इबरा बित्दैमा लीलालेखन आउटडेटेड हुँदैन जस्तो लाग्छ-धरावासी

संवादमा राजा पुनियानी


आइतबार, 4 नोभेम्बरको दिन आख्यान लिजेण्ड कृष्ण धरावासी सिलगढी गुरुङबस्तीस्थित साङ्ग्रिला बुक केफेमा संवाद गर्न आइरहेका छन्। धरावासी आख्यान लिजेण्ड त हुन् नै, गैरआख्यानमा पनि सिद्धहस्त हुनुहुन्छ। उनका निबन्धहरूले नपालका नयाँ निबन्धलेखकहरूको लागि बाटो खनेका हुन्।

उपन्यासहरूमा उनक प्रयोग सिद्धान्तिकी र आस्वादन दुवैतिरबाट चिटिक्क मिलेका र पाठक फकाउने किसिमका हुन्छन्। कथाहरूको उचाइँ पनि उस्तै। झोला र भोर चलचित्रसमेत छन्। इन्द्रबहादुर राईले त लीलालेखनको बाँझो खने। त्यसलाई मलिलो धरावासीले नै बनाएका हुन्।

नेपाली साहित्यिक समाजले उनलाई पाउनु लरतरो उपलब्धी होइन। धेरैवर्षपछि उनी भारत आइरहेका छन्। उनी आइतबार यताका उनका पाठक, आलोचकहरूसित गफिनेछन्। यही माचोमा कवि राजा पुनियानीले यो संवाद गरेका हुन्।


भारतको साङ्ग्रिला बुक केफेमा संवाद कार्यक्रममा आउनु हुँदैछ । कस्तो पूर्वानुभव भइरहेको छ यसलाई लिएर ?

धेरै उत्साहित छु । धेरै वर्षपछि पारीका लेखक तथा पाठकहरूसँग साक्षात्कार हुने कुरालाई धैर्य साथ पर्खिरहेको छु ।

भारतको हिजोका र आजका सर्जकहरूसँग यहाँको संसर्गलाई कसरी फील गर्नुहुन्छ ?

मेरो जन्म पाँचथरमा भए पनि हुर्केको झापामा हुँ । मेरो पढाईको प्रारम्भ नै पारी दार्जीलिङका उपन्यासहरूबाट भएको हो । प्रकाश कोविद, सुवास, जय धमला आदिका किताबहरूले नै उपन्यास पढ्नका लागि बानी पारेका हुन् । मैले 1978 मा कलेजमा निबन्ध प्रतियोगितामा पुरस्कार पाएको थिएँ नेपाली साहित्यका भौप्वालहरू । यो जीवन नाम्दुङको किताब थियो । त्यसपछि नन्द हाङ्खिम, अगमसिहं गिरी, जसयोञ्जन प्यासी, पिटर जे. कार्थक, मनबहादुर मुखिया, शरद क्षेत्री , मोहन ठकुरी, राजेन्द्र भण्डारी, आदि हुँदै इन्द्रबहादुर राईसम्म पुगियो । पछिल्लो पुस्ताका धेरै भाइहरूको निरन्तर सम्पर्क र पठनमा छु ।

भारत आउनुहुँदा यहाँले भेट्नै पर्ने सर्जक को को हुन् ?

आईबी राई जीवित रहेसम्म म हरेक वर्ष उहाँलाई भेट्न जान्थें । पछि खालिङ सरलाई पनि भेट्न जान थालें । अलिक पहिला कुमार प्रधानलाई भेट्न जान्थें । अब उहाँहरू हुनुहुन्न । सायद अब भेट्नु पर्ने व्यक्तिहरू नयाँ अनुहारका हुनेछन् । सिलगढीमा मलाई सँधै भेटिरहन मन लाग्ने मान्छे ज्ञानेन्द्र खतिवडा हुनुहुन्छ । मेरो पछिल्लो उपन्यास ग्रेट फल्सको अन्तिम पृष्ठमा राजा पुनियानी र मनोज बोगटीलाई भेट्नु छ भनेर पनि लेखेको रैछु ।

धरावासी आज कुन धरामा उभिएका छन् ?

भौतिक धराको कुरा भए पाँच वर्ष अमेरिका बसेर फर्किएको छु । बौद्धिक धराको कुरा भए म विश्वजनिन चेतनामा बढी विश्वास गर्छु ।

विश्व निल्न खोज्ने अमेरिका नै किन रोज्नुभो जीवनको बाँकी बसाइ ?

म फर्कि नै सकें । केही वर्ष बसें । हेरें, बुझें ।

कविता जोड़ लेख्ने हो शुरु शुरुमा तपाइँले । मार्केट हेरेरै आख्यानतिर बास खोज्नु भएको हो त ?

हो । पहिला म कवि नै थिएँ । म कविता लेखनबाटै साहित्यमा आएको हुँ तर कसो कसो विस्तारै गद्यतिर लागेंछु । बजार हेरेर हैन । मेरो रूची निबन्धतिर थियो, पछि आख्यानतिर पनि लागियो । मेरो पहिलो प्रकाशित कृति नै निबन्ध थियो ।

 तपाइँजस्ता उचाइँका लेखकहरू पाइसकेर पनि नेपाली लेखनले अझ किन प्रोफेसनल हुन नसकेको?

सायद अब विस्तारै नेपाली लेखन त्यतातिर उन्मुख हुँदै गरेको देख्छु । मैले पनि पूर्णकालिन लेखन गर्नकै लागि पाँच वर्ष पहिल्यै जागिर छोडेको थिएँ ।

जति नै गरे पनि अन्तत: अधिभूतवाद नै तपाईँको लेखनको गुदी देख्छु । अधिभूतवादी चिन्तनले मान्छेलाई मुक्तिबोधदेखि टाढ़ा पार्दैन र ?

हामी ज्ञानको इतिहासबाट निर्देशित छौं । नयाँ गर्छौं पुरानोमै टेकेर । मुक्तिबोधको चेतना पनि एकदम नै नयाँ हैन । पहिलेकाहरू आध्यात्मिक मुक्तिको कुरा गर्थे अहिलेकाहरू सामाजिक, राजनीतिक र आर्थिक मुक्तिको । मुक्त आफै अधिभूत छ ।

तेस्रो विश्वको साहित्यले आर्थिक रूपले अग्रिम मुलुकका लेखनसँग कुम जुधाउन सक्ला ?

यो गारो कुरा हो । किनकि यहाँ पठनसंस्कृतिको विकास त्यो हदसम्म छैन कि कुनै कृति लाखौं वा हजारौ प्रतिको संख्यामा बिकोस् ।

कुन आइडियोलोजीतिर उन्मुख हो आज तपाइँ ?

म लीलाबोधी धारामा लेख्न रूचाउँछु ।

नेपाली साहित्य ग्लोबलाइजेशनको मारमा थलिएरै मर्ने हो कि ?

अनुवादलाई अभियानको रूपमा लानसके केही हदसम्म यो मारबाट बचाउन सकिन्छ ।

नेपाली साहित्यको लोकेसन विश्व साहित्यमा कहाँ र कसरी छ ?

अनुवाद गरी उनीहरूलाई नपढाएसम्म हामी यो लोकेशन पत्ता लगाउन सक्दैनौं ।

लीला लेखन जिउँदै हो कि आउटडेटेड भइसकेको हो त ?

कुनै पनि चिन्तनप्रवृति नयाँ वा पुरानो हुँदैन । केही कालसम्म मौन हुनु वा फेरि आवाज दिनु स्वभाविक हुन्छ । लीलालेखनले धेरै ठूलो हल्ला पनि गरेन, मौन पनि बसेन । जहाँसम्म इबरासँगको कुरा हो उहाँ जीवित रहेसम्म यसैबारे काम गरिरहनु भयो । उहाँ बित्दैमा यो चिन्तनबिधि आउटडेटेड हुँदैन जस्तो लाग्छ ।

इबरा बितेर गए । इबरालाई सिरियसली फलो गर्ने र उनलाई नेपालमा चिनाउने अनन्य काम तपाइँबाटै मात्र सम्भव भएको हो । इबरा आज कति रेलिभेन्ट छन् ?

इबरा नेपाली भाषाका भारतीय साहित्यकारका हिमाल हुन् । उनी बाँचुन्जेल भारतमा यता नेपालमा मदनमणि दीक्षित जत्तिका बौद्धिक मलाई अरू लाग्दैन । अब त इबराको भौतिकी इतिहास हो, वर्तमान त उनका काम मात्र हुन् । ती हिँडिरहेसम्म तिनैले उनको उपस्थिति बोध गराउलान् ।

नेपालको नेपाली साहित्यको हालचाल के हो आज ?

नेपालको नेपाली भाषाको साहित्य उकालो चढिसकेर तेर्सिदैछ । तेर्सोमा यात्री अल्छी पनि हुन सक्छ ।

आजको भारतीय नेपाली साहित्यलाई हजुरले कसरी हेरिरहनु भएको हो ?

नेपाली भाषाको भारतीय साहित्यको केन्द्र उहिलेदेखि नै दार्जीलिङ र सिक्किम हो । आसामबाट पनि धेरै काम भइरहेका छन् तर दार्जीलिङ र सिक्किम सँधै नौलो केही गर्न छटपटाइरहन्छ । अचेल पनि नयाँ पुस्ता केही नयाँ गर्न छटपटाइरहेको देख्छु । जातीय स्वतन्त्रताको लडाईमा धेरै छटपटाई रहेको देख्छु ।

इबराहरूको र आजको नेपाली भारतीय लेखनमा के कस्ता फरक महसुस हुन्छ ?

इबरापछि बौद्धक र प्रयोग दुवै धारमा हस्तक्षेप अभियान आउँदै गरेको देख्छु । यसले कहाँसम्मको यात्रा गर्न सक्छ, पर्खिनु पर्छ ।

लीला लेखनतिर पनि हजुरको यात्रा रह्यो । इबराको साहित्यिक अवस्थान विश्व साहित्यमा कसरी आँक्नु हुन्छ ?

इबराको लेखन तथा सैद्धान्तिक उपस्थिति पश्चिमीहरू सरहकै थियो तर समयमा तिनलाई अनुवाद गरेर हामीले पढाउन सकेनौं ।

मान्छे भौतिक जीवनमा रुमल्लिरहेको र एक्लिँदै गएको एलियनेशनको दौरमा साहित्यको गतिलै भूमिका छ । उसलाई चाहिने साहित्यबाटै विमुखिने च्यालेञ्जलाई लेखकले कसरी फेस गर्नु पर्ने हो ?

मानिसका समकालिन स्थितिहरूसँग जीवनलाई जोडेर लेख्न सके पाठक टाडिने कुरै आउँदैन । पश्चिमी मुलुकका लेखकहरूले पाठकलाई पटक्कै हल्लिन दिएका छैनन् ।

भारतमा नेपाली साहित्यको विकासका लागि यहाँले व्यक्तिगत रूपमा कल्पिदिनु हो भने कस्तो मोडल अघि ल्याउनु हुने हो ?

जुनसुकै भाषाको साहित्य पनि आफ्नै सैद्धान्तिक धरातलमा उभिन सकेको राम्रो हुन्छ । हामी नेपाली भाषी लेखन गर्नेसँग नेपालीय कुनै शैली बनाउन सकेका छौं के त !

भारतका अन्यान्य भाषाका साहित्यसँग नेपाली भाषाको साहित्यले कसरी कम्पिट गर्नु पर्ने हो?

आफ्नै संस्कृति र सभ्यताबाट उनीहरूसँग अलग हुन सकिन्छ । विश्वजनिन लेखन सिद्धान्तहरूमा लेखेर हामी छुट्टै कसरी देखिनू !

साहित्य र बजारको नाता के हो ?

व्यापार हो ।

आजको च्यालेञ्जिङ युगमा साहित्यले निर्वाह गर्नु पर्ने भूमिका के आज भइरहेको हो त ?

कुनै पनि वर्तमानले त्यस युगलाई चित्तबुझ्दो लेखन खर्न सकेको हुँदैन । आज पनि छैन ।

कुन नयाँ प्रोजेक्टमा व्यस्त हुनुहुन्छ अहिले ?

विज्ञान र अध्यात्मलाई जोडेर पढ्ने कोशिशमा छु ।

भारत विशेष गरी दार्जीलिङमाथि कुनै आख्यान लेख्नु परे यहाँले के थीम टिप्नुहुने हो ?

धेरै पहिला शरणार्थी उपन्यासमा गोर्खाल्याण्ड आन्दोलनबारे छोटो चर्चा गरेको थिएँ । चित्त बुझ्दो गरी लेख्न मन छ ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares