मुख्यमन्त्रीले बाँडे देशकै पहिलो पेन्सनधारी किसानहरूलाई पेन्सन : भने- 2025 सालमा सिक्किमलाई खाद्यन्न उत्पादनमा स्वनिर्भर बनाउनुपर्छ

गान्तोक,23 नोभेम्बर


सिक्किम सरकारले आजदेखि राज्यका 50 वर्ष नाघेका कृषकहरूलाई पेन्सन दिन शुरु गरेको छ। रानीपुल नजिक सरमसा उद्यानमा राज्य स्तरीय पञ्चायत तथा उत्पादक सम्मेलन आयोजन गरेर मुख्यमन्त्रीले कृषकहरूलाई अगस्तदेखि अहिलेसम्म चार महिनाको कृषि पेन्सनको टोकन हस्तान्तरण गरे। कृषि पेन्सन शुुरु गर्ने सिक्किम पहिलो राज्य बनेको छ। मुख्यमन्त्रीले पहिलो चरणमा राज्यका 17 हजार नोकरीविहीन परिवारका युवाहरूलाई नोकरी प्रदान गर्ने पनि बताए। यसअघि, मुख्यमन्त्रीले 15 हजार युवाहरूलाई राज्य सरकारले आगामी दिसम्बर महिनाभित्र सरकारी नोकरी दिने घोषणा गरेका थिए।

“यो सम्मेलन अति महत्वपूर्ण छ। अन्य सामान्य सम्मेलन जस्तो प्रकारले यसलाई लिनुहुँदैन”,मुख्यमन्त्रीले आफ्नो सम्बोधनको शुरुमै कार्यक्रमको ओज बताए। उनी रानीपुलनजिक सरमसा उद्यानमा राज्यभरिका पञ्चायत तथा कृषकहरूलाई सम्बोधन गर्दैथिए। स्वत्वबोध नहुनु राज्यका जनताको ठूलो समस्या भएको बताउँदै मुख्यमन्त्री चामलिङले भने,“प्रजातन्त्रको पहिलो शर्त जिम्मेवारी लिनु हो। सबैले सिक्किमको मालिक भएर सोचिदिनुपर्छ।” विश्वमा धानको खेती पहिलोपल्ट सिक्किममा भएको दाबी गर्दै सिक्किमले नै अहिले विश्वलाई जैविक अवधारणा दिएको उनले बताए। “विश्वले गर्न नसकेको काम सिक्किमले गरेर देखाएको छ।

भविष्यमा यो एउटा ठूलो इतिहास र दसी हुनेछ। यो विश्वकै लागि उदाहरण हो”,चामलिङले भने। कृषि पेन्सन शुरु गर्ने सिक्किम विश्वकै पहिलो राज्य भएको जिकिर गर्दै मुख्यमन्त्रीले भने,“कृषि पेशालाई यो ठूलो सम्मान हो। विश्वको पहिलो दिगो उद्योग कृषि हो, त्यसमा पनि जैविक कृषि त सर्वोच्च उद्योग हो। नयाँ पुस्ताले अब उद्यमी भएर यस दिशामा कदम हाल्नुपर्छ।” जैविक कृषिबिना अबको संसार बाँच्न नसक्ने पनि उनले बताए। राज्यमा बढ्दो पर्यटनको भार वहन गर्न सबै घरलाई होमस्टे बनाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो। गुणस्तरीय र उत्पादक कृषकलाई वर्षेनि 1 करोड़ रुपियाँ पुरस्कार दिने पनि मुख्यमन्त्रीले दोहोर्‍याए।

राज्यका खाली जमिनलाई एग्रो-फरेष्टी बनाउन आह्वान गर्दै यसदिशामा आगामी 15 दिनभित्रमा एउटा प्रस्ताव आफूलाई बुझाउन मुख्यमन्त्रीले वन विभागलाई निर्देश दिए। जैविक खेतीको प्रवर्धनको लागि प्रत्येक ग्राम पञ्चायत वार्डमा दुईजना अर्गानिक फार्मिङ एसिस्टेन्ट (जैविक कृषि सहायक) र एकजना मार्केटिङ सहायक (बजारीकरण सहायक) नियुक्ति गर्ने मुख्यमन्त्रीले घोषणा गरे। सिक्किममा पुष्पखेतीका सम्भावनाहरूबारे पनि मुख्यमन्त्रीले केही परिकल्पना अघि सारे। 2025 सम्म सिक्किमलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने दिशामा राज्य सरकारले काम गरिरहेको उनले बताए। “2020 भित्र सिक्किमलाई दूध र सागसब्जीमा आत्मनिर्भर बनाइनेछ”,मुख्यमन्त्रीले सरकारको लक्ष्य सुनाए। भविष्यमा विश्वलाई नै जैविक बिउ-बिजन आपूर्ति गर्ने लाइन लिएर काम गर्न उनले कृषि विभागलाई आह्वान गरे। “ढिलोछिटो विश्वले जैविक खेती अप्नाउनैपर्छ।

हामी एड्भान्स स्थितिमा छौं। विश्वलाई नै हामी जैविक बिउ-बिजन आपूर्ति गर्न सक्छौं। सिक्किमका जैविक बिरुवाहरू ‘हट केक’ जस्तै बिक्री हुनेछन्”,कृषकहरूलाई यसतर्फ काम गर्न आह्वान जनाउँदै मुख्यमन्त्रीले भने। यस्ता योजनाबारे 15 दिनभित्र एउटा प्रस्ताव बुझाउन उनले कृषि विभागलाई निर्देशन दिए। यसैगरी, वन विभागअन्तर्गत गुराँस, सुनाखरी जस्ता फूलहरूका सम्पूर्ण प्रजाति सिक्किममा ल्याएर रोप्न अनि विश्वभरिका पुष्पविद्लाई सिक्किमतर्फ आकर्षित गर्ने जस्ता परिकल्पना लिएर प्रस्ताव बुझाउन मुख्यमन्त्रीले वन विभागलाई निर्देश दिए। राज्यको विकासमा विशेष योगदान दिन उनले युवाहरूलाई अपील गरे।

“सरकारले सहयोग मात्र गर्ने हो, राज्यका युवाहरूले आफ्नो इतिहास आफै बनाउनुपर्छ। विगत 24 वर्षमा हामीले सिक्किममा नयाँ इतिहास र परम्पराको निर्माण गर्ने प्रयास चलाइरहेका छौं। अबको पालो राज्यका युवाहरूको हो”,चामलिङले भने। 24 वर्षदेखि सिक्किमको रिमोट कण्ट्रोल जनताको हातमा रहेको उल्लेख गर्दै उनले भने,“शान्ति र सुरक्षा सबैभन्दा महँगो कुरा हो। यसको सुरक्षा गर्ने जिम्मेवारी जनताको हो।” केन्द्र सरकारले लिम्बू-तामाङ सीट आरक्षण दिएन भने पनि एसडीएफ पार्टीको तर्फबाट यी दुई समुदायलाई पाँचवटा सीट दिने घोषणा उनले दोहोर्‍याए।

यस अवसरमा मुख्यमन्त्रीले केही महत्वपूर्ण घोषणाहरू पनि गरे। बाँझो जमिनको मूलभूत रूपान्तरण गर्न, पुष्प खेतीको एकीकृत काम गर्न, जैविक बिउ-बिरुवाको उत्पादनलाई बढ़ावा दिन अनि कृषि आत्मनिर्भरतालाई अघि बढ़ाउन उनले राज्यवासीलाई आह्वान गरे। पहिलो चरणमा 17 हजारलाई सरकारी नोकरी दिने अनि यो ‘नोकरीविहीन परिवार’ यसको रोस्टर (मानक) हुने मुख्यमन्त्रीले घोषणा गरे। यसैगरी,   पाँच वर्षभन्दा अधिक समयदेखि एडहक र मस्टर रोलमा काम गरिरहेका कर्मचारीहरूलाई स्थायी गर्ने पनि उनले बताए।

एडहक शिक्षक तथा प्राध्यापकहरूका सम्बन्धमा भने मुख्यमन्त्रीले केन्द्र सरकारका नियमहरूले राज्यको हात बाँधेको अवस्थाबारे पनि स्पष्ट पारे। केन्द्रका नियम मान्नुपर्ने हुनाले राज्य सरकारले कानून र विधिअनुसार नै चल्नुपर्ने बाध्यतातर्फ इंगित गर्दै उनले एडहक शिक्षकहरूले वास्तविकता सम्झेर अनि कानुनी प्रावधान र व्यवधानलाई बुझेर सामाजिक सञ्जालतिर मन्तव्य गर्नुपर्ने सुझाए। “विश्वले आज हामीलाई हेरिरहेको छ। व्यक्तिगत भड़ास निकाल्दा दुनियाँमा हाम्रो छवि बिग्रिन्छ। सानो कुरामा रिसाएर ठूलो कुरा गुमाउनु हुँदैन”,उनले आग्रह गरे। यद्यपि युजीसीको योग्यता मानक आफूमा विकास नगर्दासम्म कुनै पनि एडहक शिक्षक वा प्राध्यापकलाई नोकरीबाट ननिकाल्ने अनि उनीहरूले चाहेको खण्डमा अन्य विभागमा आवेदन गर्न सक्ने वा ‘नोकरीविहीन परिवार’ भएमा त्यसबाट पनि आवेदन गर्न सक्ने लचिलो प्रावधान पनि मुख्यमन्त्रीले सँगसँगै सुझाए।

यस अवसरमा विद्यार्थीहरूले राखेका माग चरणबद्ध रूपमा पूरा गरिदिने मुख्यमन्त्रीले आश्वासन दिए। दिसम्बरमा विशेष विधानसभा सत्र डाकेर अनुपूरक माग ल्याई जनताका मागहरू पूरा गरिदिने मुख्यमन्त्रीले घोषणा गरे। यसैगरी, एसएनटीदेखि सोकेथाङ अस्पतालसम्म चारवटा एसएनटी बस जनवरीदेखि निःशुल्क सञ्चालनमा ल्याउने मुख्यमन्त्रीले घोषणा गरे। सोकेथाङ अस्पतालको विशेषता प्रस्टाउँदै उनले भने,“देशको कुनै सरकारले बनाएको यति ठूलो अस्पताल यो पहिलो हो।

जनवरीदेखि यहीं अपरेशन होस् भन्ने मेरो चाहना छ। बाहिर तथा अन्य अस्पतालमा काम गरिरहेका राज्यका विशेषज्ञ डाक्टर र स्वास्थ्यकर्मीहरूलाई यो अस्पताल जिम्मा लिइदिनुहोस् भनेर आग्रह गर्न मैले भोलि मिन्तोकगाङमा उनीहरूसँग बैठक डाकेको छु।” जनवरीमा जनता मेला हुने विषयमा प्रकाश पार्दै आवश्यकमन्द मानिसलाई मात्र घर दिनुपर्ने उनले सुझाए। “2014 मा जस्तो मनपरी घर आवण्टन गर्नु हुँदैन। नेता, विधायक, मन्त्री र पञ्चायतहरूले आफ्नो मान्छे चेप्नु हुँदैन। जरुरतमन्द मानिसहरूलाई मात्र सरकारको सहुलियत पुग्नुपर्छ”,मुख्यमन्त्रीले भने। उनले ‘आफ्नो गाउँ आफै राम्रो बनाऊँ’ भन्ने नारा पनि दिए। यस अवसरमा सिक्किम वन विभागले मुख्यमन्त्रीलाई संवर्धना जनाएको थियो।

यसअघि, ग्रामीण प्रबन्धन तथा विकास विभागका सचिव सीएस राव र कृषि विभागका सचिव खोरलो भोटियाले विभागीय योजनाहरूबारे प्रकाश पार्दै मुख्यमन्त्री पवन चामलिङको नेतृत्वमा सिक्किमले गरेका सर्वाङ्गीन विकासका विभिन्न पक्षहरूबारे अवगत गराएका थिए। कार्यक्रममा पञ्चायत, उद्यम, प्रगतिशील कृषि आदि क्षेत्रका प्रतिनिधिहरूले पनि आ-आफ्ना अनुभव र सुझाउहरू पेश गरे। यस अवसरमा मुख्यमन्त्रीका बाहुलीबाट अन्य सहुलियतका टोकनहरू पनि लाभार्थीलाई हस्तान्तरण गरिएको थियो। कार्यक्रममा मन्त्रीगण, विधायकगणलगायत राज्यका वरिष्ठ अधिकारी र प्रगतिशील कृषकहरूको बाक्लो उपस्थिति रहेको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया