विनय तामाङले जिएसएसएसलाई 2 लाख रूपियाँ दिएको फैलाए हल्ला : जिएसएसएसले गऱ्यो कडा निन्दा :  विकेले भने- विनय तामाङले झुट बोलेर जनतामा भ्रम उत्पन्न गरिरहेका छन्

‘विनय तामाङले अन्ठसन्ठको कुरा गरेर आफ्नो अहोदाको गरिमासम्मलाई ध्यानमा नराखी दिएको यो गैरजिम्मेवार र आधारहीन कथनको घोर भर्त्सना गर्दछु। २ लाख डोनेसनको कुरो जहाँसम्म छ, उक्त रकम जिएसएसएसले प्राप्त गरेको छैन। भविष्यमा पनि बङ्गालपन्थी राजनैतिक पार्टीहरूबाट कुनै अनुदान पनि स्वीकारसम्म गर्ने छैन। जिएसएसएसले आफ्नो कुनै पनि सम्मेलनमा गोजमुमो-2 लाई निमन्त्रणा दिएको छैन र भविष्यमा दिने पनि छैनौं।’


दिल्ली, 10 अक्टोबर


दिल्लीमा स्थापना दिवस मनाउन नपाएको रन्कोमा गोजमुमो-2 का अध्यक्ष विनय तामाङ चारैतिर जाइलाग्न शुरू गरेका छन्। यसैबीच तामाङले एउटा वाट्सएप ग्रुपमा विमल गुरूङ र भाजपा दुवै गोर्खाहरूको मुद्दाको मामिलामा इमान्दार नरहेको भन्दै आफूले दिल्लीमा कार्यक्रम नपाउनुमा भाजपा र जिएसएसएसलाई दोष्याएका छन्।

सघन मोक्तानको नाम लिँदै दार्जीलिङमा प्रशासनले जिएसएसएसलाई कार्यक्रम गर्न नदिँदा मोक्तानसहित एक समूह आफूलाई भेट्न आएको अनि उनले जिएसएसएसलाई दार्जीलिङमा ऱ्याली र कार्यक्रम गर्न दिएको बताएका छन्। यद्धपि, आफूलाई दिल्लीमा  भने बाधा गरेकोमा तामाङले आपत्ति जनाएका हुन्।

‘जिएसएसएसले दिल्लीमा गोर्खाल्याण्डको लागि सेमिनार गर्दा मलाई पनि निम्तो गरेका थिए,’ तामाङले भनेका छन्, ‘दुइजना जिएसएसएसका प्रतिनिधि मकहाँ पठाएका थिए। उनीहरूको हातमा मैले दुई लाख रूपियाँ डोनेशन पठाइदिएको हुँ।’

तामाङको यस्तो आरोप आउनसाथ सघन मोक्तान तामाङसित रिसाए। आधारहिन कुरा गरेर तामाङले सबैलाई भ्रमित गरिरहेको मोक्तानले भनेका छन्।

त्यसै ग्रुपमा जिएसएसएसका अध्यक्ष किरण विकेले तामाङलाई एउटा जवाब दिएका छन्। बीर गोर्खाका सम्पादक दिपक राईले जिएसएसएसलाई तामाङको कुरामा स्पष्टिकरण दिनुपर्ने बताएपछि बिकेले विज्ञप्ति नै जारी गरेका छन्।

‘विनय तामाङले अन्ठसन्ठको कुरा गरेर आफ्नो अहोदाको गरिमासम्मलाई ध्यानमा नराखी दिएको यो गैरजिम्मेवार र आधारहीन कथनको घोर भर्त्सना गर्दछु,’ विकेले लेखेका छन्, ‘२ लाख डोनेसनको कुरो जहाँसम्म छ, उक्त रकम जिएसएसएसले प्राप्त गरेको छैन। भविष्यमा पनि बङ्गालपन्थी राजनैतिक पार्टीहरूबाट कुनै अनुदान पनि स्वीकारसम्म गर्ने छैन। जिएसएसएसले आफ्नो कुनै पनि सम्मेलनमा गोजमुमो-2 लाई निमन्त्रणा दिएको छैन र भविष्यमा दिने पनि छैनौं।’

दार्जीलिङमा ऱ्याली गर्न अनुमतिबारे पनि आफूहरूलाई जानकारी नभएको भन्दै बिकेले भनेका छन्,  ‘दार्जीलिङ भ्रमण अवधि बतासेको शहीद बेदीमा फूल चढाउनेसम्म अनुमति नपाउँदा टिकट काटेर भित्र पसेका थियौं।  ऱ्यालीको अनुमति नपाए बापत हामी अलग अलग पैदल हिँडेका थियौं। पछि जनताले स्वेच्छाले सहभागिता जनाउँदै जाँदा यसले बृहत ऱ्यालीको रूप आफै लिएको थियो। चौरस्तामा जन सभाको अनुमति नपाएपछि गोदुनिस भवनमा कार्यक्रम गरेका थियौं। उपरोक्त कुराहरूको प्रमाण सामाजिक सञ्जालतिर थुप्रै भिडियोहरू छन्।’

बिकेले जनतामा भ्रम फैलाएर आफ्नो दुनो सोझो पार्ने लक्ष्य राखेर आफूलाई नेता ठान्ने विनय तामाङले अति नै तल्लोस्तरको कुरा गर्नु नितान्तै दुर्भाग्यको कुरा रहेको पनि बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares