दशैंमा के गर्ने, के नगर्ने

 डा. अरुणा उप्रेती


‘दसैं आयो, खाउँला पिउँला…’
प्रायः बालबच्चाका मुखबाट दसैं आएसँगै यो उक्ति निक्लने गर्छ। दसैं भन्नेबित्तिकै सबैले मीठो-मीठो खानेकुरा सम्झिन्छन्। माछामासु, मिठाई र फलफूलजस्ता परिकारलाई दसैंको बेलामा विशेष प्राथमिकतामा राखिन्छ।

हरेक चाडपर्वमा हामीले खाने खानेकुरा हाम्रो संस्कृति र देशको अर्थ व्यवस्थासँग जोडिएका हुन्छन्। दसैंमा देशदेखि विदेशसम्मका मानिसहरूको जमघट हुन्छ । मानिसहरू एकअर्काको घरमा पाहुना बनेर यही मौकामा जान्छन्। त्यसैले यो अवसरमा खानपानमा विशेष जोड दिइन्छ।

दसैं र मासु
दसैंमा मीठो खाने चलन छ। मीठो भन्नेबित्तिकै हामी नेपालीको दिमागमा मासु आउँछ। दसैंमा माछामासु खानु स्वाभाविक हो। तर, माछामासुबिना पनि दसैं मान्न नसकिने भने होइन। मासु मानिसहरूको स्वादसँग जोडिएको कुरा हो। यसमा पर्याप्त मात्रामा प्रोटिन हुन्छ। मासु आफैँमा नराम्रो होइन। तर, त्यसलाई कसरी पकाइन्छ र कहाँबाट ल्याइन्छ ? त्यो मुख्य कुरा हो।

अधिकांश नेपालीले तेल, मरमसला, नुन, पिरो ट्वाक्क जिब्रोलाई स्वाद पर्ने गरेर मासुका परिकार बनाउँछन् । यसरी बनाएको मासु खान पाएपछि उनीहरू दंग पर्छन्। यस्तो मासु खाँदा जिब्रोलाई स्वाद त मिल्छ, तर शरीरलाई हानि पुर्‍याउन सक्छ। उच्च रक्तचाप, युरिक एसिड, मधुमेह, मुटु रोगको समस्या भएका बिरामीलाई यो मासु विषसरह हुन्छ। धेरै चिल्लो र पिरो खानाले ग्यास्ट्रिक, प्रेसर, खाना अमन हुने, बान्ता हुने, पचाउन नसक्ने, फुड प्वाइजन हुनेजस्ता समस्या निम्त्याउँछ। त्यसैले सकेसम्म ब्वाइल्ड मासु खानु स्वास्थ्यका लागि राम्रो हुन्छ।

मासु स्वादका लागि खाने भनिन्छ। तर, स्वादका लागि मासु खाँदा स्वास्थ्यमा पर्ने असरबारे सोच्नुपर्छ। मासु पकाउने बेलामा पनि उत्तिकै ध्यान दिनुपर्छ। राम्रोसँग नपकाइएको मासु पनि शरीरका लागि अस्वस्थ्यकर मानिन्छ। त्यस्तो मासु खाँदा विभिन्न रोग लाग्न सक्छन्। राम्रोसँग नपकाएका खानेकुरा र बासी खानेकुरा एकै हुन्।

चाडपर्वमा मासुको माग पनि बढी हुन्छ। मासु व्यापारीले सरसफाइमा त्यति ध्यान दिँदैनन्। त्यसैले सबैभन्दा पहिले मासु खरिदमै विशेष ध्यान दिनुपर्छ। बाटोमा जताततै राखिएका मासु किन्नु हुँदैन। जहाँ पायो त्यहीँको मासु किन्दा जनावरहरू बिरामी भएका हुन सक्छन्। बिरामी जनावरको मासु खाँदा मानिस आफैँ बिरामी पर्छ। त्यसैले आफूले चिनेको, विश्वास गरेको र सफा ठाउँबाट मासु किन्नुपर्छ। मासु खाँदा हरियो तरकारी पनि धेरै खानुपर्छ। पानी पर्याप्त मात्रामा पिउनुपर्छ।

शाकाहारीको दसैं
दसैं आउनेबित्तिकै एउटा बहस सुरु हुन्छ। शाकाहारीले भन्छन्- ‘मासु खानै हुँदैन।’ मांसाहारीले भन्छन्- ‘शाकाहारीको दसैं के दसैं।’ तर, यस्तो भनिरहनु जरुरी छैन। जसलाई मन लाग्छ, उसले खान्छ, जसलाई मन लाग्दैन, उसले खाँदैन। आजभन्दा हजारौँ वर्ष अगाडिदेखि नै मनिसहरूको मुख्य खानेकुरा मासु थियो। त्यसैले यो बहस गरिरहनु जरुरी छैन।

मांसाहारीले पनि शाकाहारीलाई मासुबिना खल्लो दसैं भनिरहनुपर्दैन। भोजन मिलाएर खान जाने शाकाहारी र मांसाहारी दुवैका दसैं एकदमै भव्य हुन सक्छ। जुन ठाँउमा जस्तो खानेकुरा पाइन्छ, त्यस्तै खानेकुरा खाने हो।

शाकाहारीले दसैंमा टुसा उम्रिएका गेडागुडी, खिर, मालपुवा, खजुरी बनाएर दसैं मनाउन सकिन्छ। त्यस्तै, भटमासबाट बनेको तोफु, पनिर, चिजजस्ता पौष्टिकताले भरिएका खानेकुराले शाकाहारीको दसैं एकदमै स्वस्थ र रमाइलो बनाउँछ। फलफूल, दूध, दही पनि शाकाहारीको लागि उपयुक्त खानेकुरा हुन्।

लोभी हुनु हुँदैन
खानेकुरामा मानिस स्वभावैले लोभी हुन्छ। पेट भरिसकेपछि पनि खाँऊखाँऊ लाग्छ। त्यसमाथि आफूलाई मीठो लाग्ने खानेकुरामा कमैले मात्र मन थाम्न सक्छन् । चाडपर्वमा हामी आफू त उकुसमुकुस हुने गरेर खान्छौँ-खान्छौँ, बिरामीलाई समेत ‘आज एक दिन खानुस्, अरू बेला मुख बार्नुहोला’ भनेर हौस्याउँछौँ। उसै पनि खान मन गरेर बसेका बिरामीलाई यसरी कर गरेपछि ढुंगा खोज्दा देउता मिलेसरह हुन्छ। यसले बिरामीको स्वास्थ्यमा के असर गरिरहेको हुन्छ, हामी विचार गर्दैनौँ। यसरी बिरामीलाई झन् बिरामी पार्छौं।

आफ्नो शरीरलाई चाहिनेभन्दा बढी खानेकुरा खानुहुँदैन। थोरै खाँदा थोरै र धेरै खाँदा धेरै रमाइलो हुने होइन। अव्यवस्थित खानपानले तत्कालीन असरहरू देखाउँदैन । दीर्घकालीन रूपमा धेरै असर गरिरहेको हुन्छ। त्यसैले एकछिनको रमाइलोका लागि होइन, स्वस्थ हुनका लागि खानेकुरा खानुपर्छ। दसैंमा धेरै ठाउँमा जाँदा धेरै नै खानेकुरा खाइन्छ । यसरी लगातार ‘हेभी’ खानेकुरा खाँदा शरीरले धान्न सक्दैन। यस्तो अवस्थामा एक छाक खान छोडेर शरीरलाई आराम दिन सकिन्छ। यसरी खानपिन गर्दा चाडपर्वपछि कसैले दुःख पाउनुपर्दैन। हाम्रो भोजन नै हाम्रो औषधि हो। हामीले राम्रोसँग भोजन गर्‍यौँ भने औषधिको आवश्यकता पदैैन। राम्रोसँग भोजन गरेनौँ भने जति औषधि गरे पनि त्यसले काम गर्दैन।

मीठो खाने, धेरै खाने भन्ने सोच हटाउनुपर्छ। पाँच-छ फिटको शरीरलाई चार इन्चको जिब्रोले नियन्त्रण गर्छ। खाँऊ-खाँऊ लाग्दैमा खाइहाल्ने गर्नु हुँदैन। त्यसले पछि शरीरमा कस्तो असर गर्छ, विचार पुर्‍याउनुपर्छ। लोभी नभई खानुपर्छ। कतिपय अवस्थामा खानेकुरामा ‘नो’ भन्न सक्यो भने शरीर स्वस्थ रहन्छ। स्वस्थ मानिसरले बिरामी नपर्ने गरेर खानेकुरा खानुपर्छ। बिरामीले भने झन् ध्यान पुर्‍याएर खानुपर्छ।

घरकै मिठाई राम्रो
दसैंमा मिठाई खाने चलन छ। बजारमा पाइने रंगीचंगी मिठाई देख्दा जति सुन्दर हुन्छन्, उति नै घातक पनि हुन्छन्। यिनले स्वास्थ्यलाई राम्रो गर्दैनन्। बजारमा बनाइएका मिठाई सकेसम्म खानु हुँदैन। मिठाईमा हालिएका रङले शरीरलाई हानि गर्छन्। मिठाई किन्नु नै पर्‍यो भने पनि कुनै रङ नहाली बनाइएको
मिठाई किन्नुपर्छ।

मिठाई जुन प्रकारको तेलमा पकाइएको हुन्छ, त्यो एकदमै खराब खालको हुन्छ। एउटै तेल बारम्बार प्रयोग गरिन्छ । त्यस्तो तेलमा भएको विषालु तत्व (टक्सिन) ले क्यान्सरसमेत हुन सक्छ। कतिपय ठाँउमा बासी मिठाई पनि फ्रेस बनाएर बेचेको पाइन्छ। यसले पनि शरीरमा नराम्रो असर पुर्‍याउँछ। मिठाई मैदा र चिनीले बनेको हुन्छ । चिनी र मैदा आधुनिक जमानाका विष हुन्। यी चिजले विशेष गरी मधुमेह र मुटु रोगीलाई समस्यामा पार्छन्। मिठाई स्वादिलो हुने भएकाले मानिसहरू धेरै खान्छन्। खाली पेटमा मात्र होइन, पेट टन्न भएको बेला पनि कोचेर खाने चलन छ।

चाडपर्वमा हामी फुर्सदिला हुन्छौँ। त्यसैले सबै कुरा किनेरै ल्याउनुपर्छ भन्ने छैन। घरमा बसेर धेरै परिकार बनाउन सकिन्छ। घरमै मिठाई बनाउन सकिन्छ। बजारको मिठाईको सट्टा सेल, हलुवा, पुरी, बेसनको लड्डु बनाउन सकिन्छ। मैदाको सट्टा खुवा र चिनीको सट्टा सक्खर र चाकु प्रयोग गरेर धेरै किसिमका मिठाई बनाउन सकिन्छ।

कोल्ड ड्रिंक नखाएकै बेस
कोल्ड ड्रिंक दसैंमा सबैभन्दा बढी खाइन्छ। यसले हाम्रो स्वास्थ्यलाई राम्रो गर्दैन। विश्व स्वास्थ्य संगठनले दैनिक वयस्क महिलाले पाँच चम्चा, पुरुषले सात चम्चा र बच्चाले दुई चम्चाभन्दा बढी चिनी खानु हुँदैन भनेको छ। तर, हामीले एक गिलास कोल्ड ड्रिंकबराबर नै १० चम्चा बराबरको चिनी खाइरहेका हुन्छौँ।

कपडाको क्वालिटी र बजारमा आएका मोबाइल फोन बरु हामी सोचविचार गरेर किन्छौँ। तर, आफ्नो शरीरभित्र के जान्छ भन्नेमा खासै ध्यान दिँदैनौँ। मोबाइल र लुगाजस्ता कुरा त अर्को पनि किन्न सकिन्छ। तर, मुटु, कलेजो र शरीरमा भएका अंग बिग्रिए भने अर्को किन्न र साट्न पाइँदैन।

लामो समयसम्म सुरक्षित राख्नुपर्ने भएकाले प्रायः कोल्ड ड्रिंकमा केमिकल राखिएको हुन्छ। कोल्ड डिंकको माध्यमबाट हामीले शरीरमा केमिकल पठाइरहेका हुन्छौँ। थाहै नपाई विष खाइरहेका हुन्छौँ। बट्टाको फ्रुट जुस खाँदा पनि ध्यान पुर्‍याउनुपर्छ। त्यसमा ८० प्रतिशत चिनीको मात्रा हुन्छ। चिनीले शरीरमा जस्तो हानि गर्छ, बट्टाको जुसले पनि त्यस्तै हानि गर्छ। त्यो जुस चिनीको झोल बराबर हो। ‘सुगर फ्री’ लेखिएका जुसमा पनि चिनी मिसाइएको हुन्छ। त्यसैले फलफूलको जुसभन्दा फलफूल नै खाँदा राम्रो हुन्छ। फलफूलको जुस खान मन भए घरमा नै बनाएर खानुपर्छ।

बच्चालाई बचाऔँ
दसैं ठूलालाई भन्दा सानालाई लाग्छ । खेल्नदेखि खानसम्म सबैमा उनीहरू नै बढी रमाउँछन्। दसैंमा टीकाटालाबाट आएको पैसा धेरै केटाकेटीले प्याकेटका खानेकुरा किनेर खर्च गर्छन्। अभिभावकले पनि दसैं त हो नि भन्दै उनीहरूलाई मन खोलेर खर्च गर्न दिन्छन्। प्याकेटका खानेकुरा बच्चाका लागि अस्वास्थ्यकर हुन्छ ।

पहिला दसैंमा धेरै चिउरा खाने चलन थियो। अहिले चिउरा खाँदा बच्चाको दाँत दुख्छ भन्ने अभिभावक भेटिन थालिएको छ। उनीहरू एकदमै गलत सोचिरहेका छन् । चिउराको सट्टा चाउचाउ, दालमोठ, कुरमुरे, चिप्स र अन्य बजारिया प्याकेटका खानेकुरा खान सल्लाह आजभोलिका अभिभावक दिन्छन्। तर, त्यसले शरीरमा कस्तो खालको असर गरिरहेको हुन्छ, उनीहरूले सोचेका पनि हुँदैनन्।

यस्ता खानेकुराले शरीरमा नुनको मात्रा बढाउँछ र सानै उमेरदेखि केटाकेटीको मिर्गौलामा असर गर्दै जान्छन्। प्रजनन उमेरका किशोरकिशोरीमा बजारिया खानेकुराले प्रजनन स्वास्थ्यमा समेत खराब गर्छ। यसले भविष्यमा ठूलो समस्या निम्त्याउन सक्छ।

सानै उमेरमा खानामा ध्यान नपुर्‍याउँदा युवा अवस्था नलाग्दै मानिस रोगको शिकार बनिसकेको हुन्छ। बुढ्यौली लागेपछि मात्र रोग लाग्दैन। आजभोलि अस्वस्थ खानपानका कारण युवाहरू रोगी हुँदै गइरहेका छन्।

फ्रिज गर्दा ध्यान दिनुपर्छ
चाडपर्वको बेला मानिसहरू एकदमै धेरै खानेकुरा बनाउँछन्। त्यसलाई फ्रिजमा राख्दै तताउँदै खान्छन्। तर, तीन दिनभन्दा बढी फ्रिजमा राखेको खानेकुरा खानु हुँदैन। डिप-फ्रिजमा भने अलि लामो समयसम्म राख्न सकिन्छ। फ्रिजमा धेरै दिन राखेको खानेकुराको पौष्टिकतामा ह्रास आउँछ। फ्रिजमा खानेकुरा राखेपछि जति चाहिन्छ, त्यति मात्र झिकेर प्रयोग गर्नुपर्छ। बाहिर निकालेर तताएको खानेकुरा फेरि फ्रिजमा राख्नु हुँदैन। जति चाहिने हो, त्यति मात्र निकालेर खानुपर्छ।

नफ्याँकौँ खानेकुरा
सामाजिक, आर्थिक र वातावरणीय हिसाबले खानेकुरा फ्याँक्नु एक प्रकारको अपराध हो। चाडपर्वका बेला हामी धेरै खानेकुरा बनाउँछौँ। ‘खान्नँ-खान्नँ’ भन्नेलाई पनि कोच्याएर खुवाउँछौँ। पहिला पाहुना खान लाज मान्छन् भन्ने सोच थियो। त्यसैले घरमा पाहुना आउँदा कोचेर खुवाउन सकियो भने पाहुनाको राम्रो सत्कार गरेको ठानिन्थ्यो। आजकाल लाज मान्ने चलन छैन। जति पेटले माग्छ, त्यति नै खाने हो। जबर्जस्ती खुवाउने चलन एकदमै नराम्रो हो।

नेपालीले विदेशमा गएर धेरै कुरा सिके। यो कुरा भने अझै सिक्न बाँकी छ। विदेशीहरू खान्छु भन्नेलाई मात्र थपेर दिन्छन्। खान्न भन्नेलाई कर गर्दैनन्। तर, हाम्रोमा थोरै खायो भने ‘मीठो भएन कि क्या हो’भन्ने चलन छ। त्यसैले पकाउने मान्छेलाई खुशी पार्न भए पनि थप्ने गरिन्छ। खाने आफ्नो पेटको लागि हो, अरूका लागि होइन भन्ने कुरा हामीले बुझेका छैनौँ। खानेकुरामा बिरामीलाई कर गर्नु भनेको उनीहरूलाई सजाय दिनु बराबर हो।

चाडपर्वमा होस् वा अरू बेला, जति जना मानिस घरमा बोलाइन्छ, त्यतिलाई मात्र खानेकुरा बनाउनुपर्छ। हामीलाई खानेकुरा फ्याँक्दा बरु लाज हुँदैन, तर थोरै खानेकुरा पुगेन भने लाज हुन्छ। यस्तो संस्कारलाई हटाउनुपर्छ। आमाबाबुले बच्चालाई सानैदेखि खानेकुरा फ्याँक्नुहुँदैन भन्ने खालको संस्कार सिकाउनुपर्छ।


अन्नपूर्णपोष्ट-बाट साभार

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares