बरुण भुजेलको पुण्यतिथि: विमल गुरुङको लागि ‘शपथ दिवस’ : विनय तामाङको लागि ‘पश्चताप दिवस’

‘गोर्खाल्याण्डप्रेमीहरूलाई मारेर होइन तर उनीहरूलाई बचाएर हामी गोर्खाल्याण्ड राज्य गठन गर्नेछौं। यसको निम्ति देश, काल अनि परिस्थिति अनुकूल बनाउनु आवश्यक छ। हामी त्यसैको पूर्वाधारहरूको विकास गर्न लागिपरेका छौं, देशको निम्ति रगत बहाउने गोर्खाहरूले अपमानित बनेर होइन तर सम्मानित बनेर नै एकदिन गोर्खाल्याण्ड थाप्नेछ। यो हाम्रो प्रतिवद्धता हो।’


दार्जीलिङ, 23 अक्टोबर

बरुण भूजेल, विनय तामाङहरूले आन्दोलनलाई जिटिए-2 सित साट्दासमेत छुट्टै राज्यको निम्ति प्रतिबद्ध बनेका नेता हुन्। उनले विनय तामाङहरूलेजस्तो राज्यसत्तासित आत्मसमर्पण गरेनन्। भुजेललाई यही कारण पुलिसले पक्राउ गरे। उनीविरुद्ध अनेकौं मुद्दा थोपे। अकल्पनीय यातनाहरू दिए।

गोर्खल्याण्डप्रति बरुणको प्रतिबद्धताकै कारण उनलाई जेलमा अनैकौं यातना दिइएको उनको परिवारको भनाई छ। एकपल्ट विनय तामाङखेमाले विनय तामाङपट्टि लाग्ने हो भने जेलबाट मुक्त गर्दिने अफर आएकोसमेत बताएको थियो। यस्तो हुँदा पनि बरुणको प्रतिबद्धता डगमगाएन।

पुलिसले अत्याधिक यातना दिएकै कारण बरुण भुजेलको कस्टडियल मृत्यु भयो।

विमल गुरुङले बरुणलाई गोर्खाल्याण्डको साँचो शहिद बताउँदै उनको सपनालाई साकार गर्न उनको मृत्यु तिथिको दिनलाई छुट्टै राज्य गोर्खाल्याण्ड प्राप्तिको लागि प्रतिबद्धता जनाउने ‘शपथ दिवस’-कोरूपमा पालन गर्ने घोषणा गरेका छन्।

विमल गुरुङले यस्तो घोषणा गरेलगत्तै राज्यसत्ता निकट गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विनय तामाङले प्रतिक्रिया जाहेर गरेका छन्। उनले शहीद वरूण भूजेललगायत अन्यलाई शहीद बन्नुमा विमल गुरूङ अनि रोशन गिरी दायी रहेको आरोप लगाएका छन्।

‘विमल गुरुङले बरुण भूजेलको पुण्यतिथिको दिनलाई शपथ दिवस- को रूपमा होइन तर पश्चताप दिवस-को रूपमा पालन गरून् भनी हामी सुझाउ दिँदछौं,’ तामाङले भनेका छन्, ‘किनभने हरेकपल्ट गोर्खाल्याण्डको नाममा गोर्खाल्याण्डप्रेमीहरूलाई वलिवेदीमा चढाएर उनीहरूले सत्ता हत्याउने अनि आफ्नो पराक्रम प्रदर्शन गर्ने काममात्रै गरेका छन्। यसैले अझै पनि उनीहरूले पश्चताप गरेनन् भने बौद्धिक एवं शिक्षित बन्दै गइरहेको गोर्खाहरूको भावी पीढ़िले उनीहरूलाई कदापि माफी गर्नेछैनन्।’

तामाङले विमल गुरूङ अनि रोशन गिरीले वीर वलिदानी अमर शहीदहरूको शहादतलाई सिँढी लगाएर आफ्नो राजनैतिक स्वार्थ पूरा गरेको आरोप लगाउँदै तामाङले 2007 सालमा प्रमिला शर्माको शहादतको फायदा उठाएर सुवास घिसिङलाई पहाड़बाट खेदाएको बताएका छन्।

अकबर लामा, नीता खवास, विमला राई, विक्की लामाहरूको शहादतलाई सिँढी बनाएर गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनमा सहीछाप गरेको,  मङ्गलसिंहको शहादतलाई सिँढी बनाएर जीटीए चीफको रूपमा विमल गुरुङले शपथ लिएको पनि बताएका छन्।

तामाङले विमल गुरुङले अहिले पनि गोर्खाल्याण्डको नाममा युवाहरूलाई ब्रेनवास गरेर हतियार अनि हिंसात्मक आन्दोलन गरेर आफू भूमिगत भएको  भन्दै 105 दिनको आन्दोलनकालका अमर शहीद वरूण भुजेललगायत अन्य शहीदहरूको शहादतलाई सिँढी बनाएर गुमाएको सत्ता फेरि हात पार्ने प्रयास गरिरहेको आरोप लगाएका छन्।

‘विमल गुरूङ गोर्खाल्याण्डको नाममा निर्दोष गोर्खाल्याण्डप्रेमीहरूलाई वलिवेदीमा चढाएर सत्ताको सुखभोग गर्ने स्वार्थी नेतामात्र हुन्,’ तामाङले भनेका छन्, ‘विमल गुरुङको गणतान्त्रिक आन्दोलन कालमा पार्टीका धेरैजना नेतृत्व अनि कार्यकर्ताहरू निखोज रहेका छन्। उनीहरू जीवित छन् या हत्या गरियो, कसैलाई थाह छैन।’

वरूण भूजेललगायत शहीद विमल शाशङ्कर,  महेश गुरुङ, सुनिल राई, टाँसी भोटिया,सुरज भूसाल, समिर गुरुङ, अशोक तामाङ, आशिष तामाङ, दावा छिरिङ भोटिया, रोमिला राईलाई सम्झँदै तामाङले भनेका छन्,  ‘आफू सुरक्षित बसेर जनतालाई निधारमा गोली थाप्न लगाउने अनि यस प्रकारको हिंसात्मक स्थिति सृजना गर्ने कारक तत्वहरूको हामी खुलेर विरोध गर्दछौं। गोर्खाल्याण्डको निम्ति धेरैलाई शहीद बन्न उक्साउने, सैयौंलाई जेलमा षढाउने तर आफू चाहिए जेल जानसमेत डराउने अनि जनतालाई भने भावनामा डुबाएर शहीद बन्न अह्राउने नेताहरू गोर्खाल्याण्डको निम्ति होइन तर सत्ताप्रेमी हुन्। आजसम्म पनि उनीहरू गोर्खाल्याण्डको निम्ति होइन तर जेल जानुपर्ने डरलेमात्रै भाग्दै हिड़िरहेका छन्।यदि उक्त दावी झूटो हो भन्छन् भने रोशन गिरी अनि विमल गुरूङले गोर्खाल्याण्डको निम्ति भनेर एकैदिन पनि जेल गएको अथवा अनशनहरू बसेको रिकर्ड देखाउन् भनी हामी चुनौती दिँदछौं।’

विनय तामाङले यसैबीच गोर्खाल्याण्ड नै आफूहरूको मूल मागरहेको दाबी पनि गरेका छन्। उनले संवैधानिक एवं बौद्धिक आन्दोलनमार्फत नै गोर्खाल्याण्ड हासिल गर्ने भन्दै आफू पनि बाँचेर, जनतालाई पनि बँचाएर गोर्खाल्याण्ड ल्याउने दाबी पनि गरेका छन्।

‘गोर्खाल्याण्डप्रेमीहरूलाई मारेर होइन तर उनीहरूलाई बचाएर हामी गोर्खाल्याण्ड राज्य गठन गर्नेछौं। यसको निम्ति देश, काल अनि परिस्थिति अनुकूल बनाउनु आवश्यक छ। हामी त्यसैको पूर्वाधारहरूको विकास गर्न लागिपरेका छौं,’ तामाङले भनेका छन्, ‘देशको निम्ति रगत बहाउने गोर्खाहरूले अपमानित बनेर होइन तर सम्मानित बनेर नै एकदिन गोर्खाल्याण्ड थाप्नेछ। यो हाम्रो प्रतिवद्धता हो।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares