‘४ करोड़ ३८ लाख ७५ हजारको विरोध प्रदर्शन दिल्लीमा होइन, ममता व्यानर्जीको विरुद्ध गरुन्’

 ‘विनय गुट विद्यार्थी मोर्चाले शक्ति प्रदर्शन दिल्लीमा होइन तर ममता व्यानर्जीको सरकारविरुद्ध गरुन्। शक्ति प्रदर्शन भन्ने कुरा पश्चिम बङ्गालको ममता व्यानर्जी सरकारले पहाड़मा गोर्खाहरूका हक, अधिकार, संस्कृति, भूगोल र राजनीतिक इतिहास कुल्चिएको र खोसिएको विरोधमा भएको हुनुपर्छ। ममता व्यानर्जीको कुर्सी गोर्खाल्याण्डपन्थी शहीदको रगतले रङ्गिएको विरोधमा शक्ति प्रदर्शन गरिएको हुनुपर्छ। यसका साथै केन्द्रलाई गोर्खा शक्ति देखाएर गोर्खाल्याण्ड मागिएको हुनुपर्नेछ।’


दार्जीलिङ, ४ नोभेम्बर


एउटै पार्टीका दुइ वद्यार्थी मोर्चाबीच लडाईँ शुरु भएको छ। केही दिन अघि विनय तामाङ गुटका गोर्खा जनमुक्ति युवा मोर्चा (गोजयुमो) –का उपाध्यक्ष उपकार नेचालीले दिल्लीमा २२,५०० लगेर शक्ति प्रदर्शन गर्ने घोषणा गरेका थिए।त्यसमाथि विमल गुरुङ गुटका गोर्खा जनमुक्ति विद्यार्थी मोर्चाका सहायक महासचिव अनमोल थापाले प्रतिक्रिया प्रकट गरेका छन्।

उनले भनेका छन्, ‘विनय गुट विद्यार्थी मोर्चाले शक्ति प्रदर्शन दिल्लीमा होइन तर ममता व्यानर्जीको सरकारविरुद्ध गरुन्। शक्ति प्रदर्शन भन्ने कुरा पश्चिम बङ्गालको ममता व्यानर्जी सरकारले पहाड़मा गोर्खाहरूका हक, अधिकार, संस्कृति, भूगोल र राजनीतिक इतिहास कुल्चिएको र खोसिएको विरोधमा भएको हुनुपर्छ। ममता व्यानर्जीको कुर्सी गोर्खाल्याण्डपन्थी शहीदको रगतले रङ्गिएको विरोधमा शक्ति प्रदर्शन गरिएको हुनुपर्छ। यसका साथै केन्द्रलाई गोर्खा शक्ति देखाएर गोर्खाल्याण्ड मागिएको हुनुपर्नेछ।’

उनले विज्ञप्ति जारी गर्दै अझ भनेका छन्, “त्यसो गरे नेचालीले पहाड़बाट ल्याउँछौं भनेका २२,५०० कार्यकर्ता त के ५०,००० कार्यकर्ता आए पनि हामी चिया पानी, खाजा सबैको बन्दोबस्त गरिदिनेछौं, तर, ममता व्यानर्जीको पैसामा विनय तामाङको गोर्खा जातिविरोधी विरोधी षड़यन्त्र बोकेर दिल्लीमा ५०,००० नै मान्छे किन नपसोस्, हामी सुर्ताउँदैनौं। हामी गोर्खा जातिको भाग्यसँग खेल्ने अधिकार कसैलाई दिदैनौं।”

विनय तामाङ गुट युवा मोर्चाका उपाध्यक्ष उपकार नेचालीले दिल्लीमा शक्ति प्रदर्शनको तयारी गरिरहेको र २२,५०० कार्यकर्ता दिल्ली ल्याइने कुरालाई आफूहरूले हृदयबाटै स्वागत गर्ने पनि अनमोल थापाले बताएका छन्।

उनले केही दिन अघि मात्र स्थापना दिवस कार्यक्रम गर्न दिल्ली पुगेका विनय तामाङको विरुद्ध भएको विरोध प्रदर्शनलाई पनि स्मरण गराएका छन्। साथै विज्ञप्तिमा २२,५०० जना कार्यकर्ता दिल्ली आउँदा के कति खर्च लाग्छ, त्यसको हरहिसाब समेत खुलाएका छन्।

थापाले विज्ञप्तिमा लेखेका छन्, “विनय तामाङ जीटीएको सत्तामा बसेको केवल एकवर्ष पुग्दा उसको युवा मोर्चाले २२,५०० कार्यकर्ता पहाड़बाट दिल्ली ल्याउँछु भन्छ। एनजेपीदेखि दिल्लीको रेलको जेनेरल डिब्बामा न्यूनतम भाड़ा रु. ६००-को दरले २२५०० जनाको आउजाउको खर्च जोड़्दा रु. २ करोड़ ७० लाख हुन्छ। एकजनाले एनजेपीदेखि दिल्ली पुग्दा रेलमा निम्नस्तरको खाना खायो भने तापनि रु २५० को दरले आउजाउ गरी कुल रु० १ करोड़ १२ लाख ५० हजारको खान्छ। दिल्लीमा पुगेर मिलेर डोर्मिटोरीमा सुतेर पनि त्यहाँ खानु, बस्नु अनि प्रदर्शन स्थलसम्म पुग्नु गरी एकजनामाथि न्यूनतम खर्च रु २५० प्रतिदिन नै आयो भने पनि जम्मा रु० ५६ लाख २५ हजार दिल्लीमा एकदिनको लाग्छ। पहाड़बाट सिलगढ़ीको एनजेपीसम्म पुग्नुपर्ने खर्च अनि अन्य विविध खर्चलाई त हामीले जोड़ैकै छैनौं। यसको अर्थ केवल एकदिनको खर्चलगायत यात्रा जोड्दा जम्मा रु० ४ करोड़ ३८ लाख ७५ हजार खर्च हुनेरहेछ। जन्मेको १ वर्षमा युवा मोर्चाकोमा यत्रो पैसा कहाँबाट आयो? पहाड़मा विकास भन्दै के विनय टीमले आफ्नो विकास गर्दैछ? कि दिल्ली गएर जातिको स्वाभिमानको धुलो उड़ा भनेर ममता व्यानर्जीले खर्च दिँदैछ? पहाड़बाट दिल्ली आउन अघि यसको जायज जवाफ पनि तयार गरेर आउनू।”

थापामाले विज्ञप्तिमा थप लेखेका छन्, “जहिल्यै विमल गुरुङपन्थीलाई गोर्खाल्याण्ड मुद्दामा समर्पित छैन भनेर आरोप लगाउने विनयपन्थीको गोर्खाल्याण्ड समर्पण हेर्नेछौं हामी दिल्लीमा। हाम्रो मनभित्र भएको गोर्खाल्याण्डप्रतिको समर्पणको भावलाई यदि कसैले खेलाइँची गर्छ भने त्यस्ता मीरजाफरको जवाफ दिनेछौं।”  यसका साथै उनले बङ्गालकी मुख्यमन्त्रीको कठपुतली भएर जातिलाई घात गर्नेहरू षड़यन्त्रबाट सतर्क रहने जनतालाई अपील गरेका छन्। “हाम्रो आउने भावी पिँढ़ीलाई आफ्नै माटोमा बिरानो बनाउने ठूलो खेलको शिकार हुनुबाट जोगिनु र जोगाउनु प्रत्येक गोर्खाको कर्तव्य हो”, विद्यार्थी मोर्चाका सहायक महासचिव अनमोल थापाले विज्ञप्तिमा लेखेका छन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares