रोशन गिरीले गरे 20 प्रतिशत बोनसको माग : भने- टी बोर्डले मालिकहरूलाई 100 करोड क्षतिपूर्ति दिलाउने भइरहेको बेला विनय समूह मोर्चा श्रमिकले कुन आधारमा 20 प्रतिशत बोनसलाई 15 प्रतिशतमा झारेको हो?

‘विनय तामाङले मालिकहरू उनलाई भेट्न आउने निश्चित रहेको पनि बताएका थिए। मालिकहरू आए पनि तर के कुरा भयो र श्रमिकहरूको बोनस रातारात 15 प्रतिशतमा झाऱ्यो?’


दार्जीलिङ, 11 अक्टोबर


गोजमुमो महसाचिव रोशन गिरीले श्रमिकहरूको बोनस 20 प्रतिशत नै हुनुपर्छ भन्ने माग गरेका छन्। उनले राज्य सरकार, जिटिए र विनय समूह मोर्चा श्रमिकहरूले श्रमिकहरूले पाउँदै गरेको 20 प्रतिशत बोनसलाई 15 प्रतिशतमा मिलिजुली झारेर शोषण गरेको आरोप पनि लगाएका छन्।

‘अहिलेसम्म चियाबारीका श्रमिकहरूको दसैं बोनस कहिल्यै घटेको थिएन। हामीले हरेक दसैंमा चियाबारी श्रमिकहरूको बोनस घटाउने होइन तर बढाउने काम गरेका छौं। आन्दोलन के श्रमिक, के विद्यार्थी, के कर्मचारीवर्ग, युवा, सचेत, बुद्धिजीवी सबै सबै जनता एकसाथ मिलेर गरेका थियौं,’ गिरीले विज्ञप्ति जारी गरेर भनेका छन्, ‘तर आन्दोलनलाई जिटिए-२ सित साट्ने काम भयो। धेरैले आन्दोलनमा भएको क्षतिपुर्ति पाए तर श्रमिकहरूलाई बङ्गाल सरकार, जिटिए, मालिक र विनय समूहको श्रमिक सङ्गठन सबै मिलेर शोषण गऱ्यो। उनीहरूले क्षतिपूर्ति पाएनन्।’

गिरी अनुसार चिया मालिकहरूलेसमेत क्षतिपूर्तिको माग गरेको छ। आउने वित्तीयवर्षमा 100 करोड क्षतिपूर्ति दिलाउने टी बोर्डले काम गरिरहेको मिडियामा आइसकेको छ। ‘मालिकहरूले क्षतिपूर्ति पाउने हो भने कसरी विनय समूहको श्रमिक सङ्गठनले 104 दिनको बन्दमा मालिकहरूले नोक्सानी खेप्न परेको बहानामा सँधै 20 प्रतिशत पाइरहेको बोनसलाई 15 प्रतिशतमा झारेको हो?,’गिरीले प्रश्न गरेका छन्।

गिरीले जब कुनै पनि आन्दोलन हुन्छ, सबैभन्दा ठूलो त्याग ती नै श्रमिकहरूको रहने गरेको तर सँधै ती नै श्रमिकहरूलाई सरकार, मालिक र सरकारका गुलाम रहेकाहरूले शोषण गर्ने गरेको बताएका छन्। ‘गोर्खा जनमुक्ति मोर्चा श्रमिकहरूले 20 प्रतिशत बोनस पाउनुपर्ने भन्ने माग गर्दछौं,’ उनले भनेका छन्, ‘श्रमिकहरूको दशैं विनय समूहको श्रमिक सङ्गठनलगायत मालिकहरूले खल्लो बनाइदिएको छ।’

गिरीले विनय तामाङले 44/45 सम्ष्टीमा गरेको जनसभामा 20 प्रतिशतमा नमान्ने बचन दिएको कुरा पनि जिकिर गरेका छन्। ‘विनय तामाङले मालिकहरू उनलाई भेट्न आउने निश्चित रहेको पनि बताएका थिए। मालिकहरू आए पनि तर के कुरा भयो र श्रमिकहरूको बोनस रातारात 15 प्रतिशतमा झाऱ्यो?,’ गिरीले प्रश्न गर्दै भनेका छन्, ‘श्रमिकहरूलाई हेप्न बन्द गर्ने गोजमुमो केन्द्रीय समिती आह्वान गर्दछ। यसैले चिया श्रमिकहरूलाई क्षतिपूर्तिस्वरूप 20 प्रतिशत बोनस दिइनुपर्छ भनि गोजमुमो केन्द्रीय समिती माग गर्दछ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares