आज विजया दशमी : टीका लगाइदिँदा दिने आशिष

भगवान् रामले रावणमाथि विजय प्राप्त गरेकाले यो दिनलाई विजयादशमी भनिएको हो । सोह्र सामग्रीले भगवती दुर्गा र अरू देवीहरू तथा देवताको नौ दिनसम्म गरेको पूजाको काममा कुनै त्रुटि भयो कि भनी त्यसलाई पूरा गर्न तामाको थालीमा चन्दनले अष्टदल लेखी त्यसको बीचमा माटाका देवीका तीन प्रतिमा वा राता अक्षताका तीन थुप्रा राखी बीचमा अपराजिता देवी, दाहिनेतिर जया देवी, देब्रेतिर विजया देवीको आव्हान र सोह्र सामग्रीले पूजा गरी यथाशक्ति हवन गरिन्छ ।

त्यसपछि जमराको पूजा गरी भगवती दुर्गा, अन्य देवदेवीहरूलाई चढाई आरती एवं पुष्पाञ्जली गरिन्छ । यति गर्नाले कसैले पनि आफू माथि दमन (विजय) गर्न सक्दैन भन्ने धार्मिक विश्वास छ । त्यसपछि आवाहनं नजानामि नजानामि विर्जसनम् । पूजां चैव नजानामि क्षम्यतां परमेश्वरी मन्त्र पढ्दै चन्दन, अक्षता, फूल छर्कंदै माफी माग्दै दुर्गा भगवती र अन्य देवीदेवतालाई विसर्जन गर्नुपर्छ ।

देवीका मूर्तिहरू र नवपत्रिकालाई बाजा, गाजा या वैदिक मन्त्र पढी जलाशयमा लगी सेलाएपछि घडाको जलले अभिषेक गरी देवीलाई चढाइएको रातो अनि सेतो वस्त्रको कपडा प्रसादका रूपमा घाँटीमा लगाइन्छ । अन्त्यमा घरका मूल मान्छेले भगवतीको प्रसाद स्वरूप अवीर र दहीमा मुछेको चामलका टीका निधारमा, जमरा टाउकोमा लगाई दक्षिणाका साथ आशीर्वाद दिइन्छ ।

टीका लगाइदिँदा दिने आशिष :

आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे ।

ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।

दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते ।

विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।

अर्थात् द्रोणपुत्र अस्वत्थामाको जस्तो दीर्घायु, दशरथ राजाको जस्तो श्रीसम्पत्ति प्राप्त होस् भगवान् रामको जस्तो शत्रु नाश हुन्, नहुष राजाको जस्तो ऐश्वर्य, पवनपुत्र हनुमानको जस्तो गतिशीलता, दुर्याेधनको जस्तो मान, सूर्यपुत्र कर्णको जस्तो दानवीरता, हलधर बलरामको जस्तो बल, कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता, विदुरको जस्तो ज्ञान र भगवान् नारायणको जस्तो कीर्ति प्राप्त होस् ।

यो अवसरमा लगाइने टीकाले मानिसको मस्तिष्कमा रहेको विकार हटाई पराक्रमी पुरुषार्थी भावको विकास गर्ने मान्यता छ । मजिठोको रातो रङमा गाईको दहीले रंगाएको रातो, सेतो अक्षताको टीका लगाउनुपर्छ । रातो र सेतो शान्ति र समृद्धिको प्रतीक हो । टीकाले मन, मस्तिष्क एवं विचारलाई शुद्ध चेतनायुक्त बनाउँछ ।

दशैंको टीका लगाउने काम पूर्णिमासम्म जारी रहन्छ र पूर्णिमादेखि दशैं अन्त्य हुन्छ । यसै बखत वर्षा पुग्यो भनी इन्द्रलाई समाचार दिने पौराणिक कथनको अवलम्बन गर्दै वर्षा थाम्न चङ्गा उडाउने कार्य पनि बन्द गरिन्छ ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया