मेडिकल ग्रुप डी  संगठनको नयाँ समिति गठनसितै दिसम्बर महिनापछि पदोन्नती नगरिए कालो पट्टी बाँधेर विभागको विरोधमा जाने कर्मचारीहरूको घोषणा

गान्तोक, 18 नोभेम्बर। सिक्किम सरकारले चाहेर पनि स्वास्थ्य तथा परिवार कल्याण विभागका अधिकारीहरूले मेडीकल ग्रुप डीका कर्मचारीहरूको हितमा काम गर्ने र न्याय दिन नचाहेको बताउँदै अल सिक्किम मेडिकल ग्रुप डी सरकारी कर्मचारी कल्याण संगठनको नयाँ कार्यकारी समितिले दिसम्बर महिनासम्म आफूहरूले वर्षौंदेखि राख्दै आएका माग पुरा नभएको खण्डमा जनवरीदेखि कालोपट्टी बाँधेर विभागको विरोध गर्दै धर्ना प्रदर्शन तथा न्यायालयसम्म गएर अधिकार लिने घोषणा गरेको छ। मेडिकल एटेन्डेन्टहरूले चालिस वर्षसम्मको सरकारी सेवा पुऱ्याउँदा एउटै पदोन्नती पनि नपाउने तथा कुनै भत्ता र इन्क्रिमेन्ट नपाउने भएको हुनाले यसबारेमा सरकारलाई अवगत गराइसकेको अनि मुख्यमन्त्री पवन चामलिङको कुशल नेतृत्वमा आफूहरूलाई अन्यायमा नपारिएको तर सम्बन्धित स्वास्थ्य विभागकै लापरवाही र हेरचेक्र्याइले पदोन्नती र कुनै सुविधा प्राप्त गर्ननसकेको नव निर्वाचित अध्यक्ष रामदास नेपालले बताए। उनले भने हामीलाई मेडिकल एटेन्डेन्ट भएर नियुक्ति भएपछि त्यहीं पदमा अवकास लिनुपरिरहेको छ। आज पनि तीनजनाले 40 वर्षे योगदान दिएर अवकास लिएको र उनीहरूलाई विदाई गरिएको बताए। तर विभागले मेडिकल एटेन्डेन्टलाई कुनै पदोन्नती गर्न नहुने अडान पेश गर्दै आएको हुनाले यसबारे मुख्यमन्त्री पवन चामलिङलाई भेटेर सबै कुरा बताउन पाए हुन्थ्यो भन्ने हाम्रो सोच छ अनि विभागले आगामी दिसम्बर महिनासम्म हाम्रो पदोन्नतीको माग पुरा नगरे आन्दोलनमा जानेछौं, अध्यक्ष नेपालले भने।
यसैगरि उनले मेडिकल एटेन्डेन्टहरूले नर्स, कम्पाउडरले सरह चिकित्साको सबै काम गर्नुपरेको तर अहिलेसम्म कसैलाई पनि विभागले विधिवत प्रशिक्षण प्रदान नगरेको हुनाले कुनै पनि समय मान्छेको उपचारको क्रममा कुनै अप्रिय घटना भएको खण्डमा विभाग जिम्मेवार हुनुपर्ने उनले बताए। उनले मेडिकल एटेण्डेन्टहरूलाई कम्तीमा 6 महिनाको प्रशिक्षण अऩिवार्यरूपमा गराउने माग पनि राखे। यसका साथै पढे लेखेका र तकनीकि रूपमा सक्षम युवाहरूको पनि भविष्य पदोन्नती नहुँदै सडिने बताउँदै अब पदोन्नती र प्रशिक्षणको निम्ति झट्टै पहल गरिदिने माग गरे। यसका साथ नयाँ सुपर स्पेशियालिटी अस्पतालमा पनि बरिष्ठता र अनुभवको आधारमा कामहरूको बाँडफाँड गर्नुपर्ने र वरिष्ठ कर्मचारीहरूलाई उनीहरूको उमेरको ख्याल गरेर सही काम लगाउने माग पनि राखे। कार्यकारी समितिको बैठक पछि नयाँ समिति गठन गरिएको छ । जसमा अध्यक्ष पदमा रामदास नेपाल, उपाध्यक्ष राम कुमार राई, महासचिव नोर्बु भोटिया, संयुक्त सचिव राकेश कोइराला, प्रचार सचिव छिरिङ लह्मु भोटिया, कोषाध्यक्ष फिपमान सुब्बा र लोक बहादुर तामाङ तथा मुख्य सल्लाहकार श्रीमती टुङ्कित लेप्चा रहेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares