गृहवास र पर्यापर्यटनको उदाहरण बन्दै याकतेन ग्रामीण पर्यटन क्षेत्र

गान्तोक, 8 अक्टोबर। युवाहरूको एक समूहले आफ्नो क्षेत्रलाई ग्रामीण पर्यटनको दिशामा अघि लगाउने उद्देश्यले 11 वटा गाउँलाई समेटेर शुरु गरेको नाथाङ माछोङ इको टुरिजम कोअपरेटिभ सोसाइटीले अहिले गृहवास (होमस्टे) र पर्या पर्यटनको दिशामा उदाहरण बनाएका छन्। यसैक्रममा गत 4 अक्टोबरदेखि आफ्नो क्षेत्रबाटै हवाई यात्रा पनि शुरु हुनथालेपछि पर्यटनले दोब्बर अवसर सिर्जना गरेको छ।

राजधानी गान्तोकबाट 35 किलोमिटरको दुरीमा रहेको याकतेन होमस्टेमा अहिले 8 वटा घर धुरीले होमस्टे पर्यटनलाई पेशा बनाएका छन्। जहाँ प्रत्येक पर्यटकीय मौसममा 60 देखि 70 हजार पर्यटकले आफ्नो रोजाईको गन्तव्य बनाएर याकतेन आउने गरेको छ।  2015 सालदेखि मात्र पर्यटनमा प्रवेश गरेको याकतेन गाउँका किसानहरू अहिले खेती किसानसितै जोडेर पर्यटनलाई अङ्गाल्दा पहिलेको भन्दा दोब्बर आयस्ता हुने गरेको र आफूहरूलाई दूर्गम गाउँबाट बाहिर परिचय स्थापित गर्न सकेकोमा खुसी व्यक्त गर्छन मेघमा होमस्टेका सञ्चालक एलएम सुब्बा। राज्यसरकारको ग्रामीण पर्यटनको नीतिलाई अवलम्बन गर्दै शुरु गरिएको यो होमस्टे पर्यटकीय संस्कृतिले गाउँको आर्थिक विकास र पर्यटकीय सम्भावनालाई ठूलो मद्दत गरेको उनी ठान्छन्।

पाकिम विमानस्थल उद्घाटन पछि पहिलोपल्ट उडेको व्यावसायीक विमानले नै गाउँमा पर्यटकहरू बोकेर ल्याएकोमा होमस्टे सञ्चालकहरूमा खुसीको लहर छाएको छ। अब उसो बाटो बन्द हुँदा र छिमेकी राज्यमा हुने राजनैतिक अशान्तिले पनि आफ्नो पेशालाई असर नहुने भएकोमा ढुक्क रहेको बताउँछन्।

नाथाङ माछोड इको टुरिजम कोअपरेटिभ सोसाइटीका अध्यक्ष बस्तन गुरुङले अहिले सोसाइटीले अधिग्रहण गरेक गाउँहरूलाई पर्यटनको मुख्य लक्ष्य राखेर त्यो ठाउँको विकास र पर्यटन सम्भावनाको दोहन गरिरहेको र त्यसबाट गाउँलेहरूको निम्ति सोचे जस्तै लाभ हुन सकेको बताउँछन्। उनले याकतेन गाउँकै पर्यटन विकास देखे पछि अन्य गाउँहरूले पनि पर्यटनको पेशालाई अवलम्बन गरिरहेको बताए।

यसैगरि याकतेन गाउँलाई पर्यटन बजारसित जोड्ने कार्यमा लागिपरेका सोसाइटीका मार्केटिङ डिरेक्टर प्रलाद प्रधानले भने शुरुमा धेरै चुनौती भएपनि पछि आएर यसलाई सहज रूपमा लिएको र गाउँलेहरूले पनि आफ्नो पर्यटन सम्भावनालाई विकास गर्न सक्दो प्रयास गरेकै फलस्वरूप अहिले गाउँ ग्रमीण पर्यटनको मानचित्रमा रोजाईको गन्तव्य बनेको बताए।

याकतेन गाउँ मुख्य रूपमा लिम्बू जनजातिको बसोबासो रहेको क्षेत्र हो। त्यसै अनुसार गाउँको नाम याकतेन अर्थात मेरो नयाँ घरमा स्वागत छ भनिएको हो।  सोसाइटीका महासचिव रिशिकेश गुरुङले भने अहिले मुलुककै पर्यटकहरूको आगमन धेरै भइरहेको र विदेशी पाहुनाहरूको नजरमा नपरिहाले पनि अहिले पूर्वोत्तर राज्यको केही ठाउँबाट ग्रामीण पर्यटनको बारेमा प्रशिक्षण लिन भने आउने गरेको बताए जुन याकतेन गाउँको निम्ति सफलताको अर्कोत सोपान मान्न सकिन्छ।

गाउँको विशेष गरे जनजाति खानपान, जैविक खानपान , लोक सांस्कृतिक कार्यक्रम र स्वच्छ हावा पानीले पर्यटकहरू लालायीत हुने गरेको छ। यद्यपी गाउँमा पर्यटकहरूको बड्दो आगमनसितै आर्थिक विकास र पर्यटकीय सम्भावनाहरूको विस्तार भइरहेको भए पनि पर्यावरणसित सम्बन्धि कार्यहरूलाई पनि ध्यान दिन भने आवश्यक देखिएको छ। जसको निम्ति प्लास्टीक जन्य फोहोर प्रबन्धनको निम्ति भने याकतेन गाउँले काम थालिहाल्नुपर्ने देखिएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares