तीन दिवसीय एकता नै एकरूपता कार्यक्रम शुरू: सरकारको योजनालाई ठिक समयमा कार्यन्वयन गर्न जिल्ला प्रशासन प्रतिबद्ध

कालेबङ, 23 नोभेम्बर: सूचना एवं सांस्कृतिक विभाग पश्चिम बङ्गाल सरकारद्वारा आजदेखि 3 दिवसीय एकता नै एकरूपता कार्यक्रम सम्पन्न भएको छ। यहाँको टाउनहलमा तीन दिवसीय कार्यक्रमको पहिलो दिन मुख्य अतिथिका रूपमा कालेबुङ जिल्लापाल डा. विश्वनाथ उपस्थित थिए भने अन्य अतिथिहरूमा दुवै एडीएम हरि शङ्कर पनि कर एवं अब्दुल रकीब शेक, एसडीओ डा. अभिजित शिवाले, विभिन्न विकास बोर्डका अध्यक्ष, डीआईसीओ दीपक करकेटा आदि उपस्थित थिए। जिल्लापालद्वारा रिबन काटेर कार्यक्रम शुरू भएको थियो।

यस क्रममा स्वागत सम्बोधन राख्दै डीआईसीओ दीपक करकेटाले जिल्ला संस्कृति अफिसको 2 डिजिटल टेब्लो एवं विभिन्न स्टल टाउन हल परिसरमा राखिएको अनि त्यहाँ वर्तमान सरकारको उपलब्धीहरू देखाइएको बताए। उनले 3 दिनसम्म विभिन्न सांस्कृतिक कार्यक्रम पनि आयोजना हुने जानकारी दिए। यसका साथै 24 नोभेम्बरका दिन मुर्सिदाबाद जिल्लाका राइबेसी नृत्य अनि 25 मा पूरुलिया जिल्लाको छब नृत्य प्रमुख आकर्षण रहने बताए।

यसका साथै मुख्य अतिथि एवं अन्य अतिथिहरूको बाहुलीबाट विभिन्न दूर्गा पूजा क्लबलाई विश्व बङ्ग शरद सम्मान एवं कन्याश्री प्रकल्प अन्तर्गत छात्राहरूलाई बाँई पनि वितरण गरियो।

कार्यक्रममा लोक प्रसार प्रकल्प अन्तर्गत कलाकारहरूले विभिन्न सांस्कृतिक नाचगान प्रस्तुत गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि डा. विश्वनाथले सरकारले विभिन्न योजनाहरूलाई सठिक समयमा नै पुऱ्याउने कोशिश गरिरहेको बताए। उनले विभिन्न बोर्डद्वारा निर्धारित समयमा नै घरहरूको निर्माण भइरहेको, नगरपालिकाले पनि विकासको काम द्रुत गतिमा गरिरहेको एवं कालेबुङलाई देशको पर्यटन मानचित्रमा गाभ्ने उद्देश्यले काम भइरहेको उनले बताए। कालेबुङ संसाधनमा पनि  धनी रहेको भन्दै जिल्ला प्रशासनले विकासको निम्ति हरसम्भ प्रयास गरिरहेको बताए। कार्यक्रमलाई विभिन्न बोर्डका अध्यक्षहरू एवं नगरपालिकाका अध्यक्ष रवि प्रधानले पनि सम्बोधन गर्दै मुख्यमन्त्री ममता ब्यानर्जीको कार्यको सराहना गरेका थिए।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया