26 उकिलले समर्थन गऱ्यो एसकेएमलाई,गोलेले भने आउँदो चुनाउ एफआइआर फ्री बनाउनेछौं

गान्तोक, 10 अक्टोबर । सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीका अध्यक्ष पीएस गोलेले 2014 को चुनाउमा सिक्किम प्रजातान्त्रिक मोर्चा पार्टी (एसडीएफ) ले लाशमाथि राजनीति गरेको आरोप लगाएका छन्। 2019 को चुनाउमा पनि एसडीएफ पार्टीले फेरि यस्तै राजनीति गर्न सक्ने सम्भावना रहेको उनले बताएका छन्। एसकेएम अध्यक्ष गोलेले बुधबार देउरालीस्थित स्थानीय एउटा होटलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन उक्त कुरा भनेका हुन्। राज्यका 26 जना वकीलहरूद्वारा एसकेएम पार्टीलाई बौद्धिक रूपमा समर्थन गर्ने घोषणालाई लिएर उक्त कार्यक्रम आयोजन गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै एसकेएम अध्यक्ष गोलेले एसडीएफ पार्टीले 2019 को चुनाउमा पनि 2014 को चुनाउ सरह कसैको लाशमाथि राजनीति गर्न सक्ने आशंका व्यक्त गरे। उनले एसडीएफ पार्टीको यस्तो षड़यन्त्रबाट एसकेएम पार्टीका कार्यकर्ताहरूलाई कुनै डर नरहेको, तर एसडीएफकै कार्यकार्तहरू भने होशियार बस्नुपर्ने स्थिति रहेको बताए। एसडीएफ पार्टीले आफ्नो सत्ता कायम राख्नुको निम्ति आफ्नै कार्यकर्ताहरूको बली चढ़ाउन सक्ने उनले गम्भीर आरोप लगाए। अर्कातिर, एसकेएम पार्टीले यो पाली ‘एफआईआर फ्री’ चुनाउ गर्ने नीति अपनाएको उनले बताए।
26 जना वकीलहरूले एसकेएम पार्टीलाई बौद्धिक रूपमा समर्थन गर्ने निर्णयलाई गोलेले वकीहरूको सहासी कदम रहेको ठहर गरे। उनले सिक्किममा सबै विषयलाई राजनीतिको दृष्टिले हेरिने चलन रहेको हुॅंदा वकीलहरूका यो कदमले उनीहरूमाथि समस्या पनि आइलाग्न सक्ने बताए। तर, एसकेएमले वकीलहरूलाई उनीहरूका पेशा र राजनीतिलाई अलग—अलग राखेर काम गर्ने वातावरण दिने उनले बताए। उनले वकीलहरूद्वारा एसकेएमलाई बौद्धिक रूपमा समर्थन गर्ने निर्णय एसकेएम पार्टीको निम्ति नभएर सिक्किमे जनताको पक्षमा रहेको बताए।
उनले भने, ‘सत्ताधारी एसडीएफ पार्टीले एसकेएम चोर, गुण्डा, ड्रगिस्ट र डाकूको पार्टी भनेर संज्ञा दिने गर्छ। एसकेएम भोटको राजनीति होइन, तर भावी पिढिको निम्ति काम गर्ने पार्टी हो भनेर हामीले प्रमाणित गऱ्यौं। एसकेएमलाई सात जना विधायकले छोड़ेर गए पनि जनताले एसकेएम पार्टीको साथ छोड़ेको छैन। एसकेएमले मात्र विपक्षीको भूमिका निर्वाह गर्न सक्छ भन्ने जनताको विश्वास हामीले जित्न सक्यौं।’ 26 जना वकीलहरूले एसकेएमलाई बौद्धिक रूपमा समर्थन गर्ने निर्णयले यो तथ्यलाई अझ पुष्टि गरिदिएको उनले बताए।
उनले एमजी मार्गको टाइल्सलाई आधार मानेर सिक्किममा विकास भएको दाबी गरिन्छ भने। राजधानीदेखि सुदूर गाउॅं बस्तीहरूमा बसोबासो गर्ने मानिसहरूले अझै पनि धेरै दुख र कष्टहरू सहन गर्नु परिरहेको उनले बताए। सिक्किमको यस्तो स्थिति देख्दा आफूले 2009 सालमा सरकारको विरोध गरेर जनतालाई न्याय दिलाउन काम गर्ने जुन निर्णय लिए त्यसप्रति सन्तुष्टि मिल्ने गरेको उनले बताए। आज वकीलहरूले जुन सोचका कारण एसकेएमलाई बौद्धिक रूपमा समर्थन गर्ने निर्णय लिए 2009 मा आफूले पनि त्यस्तै सोच लिएर सरकारको विरोध गरेको उनले दाबी गरे।
कार्यक्रमलाई विधायक केएन लेप्चालगायत वकीलद्वय विलियम तामाङ र दिलीप तामाङले पनि सम्बोधन गरेका थिए। वकीलद्वयले वर्तमान सरकारमा जनतामाथि धेरै अन्याय र अत्याचार भइरहेको हुॅंदा आफूहरू चुप्प लागेर बस्नु नसकेको बताए। समाजमा केही नराम्रो हुॅंदैछ भने त्यस विरूद्ध अवाज उठाउने आफ्नो कर्तव्य रहेको उनीहरूले बताए।
सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares