हामीसित मान्छेको शरीर मात्र आएको छ अब मन जित्नुछ-अनीत थापा

अलगढामा हाट सेड एवं कार पार्किङको शिलान्याश

 


कालेबुङ, 20 नोभेम्बर:  

‘हामीसित मान्छेको शरीर मात्र आएको छ अब मन जित्नुछ। कोही डरले आएका छन्, कोही पुलिसबाट बाँच्नका निम्ति आएका छन्। कोही यिनीहरूले केही गर्छकी भनेर पनि आएका छन्। यो भीड सबैले माया गर्छ भन्ने ग्यारेन्टी छैन। हाम्रो नेतृत्वहरू पनि भीड देखेर झुक्किनु हुँदैन। भीडले कुनै पनि बेला साथ छोड्नसक्छ।’

उपरोक्त कुरा जीटीए उपाध्यक्ष एवं गोजमुमो महासचिव अनीत थापाले भनेका हुन्। उनी आज अलगढा आएका थिए। अलगढामा हाट सेड एवं कार पार्किङको शिलान्याश गरेपछि थापाले कार्यक्रमलाई सम्बोधन गर्दै आज आफूहरूको साथमा रहेको सबै जनता मनबाट नआएको करा स्वीकार गरे।

‘यो हाम्रो निम्ति चुनौती हो राम्रो काम गरेर देखउनुपर्छ’-थापाले भने, ‘काम गुणस्तरीय हुनुपर्छ, काम गऱ्यो भने मात्र जनताले पत्याउँछ।’

आज थापाको बाहुलीबाट अलगढामा आरआईडीएफबाट 3 करोड 28 लाख रुपियाँको लागतमा निर्माण हुनलागेको हाट सेड एवं कार पार्किङको भवनको शिलान्याश गरियो।

यस अवसरमा थापाले आफूहरूले गोर्खाल्याण्डको विरोध नगरेको अनि अझ पनि गणतान्त्रिक आन्दोलन भएको खण्डमा साथ दिने बताए।

‘हामीले गोर्खाल्याण्डको विरोध गरेका थिएनौँ माग्ने तरिकाको मात्र विरोध गरेका थियौँ’-थापाले बुझाउँदै भने, ‘त्यतिबेला हामीले विरोध नगरेको भए र जोखिम नउठाएको भए जाति र पहाड खाल्डोमा जानेथियो अनि त्यसको जिम्मेवारी हामीलाई पनि आउनेथियो।’

अब यदि कसैले पनि गोर्खाल्याण्डको आन्दोलन गरेको खण्डमा त्यस नेतृत्वलाई गोर्खाल्याण्डबारे स्पष्ट रूपमा सोधखोज गरेर मात्र समर्थन गर्न पनि थापाले आह्वान गरे।

उनले कालेबुङको जनताको मन जित्न अझ पनि बाँकी रहेको भन्दै कामले नै जित्ने प्रतिबद्धता जाहेर गरे।

उनले आन्दोलनपछि अलगढा आउँदा त्यहाँ कार पार्किङ र हाट सेडको अभाव देखेको कारण त्यसबेला नै आफूले दिएको बचन आज आएर पूरा भएको बताए।

अर्कोतिर 37 नम्बर समष्टिका पूर्व सभासद् एवं नारी मोर्चा नेत्री कल्पना तामाङले हाट सेड र पार्किङस्थलको निर्माणको कारण यस क्षेत्रका धेरै मानिसहरूलाई सुविधा पुग्ने बताइन्। उनले हाट सेड र पार्किङस्थलको निर्माणको कारण अलगढाबासी मात्र होइन स्थानीय गाउँका मानिसहरूलाई समेत फाइदा पुग्ने बताइन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares