कालिझोडामा शक्ति पूजा र फूलपाती शोभायात्रा

हाइवे, 16 अक्टोबर


पुरानो गरिमा फर्काउनेगरी कालिझोडामा शक्ति पूजा शुरु भएको छ। बीचमा राजनैतिक कारणले न त यस्तो धुमधामसित  पूजा हुनसक्यो, न त शोभा यात्रा। तर यसपल्ट श्याम बस्नेत, सचिन छेत्री, अमित गुप्त, विजय प्रधान, दिलिप छेत्री, उमेश परियार, अजित प्रधान, नारायण गजमेर, आशिष प्रधान, अर्पण मुखिया, राजेश प्रधान, आनन्द घतानी, अरूण घतानी, शैलु गुरुङ र सुकदेव वस्नेत तथा उनका साथीहरूले राजनैतिक सिमा तोडेर कालिझोडालाई नै एकतामा ल्याउँदै शक्ति पूजा धुमधामसित गरे।

श्याम बस्नेतले पूजा र शोभा यात्राका खर्च बेहोरे। अन्यले आआफ्नो हिस्साको जिम्मेवारी निभाए। यति भएपछि धेरैवर्षदेखि एकताबद्धरूपमा हुन नसकेको शक्ति पूजा आज भयो। विभिन्न सङ्गठन, राजनैतिक दलका समर्थकहरू शक्ति पूजामा एकसाथ देखिए। स्थानीयहरू भन्छन्, ‘शक्ति पूजा भनेकै एकताको प्रतिक हो, तर राजनैतिक कारणले कालिझोडाबासी एकतामा थिएनन्। तर यसपल्ट सबैले राजनीतिलाई घरघरमा छोडेर आए अनि शक्ति पूजा सफल बन्यो।’

कालिझोडाका बासिन्दाहरूले धेरैवर्षपछि सबै सम्मिलित बनेर आज फूलपाती शोभायात्रा पनि निकाले। शक्तिथानबाट शुरु भएको शोभायात्राले सँधै एकफन्को लाउँथ्यो तर आज मानिसहरूले उत्साहित बनेर दुइफन्को लगाए।

श्याम बस्नेतले भनेअनुसार शक्तिथानलाई तिहारसम्म पूजामय बनाइनेछ। ‘तिहारको देउसे भैलो यही शक्तिथानबाट नै शुरु हुनेछ,’ उनले भने।

शक्ति पुजा आयोजना समितिको आह्वानमा मानिसहरू शोभायात्रा र शक्ति पूजामा जुटेकोमा कमिटीले हर्ष व्यक्त गरेको छ।

कालेबुङमा पनि फूलपाती शोभा यात्रा निकालियो। दार्जीलिङ, सिलगढी, डुवर्सलगायत धेरै ठाउँ आज शोभायात्रा निकालिएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया