एलिक्स, गोर्खाल्याण्ड र योस्सारियनहरू

हामी सबथोक हराउनेहरू-गुमाउनेहरू। देखिने र नदेखिने यी युद्धहरूमा चेप्टिएका-पिसिएका साधारण मान्छे मलाई योस्सारियनझैं लागिरहेका छन्, जो पलपल आफूलाई बौलाहा साबित गर्न खोजिरहेका छन्। ओह, हामी योस्सारियनहरू!


सिलगढ़ी जङ्क्शन पुग्यौं। साँझको छः बजेको छ। एलिक्सलाई भनें- “एनजेपी जाने अटो तयार छ। चढ़्छ्यौ होइन?” एकक्षण

पर्खने ईशारा गरी।

मैले भनें – “के भयो? कुनै समस्या?” छानामा ब्याग रहेछ। ड्राइभर यात्रीहरूबाट भाड़ा उठाउनमै व्यस्त रहेकोले उ आफै गाड़ीको छानामा चढ़ी। आफै उतारी ब्याग। मैले भनें- “अब चढ़्छ्यौ कि?” फेरि रोकिने ईशारा।

ब्यागको तुना खोल्दै भन्छे, “म तिमीलाई केही दिनु चाहन्छु।” छक्क परें र अप्ठ्यारो मानें। मैले भनें- “अटोमा चढ़िहाल। ढिलो हुन्छ। मलाई केही पर्दैन।” मैले कतिपल्ट भन्दा पनि मानिन। उसले भनी- “किताब त हो दिन चाहेको चिनो।” अङ्ग्रेजीमा लेखिएको नाइजेरियन नाटक “इया-इले (पहिलो स्वास्नी)” रहेछ।

एलिक्सलाई आठ बजेको रेल चढ़्नुछ। कोलकाता पुग्न। त्यसपछि त्यहाँबाट हावाजहाजमा गोवा। शीतकालको आरम्भिक थपेड़ाबाट बच्न उसले न्यानो लुगा र गलबन्दी लगाएकी छ। बेलायती रहिछ। पहिले नेपाल पुगेकी। त्यसपछि भारत पसेकी। गोवा घुमिसकेपछि मात्र घर फर्कने उसको योजना। उ घरिघरि भन्दैथिई- “मलाई नेपाल खूब मनपर्‍यो।” काठमाड़ौं, भक्तपुर, पाटनले उसलाई छोयो रे। नेपाली दुइएक लबज पनि सिकिसकेकी पच्चीस वर्षीया एलिक्स पनि ओर्ह्लिई जब गाड़ीधुरामा चियाचमेनाको लागि गाड़ी रोकियो। रातो चिया पिउँछु भनी। चिया पिउँदै उसले सोधी- “यो ठाँउ गोर्खाल्याण्डमै पर्छ?” मैले पर्छ भनें।

गोर्खाल्याण्ड, चियाकमान, कुलैनबारीहरूबारे जानकारीमूलक कुरा भयो। त्यसपछि त यहाँका मान्छे दबिएकाले उनीहरूको मुक्ति गोर्खाल्याण्डै हो रहेछ भन्ने बुझेको भाव उसले देखाई। मैले भनें- “तर एलिक्स, खटिखाने आम मानिसहरूको निम्ति गोर्खाल्याण्ड नै अन्तिम समाधान होइन।” छेक्क पर्दै सोधी, “किन?” मैले छोटो उत्तर दिएछुः किनभने एकमुट्ठी ‘नवधनाढ्य’ (न्यु-रिच्)-को गोर्खाल्याण्डद्वारा बहुसङ्ख्यक आम उत्पीड़ित मान्छेले समस्याबाट पार पाउने होइनन्। गोर्खाल्याण्ड हुन साह्रो परिरहेको छ र भइहाले पनि ‘हुने-खाने’ र ‘नहुने-नखाने’ मान्छेहरूबीच खाड़ल अझ गहिरिएर जानेछ। यो कोल्टे पहाड़ अझ कोल्टिएर जानेछ। उसको अनुहार चिन्ताले तमतमायो।

हामी बात मार्न चर्को बोल्नुपर्ने स्थिति छ। चालकले जोड़ले गीत घन्काएका छन्। “यो कसको स्वर,” सोधी। “मनिला सोताङको,” मैले भनें। “भिज्यो सिह्रानी रातैमा”गीतको एकांश मैले अङ्ग्रेजीमा उल्था गर्दै भनिदिएँ। थपिदिएँ, गीतमा दार्जीलिङको ‘सङ्कथन’ (डिस्कोर्स) छ। बेरोजगारीको समस्या मेटाउन भूमिपुत्रहरू देशभित्रको परदेश लाग्छन्। विदेश गमन गर्छन्। स्वास्नीको सिह्रानी भिजिरहन्छ। बालबच्चा खोजिरहन्छन् बाबाको भुलिसकेको अनुहार। ‘मुना-मदन’-बारे बताउँ लाग्यो उसलाई। भूमिपुत्रीहरू विदेशिँदा चाहिँ “मुना-मदन”-को विनिर्माण “मदन-मुना” लेख्दा हुने हो भन्ने मन थियो उसलाई।

एलिक्ससँग भएको किताब हेर्न मागें। वास्तवमा मलाई किताबको नीलो मुहारमा मोटा अक्षरले अङ्कित विचित्रको नामले खिँचेको थियोः “क्याच्-ट्वेण्टीटु”! सन् १९६१-को बेस्टसेलर रहेछ। लेखक जोसेफ हेल्लर।

“खूब राम्रो छ किताब। ब्ल्याक ह्युमर। युद्धविरोधी,” एलिक्सले भनी। युद्धलाई अमान्य गर्न नसकिने र युद्धबाट पलायन गर्न नसकिने अमेरिकी सैन्य-ऐन रहेछ ‘क्याच्-ट्वेण्टीटु’। किताबको नाममा साङ्केतिक अर्थ रहेछ “नजितिएको स्थिति”। किताब पल्टाएर त्यसको पिठ्युँ पढ़्दैछु। दोस्रो विश्वयुद्ध टुङ्गिन लागेको बेला अमेरिकाले इटालीको आखेट गरिरहेको घटनाको पृष्ठभूमिमा लेखिएको यो असङ्गत (एब्सर्ड) र श्यामव्यङ्ग्यी (ब्ल्याक-सटायर) उपन्यासलाई बीसौं शताब्दीकै सर्वश्रेष्ठ साहित्यिक कामहरूमध्ये एक मानिँदो रहेछ।

भूमध्यसागरको सतहभन्दा मात्र बाइस फीट अग्लो पियानोसा टापुबाट इटलीलाई तर्साउँदैछ अमेरिकी वायुसेना। उपन्यासका मूल पात्र योस्सारियन बमवर्षकको जोखिमपूर्ण दायित्वमा छ। बौलाहा युद्धको विभीषिकाबाट भयातुर, वाक्कदिक्क र हतास छ। योस्सारियन बौलिएको अभिनय गरेर लड़ाकु दस्ता छाड़ी घर पुग्ने अनौठो योजनामा व्यग्र छ।

कसैले मानेका छैनन् तर पनि योस्सारियन सबैलाई विश्वास दिलाउने सङ्घर्षमा छ- उ बौलाहा हो। उपन्यासका यी व्यङ्ग्यीय र वृत्तीय तत्त्वले औपनिवेशिक विस्तारवाद र युद्धको कुरूपतालाई नङ्ग्याइदिएका रहेछन्। “युद्ध/ रक्त पिपासा मानवमानवका/ हत्या र संहारपूर्ण अभिलाषा…” अगमसिंह गिरीको ‘युद्ध र योद्धा’-का यी पङ्क्ति सम्झिएँ। साम्राज्यवादी युद्ध-विरोधी कवि विल्फ्रेड ओवेन सम्झिएँ। अर्नेष्ट हेमिङ्ग्वे पनि। बब डाइलनको अतिप्रसिद्ध गीत “नकिन् अन हेभन्स डोर” सम्झिएँ।

एलिक्स थोर्प लण्डनको “सोहो” थिएटरमा पटकथा-संवाद सम्पादनको कार्यमा वृत्तिजीवी रहिछ। अङ्ग्रेजी साहित्यको उच्चाध्ययन सिद्ध्याएकी। उसँग बात मार्न सकिन्थ्यो। तर्क गर्न सकिन्थ्यो। सोधें- “तिम्रो देश इङ्ग्ल्याण्डको के खबर छ?” उसको उत्तर ढुक्कको थिएन। केवल भनी- “ठीकै छ।” अर्थनैतिक मन्दी हरायो कि भन्ने सोध्दा भनी- “छ नि अझ।

सबभन्दा दुःखको कुरा, यही मन्दीले गर्दा बेरोजगारी र गरीबी बढ़्दैछ इङ्ग्ल्याण्डमा।” जब कि, हामी साधारणतः सोच्छौं, अमेरिका-इङ्ग्ल्याण्डतिर कोही गरीब छँदै-छैन। त्यहाँ नाटकको प्रवृत्तिबारे सोध्दा उसले दर्शक र मञ्चमाझको दूरी र भिन्नता घटाउने ध्येयमा नाटक लेखिने र मञ्चित गरिने गरिएको बताई। उसले काम गर्ने थिएटरमा दिनहुँ शो भए पनि नाटक हेर्ने मान्छे थोरै भएको बताई। थोपिएको ‘पपुलर कल्चर’-को सङ्कथन नै हावी छ, मैले भनें।

ब्रेख्त, इब्सेन, सिल्भिया प्लाथ, एमिली ब्रोण्टबारे कुरा भए। मलाई मन पर्ने “कास्ट अवे”, “डेड पोएट्स सोसाइटी”, “शिण्डलर्स लिस्ट” फिल्मका कुरा झिकें। सोधें, “ज्याक निकल्सनले खेलेको “वान फ्ल्यु ओभर कूक्कूज नेस्ट” हेर्‍यौ?” उसले हेरेको बताउँदै भनी, “त्यो किताब पढ़। फिल्मभन्दा राम्रो छ किताब।” “क्याच्-ट्वेण्टीटु”-सँग यो फिल्मको केकेकेके मिल्छ।

एलिक्सले ग्लोबलाइजेशन फेल भएको स्वीकारी। अमेरिकामा लेहम्यान ब्रदर्स प्रकरणले मन्दी शुरु गरेपछि पूँजीवाद लगभग कोमामा थियो। कोमाबाट भर्खरै उठ्नथालेको पूँजीवादलाई साह्रै सञ्चो चाहिँ छैन। यही मौका छोपेर सत्ता र स्थापनाविरोधी जनमुखी ताकतहरूले पूँजीवादी समाजव्यवस्था-अर्थव्यवस्थाको सबैभन्दा कमजोर कड़ीमा प्रहार गरेका-गरेकै छन्। चर्चाले चिन्तनका फाँटहरू फराकिला गराइदिएको थियो।

एलिक्स थोर्प-ले सकुशल गोवा पुगेकी जनाएकी छ इमेलबाट। समुद्रकिनार सूर्यास्त हेरेर उसलाई एकप्रकारको आनन्दस्फूर्ति आएको छ। खरसाङदेखि सिलगढ़ीसम्म एलिक्स र मैले  बिताएको चालीस मिनटको सहयात्राको स्मरण कति दिगो रहला, जान्दिनँ। तर एलिक्सले गर्दा चिनिएको उपन्यास “क्याच्-ट्वेण्टीटु”-का चरित्र योस्सारियन सधैं याद रहिरहला। किनभने, हामी सबै योस्सारियन हौं।

हामी बाध्य बमवर्षक योस्सारियनझैं विसङ्गत, विशृङ्खल र पागलतापूर्ण यथास्थितिको विद्रूपताबाट भाग्न पागल भएको अभिनयमा छौं। यो विश्व पागलखानाझैं छ। जहाँ हर समय उन्मादी युद्धहरू भइरहेका छन्। हामी युद्धका साधन छौं। युद्धका यन्त्रपाती, अस्त्रशस्त्र, गोलाबारुद र मैदान हामी नै। युद्ध छ शक्तिसत्ताको। जुन युद्धमा हामी सदा हार्छौं र शक्तिशाली सदा जित्छन्। हामी सबथोक हराउनेहरू-गुमाउनेहरू। देखिने र नदेखिने यी युद्धहरूमा चेप्टिएका-पिसिएका साधारण मान्छे मलाई योस्सारियनझैं लागिरहेका छन्, जो पलपल आफूलाई बौलाहा साबित गर्न खोजिरहेका छन्। ओह, हामी योस्सारियनहरू!

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares