ओ दार्जीलिङ

सरोकार

उज्ज्वल प्रसाईँ


केही वर्षअघि नेपालका प्रधानमन्त्री भारत भ्रमणमा पुग्दा दिल्लीमा रहेका दार्जीलिङे प्रबुद्ध व्यक्तिले भेटघाटको मेसो मिलाए । छोटो समयका लागि नेपाली प्रमलाई भेट्न पुगेका उनीहरूले आफ्ना भनाइ राख्नुअघि प्रमले भनेछन्, ‘दार्जीलिङका नेपालीको समस्याबारे म जानकार छु, हामी यहाँ छलफल गर्छौं ।’ उनीहरूले प्रमसमक्ष हात जोडेर बिन्ती बिसाए, ‘हामी यही कुरा गर्न आएको । कृपया तपाईंले हाम्राबारे चिन्ता नगरिदिनुहोला । हामी नेपाली नागरिक होइनौं, भारतीय नागरिक हौं । भारतभित्र गोर्खाल्यान्ड राज्य बनाउन खोजिरहेका छौं । यो तपाईंको सरोकारको विषय नबनाइदिनुहोला । तपाईंले हाम्रोबारे केही बोल्नुले हामीलाई असहयोग हुनेछ ।’


दार्जीलिङे साहित्यकार रामलाल अधिकारीले झापाको बाहुनडाँगीमा आयोजित साहित्यिक कार्यक्रममा भने, ‘हामीलाई पारिका लेखक नभन्नु  । हिउँदमा स्याप्पै सुकिजाने मेची खोलोले हामीलाई कसरी छुट्याउन सक्छ ? हामी सबै नेपाली लेखक हौं  ।

अधिकारी रहेनन्, मेची खोलो छँदैछ । बगरमा धमिला सीमास्तम्भ उभिएकै छन् । ती स्तम्भहरू बेलाकुबेला हाम्रा राजनीतिक विवादका अप्ठ्यारा विम्ब बनिरहेकै छन् । सिमानावारिको कञ्चनजङ्घा एफएममा दार्जीलिङ लक्षित कार्यक्रमको नाम ‘सिमानापारि’ छँदैछ ।

राजनीतिक सिमानाले ठूलो अर्थ राख्छ । सुदूर भविष्यमा सबै सिमाना नामेट भए अर्कै कुरा, नत्र सिमानाले मान्छेका पहिचान निर्माण गर्छन्, आपसी सम्बन्ध परिभाषित गर्छन् । सिमाना राजनीतिक हो र त्यो कृत्रिम हो । त्यसको प्रभाव भने यति गहिरो छ कि हामीलाई त्यो कुनै स्वयम्भू संरचना प्रतित हुन्छ । सिमाना बेगरको दुनियाँको परिकल्पना बरु दुरुह र अप्राकृतिक भान हुन्छ ।

साहित्यिक माहोलले निबन्धकार अधिकारीलाई भावुक बनायो । कम्तीमा नेपाली साहित्यमा कृत्रिम सिमानाको उपादेयता धेरै नखोजौं भन्न चाहे । कल्पना सुखद थियो, यथार्थका आफ्नै दु:ख छन् ।

कुनै हिन्दीभाषी विहारी साहित्यकारले जनकपुर आएर त्यस्तै भावुकता व्यक्त गरेको हुनसक्छ । उसले भनेको हुनसक्छ, ‘पटना भनौं वा जनकपुर, हामी एकै हौं । हाम्रा दु:खका साझा चौतारीहरू छन्, भाषाको छानो एकै हो ।’ यी अमूक विहारी साहित्यकारको यो काल्पनिक वाक्य काठमाडौंसम्म सम्प्रेषण हुँदो हो त, काठमाडौंको चिडचिडाहट सतहमा स्पष्ट देखिन्थ्यो । कतिले त्यहाँ विस्तारवादी षड्यन्त्रको जालो पहिल्याउँथे । रामलाल अधिकारीको भावुकताले भने सिङ्गो काठमाडौंलाई भावुक बनाउँछ । त्यति भनेकामा उनलाई सतत धन्यवाद दिइन्छ ।

त्यसो त यथार्थको अर्को पाटो पनि छ । यताको सत्ताले दार्जीलिङमा जन्मेर नेपाललाई कर्मथलो बनाएका पारिजात र दान खालिङहरूलाई गरेको व्यवहार उति निको थिएन । पारिबाट आएर सत्ताको इर्दगिर्द घुम्नेहरूका कथा बेग्लै छन् । यहाँ राम्रो अवसर पाएर वृत्तिविकास गरेकाले नेपाली सत्ताप्रति देखाएको बफादारीका किस्सा विचित्रका छन् । राजनीतिक सिमाना एकैसाथ आर्थिक, सांस्कृतिक एवं मनोवैज्ञानिक पहेली बन्छ ।

भोग्य दार्जीलिङ
केही वर्षअघि नेपालका प्रधानमन्त्री भारत भ्रमणमा पुग्दा दिल्लीमा रहेका दार्जीलिङे प्रबुद्ध व्यक्तिले भेटघाटको मेसो मिलाए । छोटो समयका लागि नेपाली प्रमलाई भेट्न पुगेका उनीहरूले आफ्ना भनाइ राख्नुअघि प्रमले भनेछन्, ‘दार्जीलिङका नेपालीको समस्याबारे म जानकार छु, हामी यहाँ छलफल गर्छौं ।’ उनीहरूले प्रमसमक्ष हात जोडेर बिन्ती बिसाए, ‘हामी यही कुरा गर्न आएको । कृपया तपाईंले हाम्राबारे चिन्ता नगरिदिनुहोला । हामी नेपाली नागरिक होइनौं, भारतीय नागरिक हौं । भारतभित्र गोर्खाल्यान्ड राज्य बनाउन खोजिरहेका छौं । यो तपाईंको सरोकारको विषय नबनाइदिनुहोला । तपाईंले हाम्रोबारे केही बोल्नुले हामीलाई असहयोग हुनेछ ।’

भारतीय सत्ताले दार्जीलिङका नेपालीभाषीलाई भारतीय नागरिक ठान्दैन । उनीहरूले भारतीय सत्ताप्रति आफ्नो बफादारी पटक–पटक प्रमाणित गर्नुपर्छ । अनेक समुदायले भाषाकै आधारमा राज्यको माग गरे, त्यसका लागि सङ्घर्ष गरे । उनीहरूले राज्य पाए । गोर्खाल्यान्डको सङ्घर्ष जारी छ । सतहका सङ्केत बुझ्नेहरू भन्छन्, ‘भारतीय सत्ताले गोर्खाल्यान्ड सजिलै र छिटै दिँदैन ।’ दशकौंका सङ्घर्ष सबै व्यर्थ भएको भानमा धेरै अभियन्ता दिक्दार छन् । इन्द्रबहादुर राईजस्तो विख्यात साहित्यकारको मृत्यु हुँदा भारतको मूलधारले कतै सुइँको नपाउनु नेपालीले भोगेको अलगावको प्रमाण हो ।

नेपालका पहाडी राजनीतिज्ञ, पत्रकार एवं बुद्धिजीवी दार्जीलिङलाई हेरेर भावुक हुन्छन् । ठाउँ पाउँदा केही न केही भनिहाल्न पछि पर्दैनन् । दार्जीलिङले बनाएका भानुभक्तका शालिक, उनीहरूले वर्षेनि गर्ने सार्वजनिक रामायण पाठ, लगाउने दौरा–सुरुवाल र ढाकाटोपी, बजाउने मादल र बाँसुरीले उद्वेलित हुन्छन् । आफ्नैले भानुभक्तमाथि उठाएका प्रश्न त्याज्य तुल्याउन उता धुमधाम मनाइने भानु जयन्तीबारे लामा निबन्ध लेख्छन् ।

दार्जीलिङले निम्ता गरे उत्पात खुसी हुन्छन् । ‘नेपाली’ पहिचान जोगाउन नेपालले भन्दा ज्यादा सिक्किम र दार्जीलिङले भूमिका खेलेको बताउँदा थामिनसक्नु फुर्केका हुन्छन् । तर दार्जीलिङले भारतीय सत्तासँग गरेको लामो संघर्षबारे बुझाइ गहिर्‍याउन खोज्दैनन् । पहिला नेपालीभाषी भएर उनीहरू भारतीय नागरिक हुन सक्छन् भन्ने बोध गर्दैनन् । भारतीय सत्ताले ‘तँ पहिला नेपालीभाषी कि भारतीय ?’ भनेर सोधेको प्रश्नको अन्तर्य खुट्याउन सक्दैनन् ।

ब्रिटिस साम्राज्यले बनाइदिएको दार्जीलिङ नामको बिक्रीयोग्य वस्तु अर्थात कमोडिटीलाई सुन्दर पहाड वा चियाबगानका नाममा बेपर्वाह भोगियो । चियाबगानका बाहिरिया व्यापारी हुन् वा केवल पर्यटकीय नजरले हेर्नेहरू हुन्, उनीहरूका लागि दार्जीलिङ भोग्य वस्तुभन्दा बढी केही होइन । नेपालका पहाडे राष्ट्रवादमा ओतप्रोत मानिसमा आत्मरतिका लागि त्यसरी नै दार्जीलिङलाई भोग्ने चलन बलियो छ ।

आफ्नै मधेसले उठाएका समता र न्यायको आवाज नसुन्ने चेष्टा गरिरहनेका लागि दार्जीलिङ स्वयं त्यस्तो इयरफोन हो, जहाँ तिनले सुन्न चाहेको पहाडे राष्ट्रवादी धुन बजिरहन्छ । आवश्यक पर्दा त्यही धुन सुनिन्छ, सुनाइन्छ । त्यहाँ गोर्खाल्यान्ड आन्दोलन चर्किन थालेपछि यता थप्पडी बजाइन्छ । नत्र दार्जीलिङवासीका दैनन्दिनका संघर्षबारे यहाँ खासै छलफल हुँदैन, न कुनै गहिरो अध्ययन गरिन्छ ।

नेपाली भाषा, दौरा–सुरुवाल, टोपी र भानुभक्त उनीहरूले आफ्नो पहिचान जताउन उभ्याएका प्रतिरोधी राजनीतिक विम्ब हुन् भन्ने बोध गरिँदैन । साथै यी सांस्कृतिक विम्बमात्र पनि सिङ्गो दार्जीलिङ होइन भन्ने बुझ्दैनन् । आफूभित्र रहेका विविधताबारे त्यहाँका मान्छे संवेदनशील छन् भन्ने अनुभूति गर्नेहरू छैनन् । पहिचानसँग जोडिएका ती प्रतिरोधी विम्बको सम्मानभन्दा आफ्नो आत्मरति प्यारो हुने गर्छ, यता ।

दार्जीलिङको दृष्टिदोष
नेपालमा उल्लेख्य राजनीतिक परिवर्तन भएको थियो । रामवरण यादव संघीय गणतन्त्र नेपालका प्रथम राष्ट्रपति बनेका थिए । नयाँ नेपालको परिकल्पना चलिरहेको थियो । अन्यायी सामाजिक एवं राज्य संरचना बदल्ने अभियानमा थियो, नेपाल । तिनताक केही दार्जिलिंगे साहित्यकारसँग भेटघाट गर्ने मेसो मिल्यो । अनौपचारिक गफगाफका क्रममा ती लेखकहरू नेपालको पछिल्लो परिवर्तनसँग खुसी नभएको बुझियो । गफिँदै जाँदा नाम चलेका एक कविले मुख खोले, ‘के–के नाप्यौँ भन्थे, एउटा मधिसेलाई राजा बनाएछन् । राजा मास्यौ, अब धर्म मासिन्छ । गयो नेपालीपन, अब केही रहँदैन ।’ उनले मधेसी भन्न जानेका थिएनन् । अपमानजनक ‘मधिसे’ शब्द प्रयोग गरेर रोष व्यक्त गरे ।

मधेसीभन्दा आफू बढी बफादार नेपाली भएको आत्मरतिमा रमाउनेहरू भारतमा अझै छन् । कहिलेकाहीं उनीहरू आफू भारतीय नागरिक भएको र आफ्नो पहिचानका लागि भारतभित्रै सङ्घर्ष गर्नुपर्ने यथार्थलाई पनि नजरअन्दाज गरिदिन्छन् । नेपालका राजालाई आफ्ना संरक्षक ठान्नेहरूले राजतन्त्र अन्त्य हुँदा बेखुसी व्यक्त गरे । भोलि भारतमा आफ्नो अवस्था राम्रो नभए फर्केर राजाको शरण पर्न सजिलो हुन्छ भन्ने भाव व्यक्त गर्नेहरू छन् । त्यसैले राजालाई गद्दीबाट विदा गरेकामा उनीहरू क्षुब्ध भए । तिनले मौका पाउनासाथ यहाँको राजनीतिक परिवर्तन विरुद्ध आगो ओकल्छन् ।

मधेसमा भएका आन्दोलनलाई कतिले आफ्ना भानुभक्त, दौरा–सुरुवाल एवं नेपाली भाषा विरोधी आन्दोलनका रूपमा बुझे । यताका मधेस विरोधीहरूले निर्माण गरेका भाष्यलाई बिनाप्रश्न विश्वास गर्नेहरू उल्लेख्य छन् । मधेसले आफ्ना अलगावबारे बताउँदा उनीहरू आक्रोशित हुन्छन् । यताको सत्तालाई चुनौती दिँदा काठमाडौंतिर हेरेर च्वच्व गर्दै सहानुभूति जनाउँछन् । आफूले गरेको सङ्घर्ष र मधेसले अलगाव विरुद्ध बोलेको आवाजमा केही समानता हुनसक्छ भन्ने सोच्दैनन् । आफूलाई दुर्व्यवहार गर्ने कुनै बङ्गाली वा उत्तर भारतीय मानिसको प्रतिच्छाया रामवरण यादवको अनुहारमा देख्न खोजेका कारण ती कवि आक्रोशित भएका हुन् ।

अन्त्यमा,
नेपालबारे चासो राख्ने भारतीय नेपालीले नेपालको विविधता बुझ्न जरुरी छ । यतापट्टि भने दार्जीलिङ आत्मरितका लागि प्रयोग गरिने पहाडे राष्ट्रवादी विम्ब होइन, बरु उसको अलग अस्तित्व छ भन्ने अनुभूति गहिर्‍याउन आवश्यक छ । राजनीतिक सीमासँग जोडिने जटिलताबारे संवेदनशील नहुनु यथार्थलाई नजरअन्दाज गर्नु हो । अर्को समुदायले आफ्नो अस्तित्व एवं पहिचानका लागि गरेको सङ्घर्षलाई अपमान गर्ने छुट कसैलाई हुँदैन ।


कान्तिपुर-बाट

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares