पहिले जजसलाई प्रेरणा दियौं, उनीहरूबाटै प्रेरणा लिएर सिर्जना गरिरहेका छौं अहिले- पदम सुवेदी

गैरीबास, 8 नोभेम्बर


‘उज्ज्वल बमजन, कमल रेग्मी, रमेश थापा, मनोज बोगटीहरू जसले आज नेपाली साहित्यमा आफ्नो दह्रो उपस्थिति दिइरहेका छन्, उनीहरूलाई यसको निम्ति हामीले प्रेरणा दियौं,’ गैरीबास उच्चतर विद्यालयका प्रधान अध्यापक पदम सुवेदीले भने, ‘आज उनीहरूकै प्रेरणा लिएर हामी कविता लेखिरहेका छौं।’

गैरीबास उच्चतर विद्यालयका शिक्षकहरू बाबर गुरुङ, कैलास गुरुङ, गौतम  खवास, रविन गुरुङ, लेखक आरबी छेत्री, कवि सेवक राई, सङ्गीतकार प्रसाद रनपहेंली, पत्रकार दिवाकर सार्की, दावा पाखरिन, कवि रमेश थापालगायत कवि मनोज बोगटीले उनी यसरी बोल्दै गर्दै समर्थनमा टाउको हल्लाइरहेका थिए। स्थानीय सर्जक र साहित्यानुरागीहरूलाई गैरीबास उच्चतर विद्यालयको आँगनमा लक्ष्मी पूजाको अवसरमा निम्ताइएको थियो।

अवसर थियो, लक्ष्मीप्रसाद देवकोटाको जन्मदिन। उद्घोषक रविन गुरुङले धेरैवर्षपछि यसरी साहित्यिक भेलामा सर्जक र साहित्यानुरागीहरू जुट्न पाउँदा हर्ष लागेको बताए। ‘समाजलाई राजनीतिले सँधै चपेटमा लिइरह्यो, तर साहित्य समाज सँधै पछाडिपऱ्यो,’ उनले भने, ‘अब यो छोडिएको साहित्यिक समाजलाई अघि ल्याउनै पर्ने प्रतिबद्धतासहित हामीले गैरीबास साहित्यिक मञ्च बनायौं, तपाईँहरूलाई निम्तो गऱ्यौं। अब गैरीबासको साहित्यिक गरिमा फर्काइल्याउन हामी सबैको कर्तबव्य बनेको छ।’

उनले सेलाएको साहित्यिक माहौल फर्काइल्याउन मञ्च बनाइएको अनि यही मञ्चमार्फत सर्जकीय कार्यक्रमहरू निरन्तर गर्ने पनि बताए। मञ्चका अध्यक्ष उनी आफै हुन्। सचिव कवि सेवक राई हुन्। मेकलाल सुब्बा कोषाध्यक्ष छन्। आरबी छेत्री, कमल रेग्मी, रमेश थापा, मनोज बोगटी, केपी ओझा, बाबरराज गुरुङ, प्रमेश गुरुङ, सन्तोष गुरुङ, मदन शर्माहरू सल्लाहकार छन्।

पुष्कर गुरुङ, भीमप्रसाद शर्मा, विशाल राई, राकेश छेत्रीहरू सदस्य छन्। मुख्य संस्थापक भने पदम सुवेदी छन्। ‘गैरीबास उच्चतर विद्यालयबाट धेरै राम्रा साहित्यकारहरू जन्मिएका छन्, उनीहरूले ठाउँ र स्कूल दुवैको नाम राखेका छन्,’ पदम सुवेदीले भने, ‘अब यही मञ्चबाट सबैलाई अघि लगाएर गैरीबासीय साहित्यिक अभियान अघि बढाऔं।’

कार्यक्रमलाई अध्यक्षता गरिरहेका लेखक आरबी छेत्रीले यसै माचोमा देवकोटाका देखिएका र नदेखिएका पाटो केलाए। ‘देवकोटा अझ पनि अनेकौं विवादहरू बीच नै छन्,’ उनले भने, ‘तरै पनि उनका कृतिहरूले उनलाई विवादभन्दा माथि उचालेर राखेको छ।’ छेत्रीले देवकोटालाई भविष्यद्रष्टासमेत रहेको भन्दै कविताबाहेक देवकोटाले अरू केही नसोच्ने भएकोले अथवा कवितीय सनकले नै उनलाई महाकवि बनाएको पनि थपे।

सङ्गीतकार प्रसाद रनपहेंलीले देवकोटाको मुनामदनका लहरहरूलाई गीत बनाएर सुनाए। गैरीबास बगानका व्यवस्थापक विदुर गुरुङका गीत अझ बोनसकोरूपमा पनि थपे। स्कूलकै केही विद्यार्थीहरूले कविता र नृत्य देखाए। सलिम गुरुङले नारायण गोपालको गीत गाएर सुनाए। केपी ओझाले देवकोटाबारे थप जानकारी दिए। यसैबीच भर्खरै चर्चित गायक सुरेश कुमारले गाएको आफ्नो गीतबारे पनि जानकारी दिए।

कवि रमेश थापाले गैरीबास उच्चतर विद्यालयका शिक्षक एसबी गोलेलाई मिस गरे। ‘जब पनि देवकोटा जयन्ती आउँथ्यो। सरले झोलामा, धुपकाँटी, खदामाला, सरसमान हालेर ‘चलबेटा’ भन्दै हामीलाई डोहोऱ्याएर ल्याउँथे, हामी देवकोटा जयन्ती मनाउँथ्यौं,’ कार्यक्रमका विशिष्ट अथितिसमेत रहेका थापाले भने, ‘आज उनी बितेर गए, देवकोटा जयन्तीहरू पनि बितेको थियो। फेरि आजदेखि त्यो वातावरण बनिरहेको छ, हामी हर्षित छौं।’

उनले गजल पनि सुनाए। कविता सुनाउनेहरूमा पदम सुवेदी र मिलन सुवेदी पनि थिए। मिलन सुवेदीले हँसिमजाक पनि गरे। ‘म पनि कवि बनेंछु, कविता सुनाउनुहोला भन्ने निम्तो आउँदा कस्तो खुशी लाग्यो,’ उनले भने, ‘मनोज बोगटी, रमेश थापाहरूले लहरमा कविता सुनाएको हुँ भन्न पाउँदा नि खुशी लाग्छ।’

मुख्य अथिति मनोज बोगटीले पनि भने, ‘यही स्कूलले पहिलोपल्ट कविता लेख्न सिकायो, यही स्कूलको आँगनमा पहिलेपल्ट मुख्यअथिति बनिरहेको छु, पहिलोपल्ट जे पनि दियो, यही स्कूलले दियो। एक विद्यार्थीको निम्ति यो भन्दा ठूलो प्राप्ति अरू के हुन सक्छ?’

उनले आफ्ना विचार राख्दै स्कूल नै कला कारखाना रहेको बताए। ‘स्कुलीय पठनपाठन त एउटा सिस्टम हो, यसको निम्ति कर्तव्यहरू तय छन्,’ उनले भने, ‘तर गुरुबाहरूसित कहिल्यै कर्तव्यहरू सिमित हुँदैनन्। उनीहरूले विद्यार्थीहरूभित्रका कलालाई बाहिर निकालिदिनुपर्छ। मञ्चहरू प्रदान गरिदिनुपर्छ। परिस्थिति, वातावरण वा प्रेरणाहरू उपलब्ध गराउनुपर्छ। यस्ता विषयहरू कुनै सिलेबसमा उल्लेख हुँदैनन्, यो नितान्तै उनीहरूको समाज बनाउन पुरा गर्नुपर्ने नीजि कर्तव्यहरू हुन्।’

उनले देवकोटालाई सर्जकीय भेला हुने निमित्तमात्र रहेको भन्दै गैरीबास साहित्यिक मञ्चलाई गैरीबास कला मञ्च बनाएर कलाका सबै पाटोलाई समेटेर अघि बढेमा सही काम हुनसक्ने भन्दै परामर्श पनि दिए।

‘राजनीतिले सँधै सही काम गर्दैन। यसले समाजका मूल्यहरू नष्ट पनि गर्छ। साहित्यले समाजका अन्तरविरोधहरू केलाएर हेर्ने चेतना दिन्छ। साहित्यिक गतिविधि नरहेको ठाउँ राजनीति विचलनहरूले विथोलिन्छ,’ उनले भने, ‘अब गैरीबास र वरपरका क्षेत्रहरूलाई साहित्यिकरूपले सङ्गठित गरौं। विद्यार्थीहरूलाई स्थानीय सर्जकहरूसित संवादमा ल्याउँ। यसो गरे नयाँ सर्जकहरू जन्माउन सकिन्छ।’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares