घैयाबारीमा आगलागी, दोकानसहित दुई घरहरू खरानी : लाखौंको सम्पत्ति नष्ट

खरसाङ, 5 नोभेम्बर।


खरसाङ महकुमाअन्तर्गत तीनधारे महानदी समष्टिको घैयाबारीमा आइतबार आगो लागेर दोकानसहित दुई घर जलेर खरानी भएको छ। एनएच 55 अन्तर्गत घैयाबारी रेलवे स्टेशन अगाड़िपट्टिको एउटा ठूलो दोकान र घर अनि अर्को एउटा घर जलेर खरानी भएको छ। स्थानीयहरूले बताएअनुसार राती 10 बजेतिर अचानक आगो लागेर प्रकाश गुप्ताको ठूलो दोकान र किशोर खालिङको घर जलेर खरानी भयो। प्रकाश गुप्ताको घर पूर्णरूपमा जलेको कारण तिहारको लागि दोकानमा राखिएको सबै प्रकारका सामानहरू लगायत एउटा मारूती गाडी, स्कुटर पनि जलेको छ भने घर भने सय प्रतिशत जलेको छ। उनको जम्मा 50 लाख बराबरको सम्पत्ति नष्ट भएको बताइएको छ। त्यसरी नै दोकानकै छेउमा रहेको किशोर खालिङको घर पनि जलेर नष्ट भयो भने यस घरको 28-29 लाख क्षति भएको छ। यीबाहेक पनि आगोले नजिकमा रहेको प्रशान्त खालिङको घर 60 प्रतिशत जलेको र 10 लाख जति क्षति भएको अनि सूरज छेत्रीको घर 40 प्रतिशत जलेको र लाखौं सम्पति नष्ट भएको बताइएको छ।

आगलागीको घटनाबाट बाँच्नलाई घरबाट भाग्ने क्रममा प्रकाश गुप्तालाई ढाढ़मा र उनकी पत्नी सरोज गुप्ता उठ्न नसकेको, छोरा अभय गुप्तालाई शिरमा चोट लागेको अनि किशोर खालिङलाई पनि चोट लागेको कारण खरसाङ महकुमा अस्पतालमा उपचाराधीन अवस्थामा छन्। अस्पतालबाट उपचारपछि घर आएका प्रकाश गुप्ताका छोरा अभय गुप्ताले घटनाको विवरण दिँदै भने – “हामी सुतिरहेको समय आमाले आगो लाग्यो भनेर उठाउनु भयो अनि हेर्दा पूरै घर जलिसकेको थियो अनि हामी घर पछाडिबाट उफ्रेर भागेर ज्यान जोगाएको साथै भाग्दा चोट लागेको हो।”

राती आगलागीको घटनापछि स्थानीयहरूले आगो निभाउन निक्कै सहयोग गरेको स्थानीयहरूले बताएका छन्। आगोले दुई घर पूर्णरूपमा नष्ट भएकोले दुई परिवारलाई पूनर्वासको लागि आफन्त र छिमेकीको घरतिर राखिएको छ। पीडित परिवारलाई घैयाबारी ग्राम पञ्तायतको तर्फबाट तारपोलिन, कम्बल र अन्य लुगाफाटाहरू रिलिफको रूपमा दिइएको छ। समाचार लेखुञ्जेलसम्म जीटीए बीओए उपाध्यक्ष अनित थापा, खरसाङका विधायक रोहित शर्मा, खरसाङ खण्ड विकास अधिकारी घटनास्थलमा निरीक्षणको लागि आएका थिए। अर्कोतर्फ गोजमुमो घैयाबारी खण्ड समितिले आपतकालीन सभा गरी दुई परिवारलाई 5-5 हजार रूपियाँ सहयोग गरेका छन् भने खण्ड समितिको तर्फबाट यस क्षेत्रमा यसपालीको तिहार रमझम नगर्ने र देउसी -भैलो नखेलिदिने तथा दक्षिणा दिने पैसा सबै पीडित परिवारलाई सहयोग प्रदान गर्ने अपिल सभापति मणिकुमार छेत्री र राजु छेत्रीले गरेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares