109 औं महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती पालन

गान्तोक,8नोभेम्बर। नेपाली साहित्यको महाकवि लक्ष्मीप्रसाद देवकोटाको 109 औं जन्म जयन्ती सिक्किमको राजधानी गान्तोकमा पालन गरियो। वरिष्ठ समालोचक पेम्पा तामाङको अध्यक्षतामा आयोजन गरिएको लक्ष्मी जयन्तीमा राजधानी वरपरका साहित्यकार, संगीतकार र पत्रकारहरूको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तामाङले भने साहित्य र सत्तालाई एकैसाथ हेरेर कार्य गर्न सक्ने साहित्यकार नेपाली साहित्यमा देवकोटा मात्र एकजना व्यक्तित्व देखा परेका छन्। यसैगरि उनी मात्र एक जना यस्ता नेपाली साहित्यकार हुन जसको चर्चा गरेर गम्भीर रूपमा अध्ययन गर्दै विदेशी साहित्यकारहरूले किताब लेखेका छन्, तामाङले भने। देवकोटाको सम्पूर्ण सिर्जनलाई अध्ययन गरेर अहिलेसम्म कसैले पनि पूर्ण अध्ययन गरेर विस्तृत रूपमा नहेरेको हुनाले अझ धेरै अध्ययन गर्नु बाँकि रहेको बताए। उनले भने, भानुभक्त जति पढिन्छ र लेखिन्छ त्यसको एकै छेउ पनि देवकोटा पढिएको र लेखिएको छैन्। देवकोटा सालिग निर्माण समितिको आयोजना पालन गरिएको देवकोटा जयन्तीका विशिष्ठ अतिथि वास्तुकार किरण रसाइली, संगीतकार देवकुमार दुमी, पूर्व डीजीपी सीपी गिरी र साहित्यकार तेजमान बराइलीले पनि सम्बोधन गरेका थिए। कार्यक्रममा साहित्यिक चर्चा सितै देवकोटाको प्रतिमा स्थापनाबारे पनि छलफल भयो भने देवकोटा क्लबको गठनबारे पनि चर्चा गरिएको थियो। प्रवीण खालिङद्वारा सञ्चालित कार्यक्रममा कवि अमर बानियाँ लोहोरो, सरस्वती मंगर, जीविका अश्रु, पासाङ नोर्बु लामाले कविता बाचन गरेका थिए। कार्यक्रममा प्रेस क्लबका अध्यक्ष जोसेफ लेप्चा संस्कृति सचिव विष्णु न्यौपाने, नाटककार हेमन्त गिरी, पत्रकार केके छेत्रीको पनि उपस्थिति रहेको थियो। आगामी वर्षभित्रमा देवकोटाको प्रतिमा निर्माण पुरा गरिने पनि कार्यक्रममा निधो गरिएको छ भने देवकोटा क्लब गठन गरेर अन्य कार्यहरूलाई पनि निरन्तरता दिने निर्णय गरिएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares