सिक्किमको ऐतिहासिक घटनाक्रममा आधारित नाट्यकृति ‘मुक्ति’ लोकार्पण

गान्तोक,8 अक्टोबरः सुपरिचित नाटककार चुनिलाल घिमिरेकृत  ऐतिहासिक नाटक ‘मुक्ति’-को आज गान्तोकस्थित चिन्तन भवनमा विमोचन भएको छ। सिक्किमका समाजसचेतक अनि कालोभारी तथा झार्लाङ्गी प्रथा उन्मूलनमा महत्त्वपूर्ण योगदान दिने व्यक्तित्व चन्द्रमान राईको जीवनी र सिक्किमको ऐतिहासिक घटनाक्रममा आधारित नाट्यकृति‘मुक्ति’ चन्द्रमान राईको 11 औं पुण्यतिथिको अवसरमा विमोचित गरिएको हो। 17 अक्टोबर, 2008 मा उनको देहान्त भएको थियो। नवाहाङ परिवार र संस्कार भारतीद्वारा संयुक्त रूपमा आयोजित समारोहमा वरिष्ठ साहित्यकार पद्मश्री सानु लामा मुख्य अतिथिका रूपमा उपस्थित थिए भने चन्द्रमान राईका सुपुत्र तथा सिक्किम विधानसभा अध्यक्ष केएन राईले समारोहको अध्यक्षता गरेका थिए। कार्यक्रममा वरिष्ठ नाट्यशिल्पी तथा नाट्यभूषण सीके श्रेष्ठ, सिक्किम विधानसभा उपाध्यक्ष सोनाम ग्याछो लेप्चा, राष्ट्रिय नाट्य विद्यालय, गान्तोक क्याम्पका निदेशक विपिन कुमार, नेवाहाङ परिवारकी सदस्य तथा विधानसभा अध्यक्षकी पत्नी रश्मि राई, वरिष्ठ वास्तुकार तथा संस्कार भारती, सिक्किमका अध्यक्ष किरण रसाइली र नाटककार एवं निदेशक चुनिलाल घिमिरे अतिथिगणका रूपमा मञ्चमा आसिन थिए।

“चन्द्रमान राई प्रजातन्त्रप्रेमी, अन्याय र अत्याचारविरोधी योद्धा थिए”,कार्यक्रमका मुख्य अतिथि सानु लामाले समारोहका केन्द्रबिन्दु स्व. चन्द्रमान राईबारे प्रकाश पार्दै भने। 1940 को दशकमा सिक्किममा व्याप्त कुप्रथा हटाउन चन्द्रमान राईको ठूलो योगदान रहेको उनले जिकिर गरे। जोसमनि सन्त परम्पराको सन्दर्भ झिक्दै साहित्यकार लामाले ‘मुक्ति’ नाटकमा गाइएका भजन र गीतहरूलाई जोसमनि साहित्यको रूप दिन सकिने विचार व्यक्त गरे। उनले सिक्किमको नाट्यपरम्पराको छोटो जानकारी पनि दिए। विधानसभा अध्यक्ष केएन राईले आफ्ना पिताद्वारा जनताका हितमा गरिएका कार्यहरूलाई संस्थागत गर्न अनि इतिहासबाट आजका युवा पुस्ताले प्रेरणादायी कार्यहरू सिकुन् भनेर पिताका जीवनगाथा र सङ्घर्षका कथाहरूलाई दस्तावेजीकरण गरिएको जानकारी दिए। उल्लेखनीय छ, नेवाहाङ परिवारले गत वर्षको अक्टोबर महिनामा चन्द्रमान राईका सम्पूर्ण इतिवृत्तलाई समेटेर एउटा पुस्तक प्रकाशित गरेको छ, जसमा चन्द्रमान राईमाथि राज्यका 25जना लेखकका मूल्याङ्कनपरक रचना सङ्ग्रहीत छन्। ‘स्वर्गीय चन्द्रमान राईबारे केही अध्ययन-केही अवलोकन’ नामक सो कृतिलाई नै आधार गरेर नाटकार चुनिलाल घिमिरेले ‘मुक्ति’ नाटक लेखेका हुन्। विधानसभा अध्यक्ष केएन राईले यो नाटक आजका युवापिँढ़ीलाई काम लाग्ने बताए। “पापामाथि केही गर्नुपर्छ भन्ने भुटभुटी लागिरहेको थियो। एकदिन पापाको बाकस हेरें। त्यहाँ तीनवटा पोकामा महत्त्वपूर्ण सामग्री थिए। त्यसको दस्तावेजीकरण गर्दा समाजलाई फाइदा हुन्छ भन्ने लागेर‘स्वर्गीय चन्द्रमान राईबारे केही अध्ययन-केही अवलोकन’ प्रकाशित गर्‍यौं”,उनले नेवाहाङ परिवारले जिम्मेवारीपूर्वक यो कार्य गरेको बताए। युवा-विद्यार्थीहरूलाई सचेत गराउँदै राईले भने,“कुनै पनि सफलताको सर्टकर्ट बाटो छैन। इतिहासले हामीलाई यही कुरा सिकाउँछ। जीवनको बाटो बांगोटिंगो हुन्छ। युवाहरूले सजिलो बाटो मात्र खोजेको देखिन्छ। नाटकले इतिहासको यही सङ्घर्षलाई देखाउन खोजेको छ।” “हिजोका ब्रुजुकहरूका सङ्घर्षको प्रतिफलले आजको यस्तो समाज हामीले पाएका छौं। त्यसैले भोलिको समाज कस्तो हुनुपर्छ भन्ने कुराको दायित्वबोध पनि आजको पुस्तामा हुन्छ। भोलिको समाज खराब भयो भने हामी जवाफदेही हुनुपर्छ अनि राम्रो भयो त्यसको श्यावासी पनि पाउँछौं। हाम्रो समाज आज कता-कता अलमलिएको जस्तो लाग्छ”,राईले भने। बौद्धिक समुदायले समाजलाई मार्गदर्शन गर्नुपर्ने उनले अपील गरे। एनएसडी, गान्तोक केन्द्रले यो नाटकलाई मञ्चन गर्ने आश्वासन दिएको पनि उनले अवगत गराए। ‘मुक्ति’-का रचनाकार तथा वरिष्ठ निदेशक चुनिलाल घिमिरेले ‘मुक्ति’ जन्मनुको कथा सुनाए। आफू सानै छँदा आफ्ना दाजु सेनामा गएका र निखोज भएका घटनाले फौजी व्यक्तित्वप्रति आफ्नो हृदयबाटै सम्मानभाव रहेको उल्लेख गर्दै उनले भने,“स्व. चन्द्रमान राईबारे केही अध्ययन-केही अवलोकन’ पुस्तक पढ्दा आफूभित्र साहित्यको अर्को खोला बगेजस्तो लाग्यो। चन्द्रमान राईको आत्माले बोलाएजस्तो लाग्यो।” सिक्किमको इतिहास र सामाजिक यथार्थमा आधारित यो कृति लेख्दाको अनुभव पनि उनले साझा गरे।“धरातलीय साहित्य सधैं अमर रहन्छ। समाजको आवाज बोकेको साहित्य पछिसम्म बाँच्छ। चन्द्रमानहरूले रोपेको बोटको फल आज हामी खाँदैछौं। आजको पुस्ताले रोपेको फल भोलिको पुस्ताले उपभोग गर्न पाउँछ। हाम्रो अतीत नै हाम्रो वर्तमानको आधारभूमि हो”,घिमिरेले थपे। नाट्यकृति ‘मुक्ति’-माथि आफ्नो परिचयात्मक टिप्पणी राख्दै युवा समालोचक रूपेश शर्माले ‘मुक्ति’-को पृष्ठभूमि बताए। “मुक्ति’-मा तत्कालीन सिक्किमेली समाजको सांस्कृतिक, सामाजिक, शैक्षिक,राजनीतिक, भाषिक र अत्याचारी व्यवस्थाको यथार्थिक प्रतिविम्बन पाइन्छ”,उनले नाटकको परिचय दिए। इतिहासलाई भविष्योन्मुख धारासँग जोड़ेर घिमिरेले नवपुस्तालाई हिजोको सङ्घर्षमय गाथाहरूबाट प्रेरणा लिन प्रेरित गर्नु यो नाट्यकृतिको उद्देश्य रहेको उनको भनाइ थियो। “हामी जति अग्रगामी बाटो तय गर्न खोज्छौं, हामीलाई उतिनै इतिहासप्रति फर्किएर त्यसको गहन अध्ययन गर्नुपर्ने हुन्छ”,शर्माले भने। 1941 देखि 1967 सम्मका कुल 26 वर्षको पृष्ठभूमिमा देखा परेका सबै ऐतिहासिक पात्र-पात्रा र दल एवं व्यक्तिहरूलाई नाटकले न्याय दिने प्रयास गरेको शर्माले उल्लेख गरे। नाटकमा केही अप्रत्यासित परिवेश र संवाद रहेको औंल्याउँदै यसमा सुधारको खाँचो रहेको पनि उनले सुझाए।

यसअघि, समारोहमा स्वागत वक्तव्य राख्दै पुस्तकका प्रकाशक तथा संस्कार भारतीका अध्यक्ष किरण रसाइलीले संस्कार भारतीको छोटो परिचय दिए अनि नाटकको उद्देश्यमाथि प्रकाश पारे। यो नाटकलाई हिन्दीमा अनुवाद गरेर राष्ट्रिय स्तरमा मञ्चनका लागि प्रयास गर्ने पनि उनले बताए। समारोहमा चन्द्रमान राईमाथि दुईवटा वृत्तचित्र देखाइएको थियो। पश्चिम सिक्किमका कलाकार टोलीद्वारा उद्बोधनी गीत प्रस्तुत गरिएको कार्यक्रममा गान्धी आश्रम, कालेबुङका भायोलिन वादक विद्यार्थीहरूको समूहले नेपाली र अंग्रेजी गीतका सुमधुर धुन प्रस्तुत गरेका थिए।  वेस्ट पोइन्ट उच्चतर माध्यमिक विद्यालय, देवराली कन्या उच्चतर माध्यमिक विद्यालय, मोर्डन सिनियर सेकेण्डरी स्कूल आदिका विद्यार्थीहरूले सामूहिक साङ्गीतिक प्रस्तुति दिएका थिए। सम्पूर्ण कार्यक्रमलाई दीपा शर्माले सञ्चालन गरेकी थिइन् भने मित्रलाल शर्माले धन्यवाद ज्ञापन गरेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares