बरुण भुजेलको ‘पुण्य तिथि’-लाई विमल गुरुङले बनाए ‘शपथ दिवस’ : भने- पुण्य तिथिको दिन बरुण भुजेलले देखेको सपनालाई साकार गर्ने, सपनाका व्यापारीहरूको व्यापार बन्द गराउने शपथ लिऔं

‘विश्व कै वृहत्तम् प्रजातान्त्रिक देश भारतमा संविधानको सुरक्षामा खटिएका पुलिसद्वारा नै नागरिक जीवनको सुरक्षा सम्बन्धी संवैधानिक अधिकारको हनन् गरिएको एउटा कालो दिन थियो सङ्ग्रामी बरुण भुजेलको ‘कस्टडियल डेथ’


कालेबुङ, 22 अक्टोबर


गोर्खा जनमुक्ति मोर्चाका कालेबुङका नेता वरुण भुजेलको पुण् तिथिलाई विमल गुरुङले ‘शपथ दिवस’-कोरूपमा पालन गर्ने घोषणा गरेका छन्। एक विज्ञप्ति जारी गर्दै विमल गुरुङले भनेका छन्, ‘गोर्खाल्याण्डको निम्ति सङ्घर्ष गर्दा पश्चिम बङ्गाल पुलिसको क्रुर पञ्जामा परेर ‘कस्टडियल डेथ’ –को शिकार बनेका सङ्ग्रामी बरुण भुजेलको पुण्य तिथि २५ अक्टोबरलाई गोर्खा जनमुक्ति मोर्चाले ‘शपथ दिवस’ –को रूपमा पालन गर्ने निर्णय लिएको जानकारी गराउँदछु।’

गुरुङअनुसार भुजेलको बन्दी अवस्थामा भएको मृत्युको एक वर्ष पुग्दा पनि उनको परिवारले अहिलेसम्म न्याय पाएको छैन। बङ्गाल पुलिस उनको मृत्युको निरपेक्ष कारण बताउन सक्ने अवस्थामा छैन।

‘विश्व कै वृहत्तम् प्रजातान्त्रिक देश भारतमा संविधानको सुरक्षामा खटिएका पुलिसद्वारा नै नागरिक जीवनको सुरक्षा सम्बन्धी संवैधानिक अधिकारको हनन् गरिएको एउटा कालो दिन थियो सङ्ग्रामी बरुण भुजेलको ‘कस्टडियल डेथ,’ गुरुङले भनेका छन्, ‘उनको मृत्यु भारतको सार्वभौमिकता अनि भौगोलिक अखण्डतालाई सुरक्षा गर्दै त्यसै परिधीभित्र गोर्खा अस्मिताको सुरक्षाको निम्ति, गोर्खाल्याण्डको प्राप्तिको निम्ति अनि भारतभरि छरिएर बसेका गोर्खाहरूको स्वाभिमानको निम्ति भएको हुनाले शहीदले देखेका ती सपनाहरूलाई पुरा गर्ने जिम्मा हामी प्रत्येक गोर्खाले लिएको हुनुपर्नेछ।’

गुरुङले वरुण भुजेलले देखेको सपनालाई साकार गर्न, सपनाको व्यापार गर्नेहरूको व्यापार बन्द गराउन सबैले शपथ लिनुपर्ने दिनको रूपमा उनको पुण्य तिथि पालन गरिदिने आग्रह गरेका छन्।

‘म सबै स्वाभिमानी गोर्खा नागरिक समक्ष आग्रह गर्दछु,  आगामी २५ अक्टोबर २०१८ –लाई हामीले पहिलो ‘शपथ दिवस’ –को रूपमा भारतभरि गोर्खा बसेको प्रत्येक घर आँगनमा पालन गरौँ,’ गुरुङले भनेका छन्, ‘घरमा, चोकमा, मन्दिर-गुम्बा-गिर्जा-मस्जिदमा दियो-मोमबत्ती आदि बालेर शहीदको सपना पुरा गर्ने शपथ लिँदै शहीद बरुण भुजेलको आत्माको चीर शान्तिको निम्ति प्रार्थना गरौँ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares