सञ्चारको मित्रहरूका भेटघाट कार्यक्रम:पत्रकार स्व ध्रुव गुरुङकी पत्नीलाई सम्मान

खरसाङ ,25 नोभेम्बर


अन्तर्राष्टीय नेपाली ईसाई मिडिया नेटवर्क अन्तर्गत भारतीय नेपाली ईसाई सञ्चार कर्मीहरूको भेटघाट कार्यक्रम शनिबार सिलगढीको प्रधान नगरस्थित सेवा केन्द्र भवनमा सम्पन्न भयो। कार्यक्रममा सभाध्यक्षाको रूपमा सिक्किमबाट क्यामुना प्रधान अनि प्रमुख अतिथिको रूपमा शिक्षाविद् मार्थारानी राई उपस्थित थिइन् भने विशिष्ट अतिथिको रूपमा भेटघाटका सम्पादक राजु राई, पास्टर जीवन राई ज्योति, संस्थाको राष्ट्रीय संयोजक पास्टर रमेश लामा, एल्डर मसीह प्रकाश मोक्तान, पत्रकार स्व ध्रुव गुरूङकी पत्नी कविता गुरूङ उपस्थित थिए।

पास्टर पिटर थापाद्वारा सञ्चालित कार्यक्रममा सञ्चारको मित्रहरूका भेटघाट कार्यक्रमको उद्देश्य विषयमा राष्ट्रीय संयोजक रमेश लामाले वक्तव्य राखे। कार्यक्रममा सञ्चार माध्यम ईसाई अवधारणा र ईसाई सहभागिताहरू साथै वर्तमान प्रिन्ट मिडिया, इलेक्ट्रोनिक मिडिया र इन्टरनेट लगायत अनलाइन न्युज पोर्टलहरू विषयमा कार्यपत्र प्रस्तुत गरे। कार्यक्रममा गायिका मेरिना राई र रजत बिकेद्वारा गीत प्रस्तुत गरियो। कार्यक्रममा पत्रकार स्व ध्रुव गुरुङले पत्रकारिता क्षेत्रमा दिइएको योगदानलाई हेरेर तिनकी पत्नी कविता गुरूङलाई सम्मानित गरियो। यस अवसरमा पत्रकार ध्रुव गुरूङको जीवनी पिटर थापाले पठन गरे ।

पत्रकार स्व ध्रुव गूरुङले 36 वर्षसम्म पत्रकारितामा योगदान दिएका थिए। तिनले हिमालचुली लगायत हिमालय दर्पण र समय दैनिकमा पनि पत्रकारिता गरेका थिए भने लोगोस बाइबल कलेज हैदराबादबाट डाक्टरेटको उपाधि पनि पाएका थिए। उनको योगदानलाई कदर गर्दै सञ्चारको मित्रहरूका भेटघाट कार्यक्रममा तिनकी पत्नीलाई सम्मान गरिएको छ।

यस अवसरमा सभाध्यक्षा क्यामुना प्रधानको बाहुलीबाट खदार्पण साथै प्रमुख अतिथि मार्थारानी राईको बाहुलीबाट सम्बर्ध्दना पत्र एंव नगद राशि प्रदान गरी सम्मानित गरियो। सम्वर्ध्दना पत्र किशोर त्रिखत्रीले पठन गरेका थिए। कार्यक्रममा अन्तरिम सभापति किशोर राईद्वारा पुरानो कमिटी विघटन गरियो अनि सभाध्यक्षा क्यामुना प्रधानको चुनाव पर्यवेक्षकमा नयाँ कमिटी गठन गरियो।

उक्त चुनाउ मनोनित प्रक्रियामा सम्पन्न भयो। यसमा सभापति किशोर कुमार राई, उप सभापति इम्मानुएल गिफ्ट, सचिव निमा लेप्चा, सह सचिव हनोक थापा, कोषाध्यक्ष तिमोथी मुखिया, सह कोषाध्यक्ष अमीत सिंगगक लगायत क्षेत्रीय प्रतिनिधिहरूमा सिलगढीको लागि मोजेस सन्यासी, सिक्किमको लागि अजय थापा, दार्जीलिङको लागि तिमोथी विष्ट, डुवर्सको लागि बिनेस थापा, कालेबुङको लागि राजु राई, मिरिकको लागि बिष्णुकुमार बराईली, सिटोंग- मंग्पुको लागि आनन्द आकाश, सोनादा खरसाङको लागि आरजे समीर छेत्री, गोरूबथानको लागि तुफान सुब्बा चयन भएका छन्।

त्यसरी नै सल्लाहकार समितिमा डा बीडी राई, डा एडोन रोंगोंग, डा छत्र सुब्बा पावल,मार्थारानी राई, क्यामुना प्रधान, मसीह प्रकाश मोक्तान, जीवन राई ज्योति चयन भएका छन्। कार्यक्रममा प्रमुख अतिथि मार्था रावी राईले सञ्चार क्षेत्रका मानिसहरू भेला गरिएको कार्यक्रम फलदायक र आशिषित भएको छ भन्दै हामीले ईसाईहरूको कर्त्तव्य र उत्तरदायित्त्व पूरा गर्नुपर्छ भनी बताइन् । उनले सबैले एका अर्कालाई सहयोग गर्दै पाएको तोड़ाहरूका प्रयोग गर्नुपर्छ भनी बताइन्।

सभाध्यक्षा क्यामुना प्रधानले कार्यक्रम निकै अाशिषित र असल भेटघाट भएको बताइन् । उनले ईसाई स्रष्टाहरूका वृहत भेला “स्रष्टा संगम” को कार्यक्रम यसपाली आगामी 11 र 12 जनवरी 2019 मा सिक्किमको रम्फुमा हुने भएकोले सबैलाई उपस्थितिको लागि आह्वान् पनि गरिन्। चुनाउमा चयन भएको पदाधिकारीहरूलाई समर्पणको प्रार्थना एल्डर राजु राईले गरे भने अन्तिम प्रार्थना एल्डर मसीह प्रकाश मोक्तानले गरेका थिए।
सञ्चारकर्मीहरूको भेटघाट कार्यक्रममा दार्जीलिङ, बिजनबारी, सोनादा ,खरसाङ, मिरिक, तीनधारे, सिटोंग, सिलगढ़ी, डुवर्स, कालेबुङ, सिक्किम आदि क्षेत्रबाट प्रतिनिधिहरू उपस्थित थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया