गोचला ट्रेकिङमा गएका युवा भरियाको मृत्यु

गान्तोक, 26 अक्टोबर। पश्चिम सिक्किमको चर्चित पर्यटकीय ट्रेकिङ रूट जोङ्ग्री गोचला ट्रेकिङको निम्ति भरिय़ा बनेर गएका 23 वर्षीय युवाको लेक लागेर मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार आठ दिनको निम्ति पोटर बनेर गएका थिङलिङ निवासी बुद्ध हाङ लिम्बु कोकचुरूङ नामक स्थानमा पुगेपछि लेक लागेको जस्तो भएर बान्ता गर्ने र रिङ्गटा लागेको बताएपछि यात्रा रद्द गरेर उपचारको निम्ति फर्काउने क्रममा मृत्यको मुखमा परेका छन्। कञ्चनजङ्गा राष्ट्रीय निकुञ्ज (केएनपी) का कर्मचारी र योकसुम पर्यटन विकास समिति (वाइटीडीसी)  अनि स्थानीय युवाहरूको एक दलले बचाउ कार्यमा खटेर योकसुमदेखि 14 किलोमिटर टाडामा रहेको छोका पुगेर आज बिहान योकसुम ल्याउने तयारीको क्रममै प्राण गएको बताइएको छ। प्रत्यक्ष दर्शीहरूले बताए अनुसार कोचचुरूङबाट छोकामा आएर बास बसेपछि केही आराम भएको बताउँदै आज बिहान लगभग 10 मिनट आफै पैदल यात्रा गरेका  लिम्बूलाई लेक लागेको बेला हिँड्न नहुने बताउँदै जानकारहरूले बोक्ने व्यवस्था मिलाएर बोक्नै लाग्दा मृत्यु भएको थियो। उनी यो भन्दा पहिले पनि पोर्टर भएर यही रूटमा काम गर्दै आएका थिए भने अहिले दशौं श्रेणीको परिक्षामा कम्पार्ट भएपछि नियमित रूपमा पोर्टरको काम गर्दै आएका बचाउ दलमा गएकाहरूले बताए। मृतदेह योकसुम ल्याइपुऱ्याएपछि आज अपराह्न गेजिङ जिल्ला अस्पतालमा पोस्टमर्टमको निम्ति पठाइएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया