पाँचौं अनुसूचिको कुरा गरेर विनय तामाङले भूभाग पनि बङ्गाललाई बेच्ने कोसिस गरिरहेका छन् : काम्बाङ

‘भुमिगत रहेर जेल बसेर आजसम्म विमल गुरुङले जिउँदो राखेको गोर्खाल्यान्ड आन्दोलन र मुद्दा मेटाउने र जनतालाई भ्रमित गर्ने तामाङले अर्को षड्यन्त्र गरिरहेका छन्।  बङ्गालले षड्यन्त्रस्वरुप विनय तामाङलाई जाति नास्ने हतियारको रुपमा प्रयोग गरिरहेको छ। त्रिपक्षीय वार्तामा गोर्खाल्यान्ड र बङ्गालको विपरित तर्कहरू हुने निश्चितता र सम्भावनालाई केन्द्रमा राखेर विनयलाई दिएको ममता व्यानर्जीद्वारा रचित कथाको स्क्रीप्ट हो पाँचौ अनुसूचि।’


दार्जीलिङ, 11 अक्टोबर


विनय तामाङले पाँचौं अनुसुचिको कुरा गर्नु विनय खेमा मोर्चाको राजनीतिक दयनियता झल्काउने विमल समूह युवा नेता नरेन्द्र काम्बाङले विज्ञप्ति जारी गरेर बताएका छन्। केही अघिसम्म जिटिएको चुनाउ गराउने र चुनाउ जित्छु भन्ने विनय तामाङलाई पाँचौं अनुसूचीको कुरा गर्नु राज्य सरकारले सिकाइरहेको काम्बाङको दाबी छ।

‘जिटिए चुनाउ त हस्ताक्षर गर्ने बिमल गुरुङको मोर्चाबिना सम्भव छैन भन्ने कुरा विनयलाई थाहा छ,’ उनले भनेका छन्, ‘बङ्गालले यो कुरा बुझेको छ। बङ्गाललाई विमल जिटिएजस्तो व्यवस्थामा बस्दैन भन्ने थाहा छ। त्रिपक्षीय वार्तामार्फत छुट्टै राज्यको कुरा शुरु नभएसम्म दार्जीलिङ खुशी हुँदैन भन्नेपनि थाहा छ। यसको प्रक्रिया शुरु हुनसाथ जिटिए धरापमा पर्ने भएकोले विनय तामाङले जताभावी बोलिरहेका हुन्।’

त्रिपक्षीय वार्तामा छुट्टै राज्यप्रति इमान्दार विमल गुरुङलगायत केही पार्टीहरूलाई बस्ने अधिकार रहेको बताउँदै काम्बाङले विनय तामाङको राजनैतिक करियर जिटिए-2 थापेकै दिन सकिएको दाबी गरेका छन्।

‘आन्दोलनलाई जिटिए-2 सित बोच्ने र आफ्नो लगायत सारा गोर्खाहरूको आत्मसम्मान बेच्ने विनय तामाङलाई विमल गुरुङले गरिरहेको कुनै पनि कामबारे बोल्ने अधिकार नै छैन,’ काम्बाङले भनेका छन्, ‘पाँचौं अनुसूची बङ्गाल कै अधिनको कुरा हो। दार्जीलिङको भूभाग आधिकारिकरूपमा बङ्गाललाई दिनु हो। छुट्टै राज्यको मानचित्र, मुद्दा र आन्दोलन नै बेच्ने प्रयास तामाङले गरिरहेका छन्।’

तामाङले भूभागको दलाली गरिरहेको भन्दै काम्बाङले त्रिपक्षीय वार्ता बिथोल्न, 11 जातगोष्ठीले पाउने जनजातिको मर्यादाको मुद्दा बिथोल्न काम गरिरहेको आरोप लगाएका छन्।

‘भुमिगत रहेर जेल बसेर आजसम्म विमल गुरुङले जिउँदो राखेको गोर्खाल्यान्ड आन्दोलन र मुद्दा मेटाउने र जनतालाई भ्रमित गर्ने तामाङले अर्को षड्यन्त्र गरिरहेका छन्,’ काम्बाङले भनेका छन्, ‘बङ्गालले षड्यन्त्रस्वरुप विनय तामाङलाई जाति नास्ने हतियारको रुपमा प्रयोग गरिरहेको छ। त्रिपक्षीय वार्तामा गोर्खाल्यान्ड र बङ्गालको विपरित तर्कहरू हुने निश्चितता र सम्भावनालाई केन्द्रमा राखेर विनयलाई दिएको ममता व्यानर्जीद्वारा रचित कथाको स्क्रीप्ट हो पाँचौ अनुसूचि।’

विनय तामाङले बङ्गालको स्वार्थ पुरा गर्न जाति, माटो र स्वाभिमान बेच्ने कोसिस गरिरहेको भन्दै जनता होसियार बसिदिने आह्वान पनि काम्बाङले गरेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares