रकारितामा छिन्। विगतको आन्दोलनमा पुलिससितको भीडन्तमा समेत परेकी पत्रकार निशाले आफ्नो अनुभव साझा गर्दै आफ्नो कामलाई मान्यता दिँदा हर्ष महुशुस गरिरहेको बताइन्।

अर्कोतिर मनोज राईले यसअघि नै राष्ट्रिय स्तरको गडफ्रे फिलिप्स ब्रेभरी अवार्ड अनि कालेबुङ प्रेस क्लबले प्रदान गर्ने एक्सिलेन्स एन जर्नलिज्म अवार्ड जितिसकेका छन्। उनले पनि आफ्नो अनुभव साझा गर्दै आफू विरामीको कारण पूर्ण रूपमा स्वस्थ्य नरहेपनि परिश्रम गरिरहेको भन्दै उक्त पुरस्कारको कारण आफूमाथि अझ राम्रो काम गर्ने जिम्मेवारी बढेर गएको बताए।

यसरी नै अर्कोतिर कालेबुङ प्रेस क्लबले पनि उनीहरूलाई  अवार्ड जितेकोमा सम्मान जनाएको छ। क्लबको कार्यालयमा उनीहरूलाई सम्मान जनाउँदै क्लबका अध्यक्ष अरूण रसाईलीले उक्त अवार्ड कालेबुङका प्रेस क्लबलका सदस्यको मात्र जीत नभएर सम्पूर्ण कालेबुङका पत्रकारहरूको जीत रहेको बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया