कामदार महिलाको पीडा भन्दै खदामा

काँकरभिट्टा, 10 अक्टोबर


परिवर्तन थिएटर झापाले खदामा नामक नाटक प्रदर्शन शुरु गरेको छ । काँकरभिट्टाको टाउन हलमा नाटक शुरु गरिएको हो ।  वैदेशिक रोजगारीमा कुवेत पुगेकी एउटी सोझी र गरीब महिलाका कथा नाटकमा चित्रण गरिएको छ । गाउँले दलालको फन्दामा परेर कसरी फूलमाया कुवेत पुग्छिन् र यातना भोग्छिन् नाटकले प्रष्ट रुपमा देखाउन खोजेको छ ।

फूलमायाको भूमिका रङ्गकर्मी अनुजा अधिकारीले निर्वाह गरेकी छन् । अनुभवी रङ्गकर्मी अनुजाले फूलमायाको चरित्रलाई पूर्णतया न्याय गरेकी छन् ।  आफ्नो गाउँ, दिल्ली अनि कुवेतको शोषण नाटकमा देखाइएको छ । कुवेत पुगेकी उनलाई मुदिर अर्थात मालिक (शेख) ले खरिद गरेर आफ्नो घरमा काम गर्न लैजान्छ ।

त्यही क्रममा उनी मुदिर अर्थात मालिकको यौन शोषणमा पर्छिन् । मालिक्नीको शारीरिक यातना व्यहोर्छिन् । दुःख सहन नसकेर जब उनी घरबाट भागेर जान्छिन् तब यिनले आफू मालिकको बलात्कारका कारण गर्भवती भएको थाहा पाउँछिन् ।

मालिकले चोरी आरोपमा थप मुद्धा दर्ता गराएर ५ महिना जति जेल पठाउँछ । उनी ७ महिनाको गर्भ बोकर घर फर्किन्छिन् । पतिले घरबाट निकाल्छ । विभिन्न खाले यातना व्यहोरेका कारण घर आइपुग्दा फूलमाया विक्षिप्त भइसकेकी छन् । उनले न्याय पाउन सक्दिनन् । यहीं नाटक सकिन्छ ।

नाटक हेरिसकेपछि मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यले नाटकले मन छोएको प्रतिक्रिया दिए।  उनले नेपाली समाजमा अहिले भइरहेका कुरा नाटकमा पाएको बताए । ‘नाटक निक्कै मार्मिक र सन्देशमूलक लाग्यो’, आचार्यले भने ।

उपमेयर मीना उप्रेतीले पनि वैदेशिक रोजगारीका क्रममा नेपाली महिलाहरुले भोगेको विषयलाई समेटेका कारण नाटक शक्तिशाली रहेको बताइन् । ‘यो महिलाहरूले हेर्नै पर्ने नाटक हो’, उनले भनिन्,‘नेपाली महिलाहरूको कथा नाटकमा छ ।’

चेलिबेटी बेचविखन नियन्त्रणमा लामो समयदेखि संलग्न माइती नेपालका पूर्वान्चल संयोजक गोविन्द घिमिरेले पनि नाटक चेतनामूलक भएको बताए । उनले यो नाटक गाउँ गाउँमा देखाउन सक्दा नेपाली महिलाहरुले फूलमायाको जस्तो हविगत भोग्नु नपर्ने बताए ।

यता सिलगढी क्षेत्रमा नाटक लेखन, आयोजन र अभिनयमा रुचि राख्ने कलाकारहरू कृष्ण गुरूङ, राजु शशाङ्कर अनि पत्रकार रुबेन गुरूङ पनि नाटक खदामा हेर्न पुगेका थिए। निर्धारित समयमा शुरू गरिएको नाटक हेरिसकेपछि नाटकले वैदेशिक रोजगारमा लागी दुःख भोगिरहेका नेपाली जनजीवनलाई प्रस्तुत गर्न सक्षम भएको मन्तव्य पोखेका छन्।  उहाँहरूले नेपाल र भारतका नाटकहरू कलाकारहरूमाझ यसरी कलाको आदान प्रदान हुँदा दुवैतिरका कलाकारहरूलाई राम्रो हुने बताए।

पत्रकार पर्वत पोर्तेलले लेखेको नाटक युवा रङ्गकर्मी गणेश बस्नेतले निर्देशन गरेका हुन् ।  नाटकमा निर्देशक बस्नेतसहित अनुजा अधिकारी, कविता नेपाल, लीला विष्ट, दिनेश राजवंशी, पूजा आचार्य, लोमश पौडेल, विमला चिमरिया, दिवेश लामिछाने, अभिशेष गड्तौला र प्रतिक्षा आचार्यले अभिनय गरेका छन् । करिब एक घन्टा लामो नाटक 6 अक्टोबरबाट शुरू भएको नाटक आगामी 14 अक्टोबरसम्म चल्ने छ ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares