110 मेगावाटको गति जलविद्युत परियोजना उद्घाटन गर्दै मुख्यमन्त्री चामलिङले भने, यो वर्षदेखि हामी देशको सर्वाधिक विद्युत उत्पादन गर्ने राज्य बन्ने छौं।

गान्तोक, 18 नोभेम्बरः राज्यमा निवेशकर्ताहरूका लागि अनुकूल परिवेश भएकोले औद्योगिकीकरणले विस्तार पाएको मुख्यमन्त्री पवन चामलिङले बताएका छन्। पूर्व सिक्किमको छुजाचेनमा गति इन्फ्रास्ट्रक्चरद्वारा निर्मित 110 मेगावाट छुजाचेन जलविद्युत परियोजनाको आइतवार आधिकारिक उद्घाटन गरेपछि एउटा समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पवन चामलिङले यस्तो मन्तव्य गरे।

“एसडीएफ सरकारमा आउँदा राज्यमा बिजुली केवल 32 मेगावाट  मात्र उत्पादन हुन्थ्यो। 350 वर्षमा सिक्किममा बिजुलीको त्यतिमात्र विकास भयो। तर हाम्रो सरकारको 24 वर्षमा राज्यमा बिजुली उत्पादन क्षमता बढ़ेर 3310 मेगावाट भएको छ। अहिले भारतमा हिमाचलपछि सिक्किम बिजुली उत्पादनमा दोस्रो स्थानमा छ। सबै परियोजना पूरा भएमा सिक्किम एक नम्बर हुन्छ। गति इन्फ्रास्ट्रक्चरबाट राज्यले 12 प्रतिशत बिजुली सित्तैमा पाउँछ। यसबाट 100 वर्षसम्म राज्यलाई राजस्व आयमा फाइदा हुन्छ”,मुख्यमन्त्री पवन चामलिङले भने। सिक्किममा सन् 2000 सालदेखि मात्र औद्योगिकरण शुरु भएको बताउँदै यसले गाउँले जनतासम्मलाई फाइदा पुगेको मुख्यमन्त्रीले जिकिर गरे। सिक्किममा हिंसा, हत्या, श्रमिक समस्या, असुली, आतङ्कवाद र अशान्ति नभएकोले निवेशकहरू सिक्किम आउने माहौल बनेको उनको भनाइ थियो। “एक समय सिक्किम अलग-थलग थियो। कसैले सिक्किमलाई चिन्दैथिए। म स्वयं पछिल्लो 24 वर्षको सिक्किमको विकासक्रम र इतिहासको साक्षी छु। सिक्किम विश्वकै पहिलो जैविक राज्य हो। यहाँको स्वच्छ हावापानी, रासायनिकविहीन र प्रदूषणमुक्त परिवेशले लगानीकर्ताहरूलाई आकर्षित गर्दछ। म देश-विदेशका निवेशकर्ताहरूलाई जैविक कृषि ब्राण्ड, पर्यटन, शिक्षालगायतका क्षेत्रमा लगानी गर्न आह्वान गर्दछु। हामी निवेशकहरूलाई सिक्किमको विकासका साझेदार ठान्दछौं”-गति इन्फ्रास्ट्रक्चरका प्रमुखहरूको उपस्थितिमा मुख्यमन्त्रीले भने। आफ्नो एक घण्टा लामो सम्बोधनमा उनले विपक्षी पार्टीहरूलाई पनि आफ्नो तारोमा लिए। “उद्योग-धन्धाको विकासबिना कुनै पनि राज्य वा देशको विकास सम्भव छैन, तर मैले उद्योग ल्याउँदा सिक्किमको जमिन, खोला-नाला, पहाड़ बेचेर खायो भन्छ”,उनले भने,“अहिले सरकारी कर्मचारीहरूले विपक्षीलाई चन्दा दिँदैछन्। उनीहरू के मणिपुर र नागाल्याण्डमा जस्तो 10 प्रतिशत भूमिगत सङ्गठनलाई चन्दा दिनुपर्ने व्यवस्था चाहन्छन्? जातपात र धर्मको नाममा जनता भ्ड़काउनेहरूको कुरा सुनेर जनताले सिक्किमलाई नागाल्याण्ड र मेघालय बनाउनु हुँदैन। विपक्षीलाई सघाउनु भनेको सिक्किमलाई गुण्डा टेक्स तिर्ने बनाउन खोज्नु हो। अन्य राज्यमा बस्ने जनतालाई जस्तो सिक्किमका जनतालाई अशान्ति र गुण्डागर्दी थाहा छैन।” विपक्षीप्रति आक्रामक शैलीमा मुख्यमन्त्रीले अझ भने,“मेरो नाममा कीर्ते पर्चा छपाएर अहिले विपक्षीहरूले समाजमा घृणा फैलाउँदैछ। सरकार पुरानो भयो र फेर्नुपर्छ भन्दैछ। नराम्रोको लागि राम्रो सरकार फेर्नुहुँदैन। सरकार फेर्दा सेफ ह्याण्डमा दिनुपर्छ, गुण्डाहरूलाई होइन। बाहिरको पार्टीलाई सरकार सुम्पँदा सिक्किमको बर्मालुट हुन्छ। चुनाउ मेरोभन्दा जनताको सरोकारको विषय हो। यसपालिको चुनाउ भनेको सरकार बनाउने भन्दा सिक्किम बचाउने चुनाउ हो। जनता होशियार बस्नुपर्छ।” छुजाचेन जल विद्युत परियोजना 35 वर्षपछि पूर्ण रूपमा राज्यको हातमा आउने जनाउँदै आफूले राज्यका भावी पुस्तासम्मलाई पुग्ने पूर्वाधार र विकासहरूको परिकल्पना गरेर रातदिन खटिरहेको मुख्यमन्त्रीले बताए। आफ्नो सरकार आउँदा सिक्किमको राजस्व 42 करोड़ मात्र रहेको जानकारी दिँदै यो बढ़ेर अहिले 1300 करोड़ रुपियाँ पुगेको मुख्यमन्त्रीले सूचित गरे। “यो वित्तीय वर्षभित्र 2000 करोड़ राजस्व बढ़ाउने लक्ष्य छ”,उनले आशा पनि व्यक्त गरे।

प्रत्येक परिवारलाई एउटा नोकरी दिने राज्य सरकारको नयाँ नीति अनुसार आगामी 2 जनवरीदेखि नोकरीमा जोइन गराउने मुख्यमन्त्रीले घोषणा गरे। “यसमा आवश्यकमन्द मानिसहरूलाई मात्र छनौट गर्नुपर्छ। नोकरी भएका परिवारका सदस्य पाएमा त्यो पछि रद्द हुनेछ”,उनले विधायक, पञ्चायत सदस्य र सरकारी अधिकारीहरूलाई सचेत गराए। यसैगरी, आगामी 23 नोभेम्बरका दिन सरमसा उद्यानमा पञ्चायत र कृषि सम्मेलन आयोजन गरेर कृषकहरूलाई 1000 रुपियाँ मासिक पेन्सन प्रदान गरिने मुख्यमन्त्रीले जानकारी दिए। यसका लागि अहिलेसम्म 1000 मात्र कृषकहरू सूचीबद्ध भएको पनि उनले जनाए। आगामी जनवरी महिनामा हुने जनता मेलामा पनि आवश्यकताको आधारमा लाभार्थी छनौट गर्न उनले पार्टी संयन्त्र, विधायक, मन्त्री र सरकारी तन्त्रलाई आह्वान गरे। कक्षा दशदेखि कलेज स्तरसम्मका विद्यार्थीलाई जनता मेलामा ल्यापटप वितरण गर्ने पनि मुख्यमन्त्रीले घोषणा गरे। कार्यक्रमलाई सम्बोधन गर्दै  भोरूका ग्रुपका अध्यक्ष एसएन अगरवालले 110 मेगावाट छुजाचेन जल विद्युत परियोजनामा 1200 करोड़ रुपियाँ लगानी गरिएको जानकारी दिए। “सिक्किम हाम्रो दोस्रो घर हो। राज्यमा आईटी विकासको व्यापक सम्भावना रहेको छ। मुख्यमन्त्रीले यो परियोजनाका लागि हामीलाई धेरै सहयोग गरेका छन्, जसको निम्ति उनीप्रति आभारी छौं”,विद्युत विकासक अगरवालले भने। यसैगरी, कार्यक्रमलाई गति इन्फ्रास्ट्रक्चरकी निदेशक श्रीमती मीरा मधुसुधन अगरवाल, गतिका संस्थापक तथा सीईओ महेन्द्र अगरवाल अनि गति इन्फ्रास्ट्रक्चरका निर्माण विशेषज्ञ न्यूयोर्कका श्री जेरीले पनि कार्यक्रमलाई सम्बोधन गरे। उल्लेखनीय छ, 110 मेगावाट छुजाचेन जल विद्युत परियोजना रम्फू र रंगेली नदीमाथि निर्मित छ। यसमा दुईवटा बाँध छन् भने 8 किलोमिटर लामो टनेल रहेको छ। यसमा बाह्रैमहिना 110 मेगावाट बिजुली उत्पादन हुने तथा बर्खाको समयमा उत्पादन बढ़ेर 120 मेगावाटसम्म पुग्ने बताइएको छ।

यस अवसरमा गतिको तर्फबाट मुख्यमन्त्रीलाई स्मृति चिन्ह प्रदान गरियो। कार्यक्रममा स्थानीय क्षेत्रका विद्यार्थीहरूले रोचक साङ्गीतिक प्रस्तुति दिए। कार्यक्रममा ऊर्जा तथा विद्युत मन्त्री डीडी भोटिया, पर्यटन मन्त्री उगेन टी ग्याछो भोटिया, भवन तथा आवास मन्त्री डीटी लेप्चा, क्षेत्र विधायक विक्रम प्रधान, रिनाकका विधायक हेमेन्द्र अधिकारी, एसडीएफ प्रवक्ता के.टी.ग्याल्छेनसहित एसडीएफ पार्टीका नेतागण, स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारीगण, विद्यार्थी तथा समष्टिका जनताको बाक्लो उपस्थिति रहेको थियो।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares